close

ट्वीटर ट्रेन्डिङमा ‘बालेन’ र ‘सीता’

टेकपाना टेकपाना

असार १, २०८० १२:३८

ट्वीटर ट्रेन्डिङमा ‘बालेन’ र ‘सीता’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ट्वीटर ट्रन्डिङमा परेका छन् । बिहीबार दक्षिण भारतीय चलचित्र आदिपुरुषलाई लिएर काठमाडौं महानगरभित्र चल्न नदिने चेतावनी दिएपछि ट्वीटरसँगै फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा उनकाे चर्चा भइरहेको छ ।

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो सच्याउन ३ दिनको समय दिइएको छ ।”

उनले यस्तो पोस्ट गरेपछि सामाजिक सञ्जालमा बालेनबारे मिश्रित प्रतिक्रिया आएका छन् । अधिकांशले बालेनको कदमकाे प्रशंसा गरेका छन् भने केहीले आलोचना गरेका छन् । 

“शिक्षा बन्द गर्नु वा आदिपुरुषलाई काठमाडौं चल्न नदिनु विशुद्ध विवेकको कमी हो,” ट्वीटरमा पियुश नाम भएका एक प्रयोगकर्ता लेख्छन्, “उनी वास्तवमै मानिसले कडा परिश्रम गरी कमाएको पैसा वा पैसा कमाउन खोज्ने मानिसले काठमाडौंमा गरेका सङ्घर्षका बारेमा कुनै कुरा गर्दैनन् । बालेन शाहका कारण काठमाडौंको व्यापार दिनप्रतिदिन ओरालो लागेको छ ।”

यता सिद्धार्थ युजरनेम भएका प्रयोगकर्ता ट्वीटरमा लेख्छन्, “आदिपुरुषलाई प्रतिबन्ध लगाएकोमा बलेन शाहलाई धन्यवाद ! हामी नेपालीलाई चुस्लिम देखिने हनुमानजी र चप्री देखिने रावण हेर्न रुचि छैन र सीता मातालाई भारतीय भन्नु मूर्खता हो । सीता माता मिथिलाकी छोरी थिइन्, जुन अहिले नेपालको भूमि हो ।” 

रोहित मण्डल नाम भएका प्रयोगकर्ताले आदिपुरुष निर्मातालाई राम्रोसँग अध्ययन गर्न भन्दै बालेनको प्रशंसा गरेका छन् ।

यसरी विभिन्न व्यक्तिले बालेन बालेन र सीताबारे आफ्ना धारणा दिँदा यी दुई नाम नेपालमा ट्रेन्डिङमा परेका छन् ।

यसो त हालै बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर भारत र नेपालमा चर्चा पाएका थिए । 

 

 

पछिल्लो अध्यावधिक: असार १, २०८० १३:२९