close

पढाउँदा नेपालका चित्र नभेटेपछि ‘पूर्वी ब्लुज’मार्फत यसरी चर्चित युट्युबर बने म्युजिक शिक्षक

हिक्मत आचार्य हिक्मत आचार्य

असार ७, २०८० १२:४१

पढाउँदा नेपालका चित्र नभेटेपछि ‘पूर्वी ब्लुज’मार्फत यसरी चर्चित युट्युबर बने म्युजिक शिक्षक

काठमाडौं । झापाको लिटल एन्जल्स बोर्डिङ स्कुलमा सङ्गीत र सामाजिक शिक्षा तथा वाल्मिकी कलेजमा अर्थशास्त्र पढाउने सचिन न्यौपाने विद्यार्थीलाई रोचक तरिकाले पढाउनुपर्छ भन्ने मान्यता राख्थे । सूचना प्रविधिको जमानामा मल्टिमिडियाका माध्यमबाट विद्यार्थीलाई पढाउने उनको शोख थियो ।

विशेषगरी सामाजिक विषय पढाउँदा विश्व परिवेशको बारेमा जानकारी दिन उनी विद्यार्थीलाई श्रव्यदृश्य सामग्री (भिडिओ) देखाउँथे । यसरी विद्यार्थीलाई सिकाउँदा बाहिरी देशका धेरै भिडिओ भेटे पनि नेपालका भिडिओ भेट्न न्यौपानेलाई सकस नै पर्थ्यो । भिडिओ नभेटाएपछि केही समय त उनले आफूले फेला पारेका सामग्री देखाए । तर, अनुपयुक्त भिडिओ सामग्री विद्यार्थीका लागि त्यति प्रभावकारी भएनन् । 

त्यसपछि विद्यार्थीलाई आवश्यक हुने भिडिओ सामग्री बनाउन आफैं अगाडि बढे । र, क्यामेरा लिएर इटहरीमा रहेको नेपालको पहिलो पेट्रोल खानी पुगे ।

“विद्यार्थीलाई भिडिओ देखाएर पढाउन खोजिरहेको हुन्थेँ । तर, पढाउँदा के भइदियो भने विदेशका सामग्री धेरै भेटिने, अनि नेपालका चाहिँ नभेटिने,” आफूले विद्यार्थीका लागि बनाएको पहिलो ट्राभल भिडिओ सम्झिँदै न्यौपाने भन्छन्, “विद्यार्थीका लागि नेपालको पहिलो पेट्रोल खानीबारे बुझाउनु थियो । आफूलाई नजिक पनि पर्ने भएपछि सबैभन्दा पहिले इटहरी बेलबारीभन्दा केही पर रहेको पेट्रोल उत्खननका लागि तयार पारिएको ठाउँमा पुगेँ ।”

भिडिओ खिचेपछि त्यसलाई आकर्षक बनाउन उनले आफ्नै ब्यान्डले तयार पारेको म्युजिक राखे । र, केही दिनपछि विद्यार्थीलाई देखाए । भिडिओ आकर्षक पनि भयो । विद्यार्थीले पनि उत्तिकै चाख दिएर हेरे । 

त्यसपछि उनले आफूले तयार पारेको उक्त भिडिओ कता भण्डारण गर्ने भन्नेबारे सोच्न थाले । भन्छन्, “भिडिओ अरू विद्यार्थीलाई पनि देखाउनु थियो । आफूसँग भएको पेन ड्राइभमा त्यति धेरै स्टोरेज थिएन । त्यसैले युट्युबमा राख्ने निर्णय गरेँ ।”

युट्युबसँगको सम्बन्ध

सानैबाट घरमा साङ्गीतिक माहोल भएकाले न्यौपाने सङ्गीततिर बढी झुकाव राख्थे । घरमा भएका मादल, हार्मोनियम जस्ता उपकरण बजाउन उनले सानैमा सिकेका थिए । सानोमा मादल बजाएको देख्नेहरू अझै पनि उनले निकालेका तालको प्रशंसा गरेर थाक्दैनन् । ठूलो हुँदै गएपछि न्यौपाने विस्तारै गितार, किबोर्ड बजाउन थाले । औपचारिक परीक्षण बिनै निरन्तरकाे साधनाले न्यौपाने गितार, किबोर्ड र मादल जस्ता उपकरण बजाउन थाले । 

म्युजिक एरेन्ज गर्न समेत सिकिसकेका उनले वि.स २०६४/६५ मा आफ्ना केही साथीहरूसँग मिलेर एउटा म्युजिक ब्यान्ड खोले । “सङ्गीत बाजागाजामा रुचि राख्ने भएकाले रहरै रहरमा म्युजिक ब्यान्ड तयार पारेँ,” उनी भन्छन्, “म आफू किबोर्ड र हार्मोनियममा थिएँ, आदित्य अधिकारी र राजेश लिम्बु गायनमा हुनुहुन्थ्यो । सञ्जय निरौला ब्यान्ड मेम्बर र सुवास उप्रेती भोकलिस्ट हुनुहुन्थ्यो ।” 

