close

अब ‘नियरबाई शेयर’ मार्फत क्यूआर स्क्यान गरी फाइल पठाउन सकिने

टेकपाना टेकपाना

असार ३१, २०८० १०:२१

अब ‘नियरबाई शेयर’ मार्फत क्यूआर स्क्यान गरी फाइल पठाउन सकिने

काठमाडौं । अब नियरबाई शेयरमार्फत क्यूआर स्क्यान गरेर फाइल शेयर गर्न सकिने भएको छ । एन्ड्रोइडले यो फिचरमा काम गरिरहेको जानकारी बाहिर आएको हो । ​

एन्ड्रोइडको 'नियरबाई शेयर' फिचरबाट फाइल तथा लिङ्कहरू अन्य एन्ड्रोइड डिभाइस, क्रोमबुक वा विन्डोज पीसीमा सजिलै शेयर गर्न सकिन्छ ।

त्यसका लागि तपाईंले आफूले शेयर गर्न चाहेको फाइल वा लिङ्क छान्नुपर्ने हुन्छ । त्यसपछि शेयरको अप्सनमा गएर ‘नियरबाई शेयर’मा क्लिक गरिसकेपछि तपाईंको डिभाइसमा नजिकको अर्को डिभाइसको नाम देखाउँछ ।

त्यसमा क्लिक गरिसकेपछि फाइल तथा लिङ्कहरू शेयर गर्न सकिन्छ । तर, कहिलेकाही यसरी शेयर गर्दा आफूले चाहेको डिभाइसको नाम देखिँदैन ।

त्यस्तै डिभाइस भेटिसकेपछि पनि दुबै डिभाइसमा एसेप्ट गर्नुपर्ने झन्झट पनि हुन्छ । त्यसबाहेक पनि फाइल शेयर गर्नुपर्ने डिभाइसलाई निकै नजिक राख्नुपर्ने हुन्छ । 

यसको विकल्पमा गुगलले छिट्टै क्युआर कोड स्क्यान गरी फाइल शेयर गर्न सकिने फिचर ल्याउन लागेको छ । यस अन्तर्गत फाइल शेयर गर्न लागेको डिभाइसमा ‘नियरबाई शेयर’ अप्सन छानिसकेपछि यदि फाइल पाउनुपर्ने डिभाइसको नाम देखिएन भने त्यहाँ तलपट्टि एउटा डाइलग बक्स देखिनेछ ।

सो डाइलग बक्समा क्लिक गरिसकेपछि त्यहाँ क्युआर कोड देखिनेछ । जुन डिभाइसमा फाइल पठाउनुपर्ने हो त्यो डिभाइसमा रहेको गुगल लेन्स वा क्युआर स्क्यान एप प्रयोग गरी सो क्युआर स्क्यान गर्नुपर्ने हुन्छ ।

यसरी डिभाइस एक आपसमा कनेक्ट हुन्छन् र फाइल सजिलै शेयर हुन्छ । 

यो फिचर हालसम्म सार्वजनिक भइसकेको छैन । विकासकै क्रममा रहेको यो फिचर केही डेभलपरहरूले म्यानुअल्ली एक्टिभेट गरी प्रयोग गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १०:२२