close

एटीएमबाट यसरी निकाल्नुहोस् ईसेवामा रहेको रकम

टेकपाना टेकपाना

असार ७, २०८० ७:४९

एटीएमबाट यसरी निकाल्नुहोस् ईसेवामा रहेको रकम

काठमाडौं । डिजिटल वालेट ईसेवामा भएको रकम अब एटीएमबाट निकाल्न सकिने भएको छ । ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा यस्तो सेवा बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन ।

एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्नसक्ने कम्पनीले जनाएको छ ।

यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटीएम मार्फत पनि रकम झिक्न सकिने भएपछि प्रयोगकर्तालाई सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए ।

यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरुवात गरिएको हो । 

एभरेष्ट बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ?

- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।

- त्यसपछि होमपेजमा रहेको 'एटीएम विथड्र' (ATM Withdraw) को अप्सन छान्नुहोस् । 

- अनि एभरेष्ट बैंकको नाम छान्नुहोस् ।

- यति गरेपछि आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् (तर, ५०० को गुणन सङ्ख्या मात्र राख्न पाइन्छ । एक पटकमा पाँच हजारभन्दा बढी रकम निकाल्न मिल्दैन ) ।

- यति गरेपछि 'पर्पोजमा गई किन निकाल्न लागेको भन्ने अप्सन छान्नुहोस् ।

- अनि रिमार्क लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि कन्फर्म (Confirm)को बटनमा ट्याप गर्नुहोस् । अनि आफ्नो पीन नम्बर राखेर पुनः कन्फर्म (Confirm) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको डिभाइसमा एउटा ओटीपी कोड आउँछ ।

एभरेष्ट बैंकको एटीएम बुथमा जानुहोस्

- बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।

- र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् ।

यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८० ८:२८