उनीहरूले ब्यान्ड बनाउने भएपछि सबैभन्दा पहिले नाम के राख्ने भन्ने दोधार भयो । न्यौपाने अगाडि भन्छन्, “हाम्रो नेपाल पूर्वी सभ्यतामा पर्छ । त्यही पूर्वी शब्दलाई अगाडि राख्ने योजना बनायौं । हामीले गाउने सङ्गीतको विधा ‘ब्लुज’ थियो । ब्लुजको अर्को अर्थ उदासी, उदास, वा कम उत्साह भन्ने पनि हुन्छ । यसैलाई जोडेर हामीले म्युजिक ब्यान्डको नाम ‘पूर्वी ब्लुज’ राख्यौं ।”

यता ब्यान्ड, उता शिक्षकका रूपमा लिटल एन्जल्स स्कुलमा आवद्ध भइरहेका न्यौपाने आफ्ना दुवै कामलाई उत्तिकै महत्त्व दिएर अगाडि बढिरहेका थिए ।

यसरी ब्यान्ड सञ्चालन गरिरहँदा उनीहरूले थुप्रै सङ्गीत पनि तयार पारे । त्यसबेला खाडी मुलुकमा राम्रो प्रभाव पारेको नेपाली चलचित्र ‘फर्मुला’का लागि गीत पनि उपलब्ध गराएका थिए । आफ्नै लगानीमा ‘इम्याजिन’ नामक एल्बम तयार पारे । त्यसबखत अहिलेको जस्तो युट्युबको लोकप्रियता थिएन ।

केहीले युट्युब प्रयोग गर्ने भए पनि सर्वसाधारणलाई त्यसबारे त्यति चासो थिएन । त्यसैले उनीहरूले गीत सीडी र क्यासेटमा भरेर आफन्त तथा साथीलाई जबरजस्ती खरिद गर्न (फोर्स सेलिङ) अनुरोध गरे । “हामीले सङ्गीत गर्न खोजिरहेका थियौं, तर बजार पाइरहेका थिएनौं,” न्यौपाने आफ्नो विगत सम्झिन्छन् । रहरै रहरमा एल्बम बनाए पनि व्यावसायिक रूपमा त्यसैलाई अगाडि बढाउन सकिन्छ भन्ने उनीहरूलाई लागेन । त्यसैले सङ्गीतलाई कम प्राथमिकता दिएर आ-आफ्नो काम गरिरहेका थिए ।

पछि युट्युब चर्चामा आएपछि सन् २०१५ मा सचिनले ब्यान्डको नाममा युट्युब च्यानल खोले । र, ब्यान्डले तयार पारेका म्युजिक भिडिओ सोही च्यानलमा राख्न थाले । त्यसबेला युट्युबमा अरु उद्देश्यभन्दा पनि भण्डारण गर्ने उद्देश्यले म्युजिक भिडिओ राख्ने प्रवृत्ति थियो । यसरी उनीहरू ब्यान्डमार्फत सबैलाई पायक पर्ने समयमा गीत तयार पार्थे । र, भिडिओ युट्युबमा राख्थे । 

२०७४ तिरको कुरा हो ब्यान्डका भोकलिस्ट सुवास एक्कासि बिरामी परे । उनलाई आफन्त तथा साथीभाइले अस्पताल लगे । त्यहाँ उपचारकै क्रममा उनको निधन भयो । साथीको गुमाएपछि ब्यान्ड सञ्चालन गर्न असमर्थ भएको तीतो विगत सम्झिन्छन् न्यौपाने । “साथीको असामयिक निधनपछि हामी विमुख भयौं,” विगत सम्झिँदै उनी भन्छन्, “पहिले उहाँ (ब्यान्डका साथी र सुवास)सँग देउसी खेल्ने रमाइलो गर्ने सङ्गत थियो । त्यो चाहिँ विस्तारै हट्दै गयो ।”

उता सचिन पनि आफ्नै तरिकाले ब्यान्डभन्दा बढी अध्यापनमा केन्द्रित थिए । युट्युबमा राखिएका भिडिओले साथीको बढी झल्को दिने भएपछि त्यहाँ भएका अधिकांश भिडिओ हटाएका थिए ।

“हामीले युट्युबमा ब्यान्डले तयार पारेका सबै म्युजिक भिडिओ राखेका थियौं । तर, साथी बितेपछि ती भिडिओ हेर्दा साथीको बढी सम्झना आउन थाल्यो । अनि प्रायः सबै भिडिओ हटाएर दुई तीन ओटा भिडिओ मात्र राख्यौं,” उनी थप्छन् । त्यसबाहेक सङ्गीत राम्रो गर्न खोज्दै खोज्दै पनि असफल भएपछि व्यावसायिक तरिकाले उक्त पेसाबाट टाढिने निर्णय गरेको न्यौपानेको तीतो अनुभव छ । 

पछि २०७४ मा विद्यार्थीका लागि बनाएको पेट्रोल खानीको भिडिओ भण्डारण गर्ने माध्यम खोज्दा उनलाई युट्युब उपयुक्त लाग्यो । र, भिडिओ त्यसैमा अपलोड गरे ।

