काठमाडौं । रौतहटको उर्वर भूमिमा भर्खरै जुँगाको रेखी बस्दै गरेका १४ वर्षे कृष्णप्रसाद यादव आफ्ना उमेर समूहका किशोर-किशोरीमाझ परिचित थिए । टिकटकको भर्चुअल संसारमा उनको आफ्नै सानो साम्राज्य थियो । भिडिओ मन पराएर उनलाई पछ्याउनेको सङ्ख्या दिनानुदिन बढ्दै १० हजार नाघेको थियो ।
क्यामेराको लेन्सबाट सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर आफूलाई फ्रेममा कैद गर्ने उनको सोख अनौठो थियो । त्यसैले पनि उनी नयाँ र आकर्षक स्थानको खोजीमा निरन्तर भौतारिरहन्थे ।
टिकटकका सीमित समर्थकको वाहीवाहीले पनि उनलाई त्यस्ता भिडिओ बनाउन प्रेरित गरेको थियो । तर, उनको यही उक्साहट र साथीप्रतिको विश्वास नै जीवनको अन्तिम यात्रा बन्न पुग्यो । गाउँकै केही साथीले उनको यही निर्दोष सोखलाई हतियार बनाएर षड्यन्त्रको जाल बुने । टिकटक भिडिओका लागि उपयुक्त रौतहटमा रहेको चाँदीखोलाको मनमोहक दृश्य देखाएर कृष्णका साथीहरूले भिडिओ शुट गर्न बोलाए ।
आफ्नै गाउँका साथीहरू । त्यसमाथि मनपर्ने काम टिकटक भिडिओ बनाउन सघाउने प्रस्ताव । कृष्णको कलिलो मनले साथीहरूको त्यो निमन्त्रणाभित्र लुकेको कालको छायाँ देख्न सकेन । उत्साह र टिकटक भिडिओको हुटहुटी बोकेर घरबाट शनिबार, ६ वैशाख बेलुका ४ बजे बाइकमा निस्किएका ती किशोर फेरि कहिल्यै आफ्नो आँगन टेक्न फर्किएनन् ।
चाँदी खोलाको पानी त निरन्तर बगिरह्यो तर त्यहीको मनमोहक दृश्यलाई आफ्नो पृष्ठभूमिमा सजाएर टिकटकमा देखाउने सपना बुनेका कृष्णको जीवनयात्रा त्यही किनारमा, साथीहरूले नै खनेको धोकाको खाडलमा सदाका लागि अडियो । उनको अन्तिम टिकटक कहिल्यै रेकर्ड भएन, बरु उनको जीवनकै पाना सदाका लागि बन्द भयो ।
पारिवारिक कलहसँग जोडिएको पृष्ठभूमि
रौतहट जिल्ला वृन्दावन नगरपालिका वडा नम्बर ७ घर भएका १४ वर्षीय कृष्णप्रसाद यादवका बुवा तीन वर्षअघि अपहरणमा परेका थिए । गाउँमै इट्टाभट्टा सञ्चालन गरिरहेका यादवका बुवालाई अपहरण गरेको आरोप त्यही वडाका २५ वर्षीय नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीलाई लागेको थियो । अपहरणको मुद्दा लागेपछि ती धर्मेन्द्र सहनी फरार थिए । र, अहिलेसम्म पनि अत्तोपत्तो छैन ।
करिब छ महिनाअघि तिनै धर्मेन्द्र सहनीकी छोरी कृष्ण यादवका बुवाले सञ्चालन गरेको इट्टाभट्टामा रहेको खाल्डोको पानीमा डुबेर बितेकी थिइन् । खाल्डोमा जमेको पानीमा डुबेको भनिए पनि सहनी परिवारलाई भने कृष्णका बुवाले पहिले अपहरण गरेको रिस साध्न मारेको आशङ्का थियो । त्यही आशङ्का बोकेका नागेन्द्र सहनीले त्यही वडाका साधु भनिने उही नाम अर्थात २२ वर्षीय नागेन्द्र सहनीसँग मिलेर कृष्ण यादवको हत्या गर्ने योजना बनाए ।
साधुसँग कृष्ण खुबै मिल्थे । त्यसैले पनि नागेन्द्रका लागि साधु उपयुक्त पात्र थिए । उनै साधुले ६ वैशाख २०८२ मा कृष्णलाई फोन गरेर चाँदी खोलामा टिकटक भिडिओ बनाउनका लागि बोलाए । कृष्ण घरमा भएको बीआर ०५ डब्लु ०१३७ नम्बर प्लेटको भारतीय मोटरसाइकल लिएर निस्किए ।
एकाएक सम्पर्कविहीन भएका कृष्ण खोज्न भौतारियो परिवार
