close

काम छोडेर व्यक्तिगत प्रचारमा लागेको भन्दै निजामती कर्मचारीलाई टिकटक बनाउन रोक

टेकपाना टेकपाना

जेठ २८, २०८० १२:५१

काम छोडेर व्यक्तिगत प्रचारमा लागेको भन्दै निजामती कर्मचारीलाई टिकटक बनाउन रोक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालय पोसाक, कार्यालयको सवारी साधन र कार्यालय हाताभित्र टिकटक नबनाउन निर्देशन दिएको छ । 

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको र व्यक्तिगत प्रचारमा बढी लागेको भन्दै टिकटक बनाउन रोक लगाइएको हो ।

यसअघि कार्यालय पोसाकमा, कार्यालयको सवारी र कार्यालय हाताभित्र काम गरेको भिडिओ नबनाउन सुझाव दिए पनि कर्मचारीले अटेर गरेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशन नै दिइएको मन्त्रालयका प्रवक्ता एवं सह-सचिव कमलप्रसाद भट्टराईले जानकारी दिए । 

टेकपानासँग कुरा गर्दै भट्टराईले भने, “सरकारी कामकाज गरिरहेको विषयलाई टिकटक तथा सामाजिक सञ्जालमा राख्नु हुँदैन भन्ने विषय पहिलेदेखि नै अनुशासनको नियम अन्तर्गत थियो । अहिले पछिल्लो अवस्थामा साथीभाइहरूले कार्यालयमा बसेर, सरकारी सवारी साधन प्रयोग गरेर, सरकारी पोसाक लगाएर अनि कार्यालयमा गरेको कामको भिडिओ बनाएर राखेको भन्ने गुनासो आयो ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालय लगायत अन्य मन्त्रालयले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् । 

गुनासो सुन्न सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेको छ । 

कार्यालय गइसके पछि कर्मचारीले आफ्नो जिम्मेवारी अन्तर्गतका काम गर्नुपर्ने र टिकटक बनाएर प्रचार गर्नुको कुनै तुक नभएकाले पनि रोक लगाउनु आवश्यक रहेको भट्टराईले बताए । 

“कार्यालय भनेको काम गर्ने ठाउँ त हो नि । अनि कार्यालयमा काम गरेको विषयलाई आफ्नो व्यक्तिगत विज्ञापन जस्तो गरेर प्रचार गर्नु पर्दैन,” भट्टराईले भने, “निजामती कर्मचारीले गरेको कामको मूल्याङ्कन सेवाग्राहीले गर्ने विषय हो । त्यसलाई टिकटकमा प्रचार गरिरहनै पर्दैन ।”

यदि निजामती कर्मचारीले कार्यालय पोसाक, सरकारी सवारी साधन र कार्यालय हाताभित्र टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको उनले बताए ।  

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० १२:५१