close

‘संसार एआईद्वारा निर्देशित भइरहँदा नेपालको बजेट रेडियो र टिभी हुलाकमा सीमित भयो’

टेकपाना टेकपाना

असार ४, २०८० १७:५७

‘संसार एआईद्वारा निर्देशित भइरहँदा नेपालको बजेट रेडियो र टिभी हुलाकमा सीमित भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले आर्थिक वर्ष ८०/८१ को प्रस्तावित बजेटमा सूचना प्रविधि क्षेत्रका लागि उत्साहजनक कार्यक्रम नभएकाे बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसार एआईद्वारा निर्देशित भइरहँदा बजेट भने रेडियो, टिभी र हुलाकमा सीमित भएको धारणा राखे ।

“विश्व एआई र इन्टरनेटमा निर्भर छ । इन्टरनेटले दैनिकी सरल बन्दै छ । तर सुरक्षित उपयोग नहुँदा यो हाम्रा लागि खतरा बनिरहेको छ । लोकसेवा आयोगको झन्डै चार लाख आवेदकको डेटा हरायो । डेटा पुन: प्राप्तिमा हामी असफल भयौं । हाम्रो अवस्था यस्तो छ,” उनले भने, “तर बजेटको प्राथमिकतामा साइबर सुरक्षा, डेटा सुरक्षाभन्दा सञ्चार मन्त्रालय अन्तर्गत निर्माण हुने भौतिक पूर्वाधार परेको छ ।”

साइबर सुरक्षा भनेको एन्टिभाइरस खरिद गर्नु मात्र नभएको कुरा सरकारले बुझ्न नसकेको उनकाे भनाइ छ । साइबर विश्वमा हामी सुरक्षित नभएसम्म जतिसुकै रङरोगन गरेको ठूला भवन बनाए पनि सुरक्षित हुन नसकिने उनले तर्क गरे ।

सरकारले लोक कल्याणकारी विज्ञापनका नाममा २८ लाख छुट्याएकाे भएपनि सामाजिक सञ्जालमा हुने विज्ञापनका कारण अर्बौं रकम बाहिर गएकोतर्फ केही चासाे नदेखाएकाे सांसद शाहकाे टिप्पणी छ ।

योसँगै नेटफ्लिक्स, अमेजनजस्ता विदेशी ओटीटीले करोडौं रुपैयाँ बाहिर लगिरहँदा त्यसको नियमन, नियन्त्रण जस्ता विषय सरकारले नदेखेको भन्दै उनले असन्ताेष व्यक्त गरे ।

त्यस्तै नयाँ कानून तर्जुमाका लागि छुट्याइएको १० लाख रुपैयाँले साइबर कानून, सामाजिक सञ्जालमा बढेको अपराध रोक्ने कानून, राइड शेयरिङ एपका लागि कानून, ईकमर्स नियमन गर्ने कानून बन्ला त भन्दै उनले सरकारलाई प्रश्न गरे ।

पछिल्लो अध्यावधिक: असार ४, २०८० १७:५८