घरको दैलोबाट कसैलाई सुइँकोसम्म नदिई अन्जानमै पाइला चालेका कृष्ण समयको गतिसँगै हराए । एक दिन बित्यो, रात पर्यो, अर्को सूर्य उदायो । तर कृष्णको हँसिलो मुहार घरमा देखिएन । लगातार दुई दिनसम्म उनको अनुपस्थितिले घरको वातावरण भारी बनायो । परिवारको मनमा चिन्ताको कालो बादल मडारिन थाल्यो । कृष्ण त्यतिका दिन सम्पर्कमै नआएपछि आशाका त्यान्द्रा चुँडिदै गए र त्यले विचलित भएको उनको परिवारले ९ वैशाखमा छोरा हराएको व्यहोरासहित गरुडास्थित इलाका प्रहरी कार्यालयमा गुहार माग्यो ।
यता कृष्णलाई खोज्न प्रहरीको विशेष टोली खटियो । खोजको त्यो सिलसिला थप दुई दिन लम्बियो । अन्ततः ११ गते त्यही नगरपालिका भएर बग्ने चाँदी खोलाको किनारमा प्रहरीको पाइला रोकियो । त्यहाँ खोलाको चिसो बगरमा एउटा शव शङ्कास्पद अवस्थामा भेटियो ।
त्यो निर्जीव शरीर अरू कसैको नभए टिकटक बनाउन निस्किएका कृष्णप्रसाद यादवको थियो । जुन खोलाको सौन्दर्य क्यामेरामा कैद गर्ने अभिलाषाले उनी घरबाट निस्किएका थिए त्यही खोलाको काख उनको अन्तिम शय्या बन्न पुग्यो ।
खोलाको किनारमा चिसो बालुवामाथि भेटिएको त्यो निर्जीव शरीर हराइरहेका कृष्णकै भएको पुष्टि हुनासाथ अनुसन्धानको सुई एकाएक जटिल र अँध्यारो मोडमा पुग्यो । हराएका कृष्ण खोज्न हिँडेको प्रहरी टोलीले अब एउटा सम्भावित अपराधको गाँठो फुकाउनु पर्ने भयो ।
त्यसपछि प्रहरीले उक्त निर्जीव शरीरको सूक्ष्म विश्लेषण सुरु गर्यो । प्रहरीले हरेक कोणबाट त्यस शवको जाँचपड्ताल गर्दा कृष्णको छाती र पेटमा अनौठा छिद्र देखिए । ती छिद्र सामान्य चोटका निसान थिएनन् । ती प्वाल कुनै धारिलो वस्तुले घोचेजस्तो नभई कुनै अज्ञात शक्तिले छेडेजस्ता देखिन्थे । प्रहरीले ती छिद्र गोलीका निसान वा धारिलो हतियारले प्रहार भएको हुन सक्ने अड्कल काट्यो ।
घाँटी छिनिन लागेको, पेटबाट भित्री अङ्ग बाहिर निस्किएको र टाउको सडेको अवस्थामा शव भेटिनुले शव आफैमा अनेकौं प्रश्नले घेरिएको थियो । जुन अवस्थामा कृष्णको शव भेटिएको थियो, त्यसले घटनालाई रहस्यमय बनाएकै थियो । त्यसमाथि गोली लागेको जस्तो देखिने ती भयावह सङ्केतले कृष्णको मृत्यु कुनै दुर्घटना नभई एक निर्मम र सुनियोजित हत्या हुन सक्ने प्रहरीले अनुमान लगायो ।
नजिकका साथीहरूले भिडिओ खिच्ने नाममा बोलाएर हत्या गरेको निष्कर्ष
शव भेटिएपछि प्रहरीले गाउँका शङ्कास्पद व्यक्तिमाथि नजर राख्यो । यता कृष्णको मोबाइल र बाइक पनि गायब थियो । उनको नम्बर लिएर प्रहरीले कल डिटेल रेकर्ड (सीडीआर) र अन्य प्राविधिक पक्षको सूक्ष्म विश्लेषण सुरु गर्यो ।
यसबाट कृष्णले अन्तिम पटक साधुसँग कुराकानी गरेको फेला पर्यो । त्यसपछि प्रहरीले साधुको खोजी गर्यो । र, उनलाई प्रहरीले दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ आसपासमा साधुलाई फेला पार्यो । उनी एक्लै थिएनन् । उनीसँगै थिए २५ वर्षीय नागेन्द्र पनि, जो आफ्ना बहिनी-ज्वाइँको घरको लुकेर बसेका थिए ।
१२ वैशाखमा प्रहरी हिरासतको पर्खालभित्र साधु र नागेन्द्रमाथि अनुसन्धानको दबाब बढ्दै गयो । दुई दिनको निरन्तर केरकार र मनोवैज्ञानिक दबाबपछि अन्ततः सत्यको पर्दा च्यातिन थाल्यो । उनीहरू खुलेपछि कृष्ण यादवको अन्तिम यात्राको त्यो भयावह कथा बाहिर आयो ।
प्रहरीसमक्ष उनीहरूले ओकलेको विवरण अनुसार यो सम्पूर्ण घटना एउटा सुनियोजित षड्यन्त्र थियो । नागेन्द्रले कृष्णको टिकटकप्रतिको गहिरो आशक्तिलाई नै हतियार बनाए । र, साधुलाई प्रयोग गरे । टिकटक बनाउने मिठो प्रलोभन दिएर बोलाएपछि कृष्ण आफ्नो बाइकमा सवार भई साथीले डाकेको ठाउँमा पुगे । त्यहाँ साधु एक्लै थिएनन् उनको साथमा थिए नागेन्द्र सहनी, जसको मनमा पहिलेदेखि नै कालो योजना बुनिएको थियो ।
कृष्ण आइपुग्नासाथ घटनाले नाटकीय मोड लियो । नागेन्द्रले कृष्णको हातबाट मोबाइल र बाइकको चाबी खोसे । क्षणभरमै बाइक स्टार्ट भयो मानौं त्यो कुनै विजयको घोषणा थियो । त्यसपछि निरीह कृष्णलाई साधुले बाइकको बिचमा राखे । एकातिर नागेन्द्र र अर्कोतिर आफू थिए । उनीहरूको गन्तव्य बन्यो त्यही चाँदी खोलाको एकान्त किनार, जहाँ सुन्दरताको पछाडि क्रूरता लुकेको थियो ।
किनारमा पुग्नासाथ साधुले कृष्णलाई निर्ममतापूर्वक धकेलेर भुइँमा पछारे । कृष्ण सम्हालिन नपाउँदै नागेन्द्रले आफ्नो लुकाएको कटुवा पेस्तोल झिके र त्यो कलिलो छाती अनि पेटमा निशाना लगाएर गोली प्रहार गरे । गोलीको आवाजसँगै कृष्णको जीवनको अन्तिम चीत्कार त्यही खोलाको सुसाहटमा बिलायो ।
आफ्नो कालो कर्तुतपछि दुवै जना त्यही बाइकमा चढेर घटनास्थलबाट भागे । कृष्णको रक्ताम्य शरीरलाई त्यहीं वेबारिस बनिरह्यो । घटनाको भोलिपल्ट अर्थात् ७ वैशाखमा उनीहरू कृष्णको रगत लतपतिएको त्यही बाइक लिएर नागेन्द्रका बहिनी-ज्वाइँको घर पुगे । अपराधको प्रमाण नष्ट गर्ने हतारोमा उनीहरूले गौर नगरपालिका-४ का विकास पटेललाई त्यो बाइक केवल पाँच हजार रुपैयाँमा बेचिदिए । र, त्यसलाई ‘व्यवस्थापन’ गर्ने जिम्मा पनि लगाए । प्रहरीका अनुसार प्रमाण मेटाउन उनीहरूले बाइकको नम्बरप्लेटलाई टुक्राटुक्रा पारेर बारीको माटोमुनि गाडेका थिए ।
विकास पटेलले पनि त्यो ‘जिम्मेवारी’ सोही नगरपालिका वडा नं. ८ बस्ने अनिल साहलाई सुम्पिए । अनिलले आफ्नो ग्यारेजमा लगेर उक्त मोटरसाइकललाई टुक्राटुक्रा पारेर छिन्नभिन्न बनाइदिए ।
तर, अपराध कहिल्यै लुक्दैन। अनुसन्धानकै क्रममा प्रहरीले नागेन्द्रको बहिनीको घरबाट त्यो कटुवा पेस्तोल पनि बरामद गर्यो । त्यही हतियार जसले १४ वर्षे किशोरको सपना र जीवन दुवै खोसेको थियो । यसरी टिकटकको चमकबाट सुरु भएको कथा चाँदी खोलाको किनारमा विभत्स हत्या र प्रमाण नष्ट गर्ने प्रयाससँगै अन्ततः कानुनको कठघरामा आइपुगेको हो ।
कृष्ण सधैंका लागि अस्ताएपछि अहिले उनका पुराना टिकटक भिडिओमा भावपूर्ण श्रद्धाञ्जलीका शब्दहरू वर्षिरहेका छन् ।
१४ वैशाखमा प्रहरीले पत्रकार सम्मेलन गर्दै आरोपित चारै जनालाई सार्वजनिक गरेको थियो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार उनीहरूमाथि रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका चार जना बाहेक यसमा अर्का एक व्यक्तिको मुख्य भूमिका हुन सक्ने प्रहरीको आशङ्का छ । ती मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।
नोटः यो घटनाको विवरण जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति, पत्रकार सम्मेलका क्रममा प्रहरी उपरीक्षक घिमिरेले दिएको जानकारी र उनलाई टेकपानाले सम्पर्क गरी माग गरेका विवरणको आधारमा तयार पारिएको हो । प्रहरीले मृतक यादव १४ वर्षको भनेको भए पनि उनले टिकटकको बायोमा आफ्नो उमेर १६ वर्ष राखेको पाइएको छ ।