युट्युब मोनिटाइजेसन, ट्राभल भिडिओ र व्यवसाय

युट्युबलाई भिडिओ भण्डारण गर्ने माध्यमका रूपमा हेरेका न्यौपानेले त्यहाँ अपलोड भएका भिडिओबारे त्यति वास्ता गरेनन् । बरु विद्यार्थीका लागि भिडिओ बनाउनमै बढी केन्द्रित भए । त्यसपछि उनले इलाम र मुस्ताङको भिडिओ बनाए । र, सोही च्यानलमा राखे । भिडिओमा राम्रो भ्युज आउन थालेको थियो । त्यस्तै सब्स्क्राइबर पनि बढिरहेका थिए ।

तर, न्यौपानेलाई युट्युबमा भिडिओले राम्रो प्रभाव पारेको थियो । उनी आफ्नै काममा बढी सक्रिय भएकाले युट्युब हेर्ने वा त्यसैमा सक्रिय हुन पाएका थिएनन् । पछि चार हजार मिनेटको वाच टाइम र एक हजार बढी सब्स्क्राइबरको मापदण्ड पूरा भए पश्चात् उनलाई बारम्बार युट्युबबाट ईमेल आयो । सुरुवातमा उनले ईमेलको बेवास्ता गरे । तर, एक दिन ईमेल राम्रोसँग जाँच गरे । त्यसमा आम्दानी गर्न सकिने कुराको सूचना दिइएको थियो ।

आम्दानी गर्न सकिने प्रक्रियाबारे बुझे र अप्लाई गरे । त्यसपछि उनको च्यानलमा मोनिटाइजेसन अर्थात युट्युब विज्ञापनबाटै पैसा कमाउन सकिने बाटो खुल्यो । यतिबेला बल्ल उनले युट्युबमा भ्युजको महत्त्व बुझे । “भाग्यवश मेरो च्यानलमा पहिलेबाटै राम्रो भ्युज आउन थालिसकेको रहेछ । सुरुवात गर्न खासै गाह्रो भएन,” उनी स्मरण गर्छन् ।

उनी आफूलाई फुर्सद हुने दिनहरूमा रोचक ठाउँमा घुमेर त्यसैको विषयमा जानकारी दिन्थे । उनले यस्ता ट्राभल भिडिओ बनाउन थालेपछि धेरैले कस्तो भिडिओ बनाएको भन्ने प्रश्न पनि गर्थे । भन्छन्, “युट्युबमा म्युजिक र फिल्म मात्र राख्नुपर्छ भन्ने मान्यता थियो । त्यसैले मैले ट्राभल भिडिओ राख्दा यस्तो भिडिओ पनि राख्ने हो भन्थे ।” 

व्यावसायिक तवरले भिडिओ निर्माण

त्यसअघि आफ्नै रहर र विद्यार्थीलाई शिक्षा दिन आशयले भिडिओ बनाउने उनले पछि व्यावसायिक तवरबाट भिडिओ बनाउने सोच बनाए । तर, सुरु गरिसकेका भने थिएनन् । बिदाका दिन र सामान्य घुमघामका दिनमा उनी सचेतनामूलक भिडिओ बनाई युट्युबमा राख्थे । त्यही बेला संसार कोरोना महामारीमा पर्‍यो । कोरोना महामारीका कारण सबै कुरा ठप्प भए । स्कुल कलेज सबै बन्द भए । घुम्न उत्सुक हुने न्यौपाने आफ्नी श्रीमतीसँग देशका ग्रामीण भेगतिर पुगे । 

म्युजिक भिडिओ बनाउँदा न्यौपानेले एडिट गर्न, मिक्सिङ गर्न सिकेका थिए । पछि त्यही सीप ट्राभल भिडिओ एडिट गर्दा प्रयोग गरे । भिडिओ युट्युबमा राख्दा घुम्न खर्च आउन थाल्यो । अनि लकडाउनमा त्यही पैसाले घुम्न निस्किए । यसरी व्यावसायिक रूपमा भिडिओ बनाएर आम्दानी गर्न सकिन्छ भन्ने भएपछि सन् २०२० मा उनले स्कुल र कलेजको जागिर छोडे । 

हाल उनीसँग  चार लाख रुपैयाँ बराबरको ए७४ क्यामेरा, एक लाख ५० हजार रुपैयाँ बराबरको लेन्स, दुई लाख १० हजार रुपैयाँ पर्ने ड्रोन, ७० हजार रुपैयाँको डीजेएस आरएसके गिम्बल रहेको छ । त्यस्तै भिडिओ एडिटिङका लागि करिब पाँच लाख रुपैयाँ पर्ने दुई ओटा कम्प्युटर रहेका छन् ।

भिडिओ एडिट गर्नका लागि एक जना, अडियो ट्रान्सक्राइब गरेर अङ्ग्रेजी बनाउनका लागि एक जना र उनीसँगै क्यामेराम्यान तथा सहयात्रीका रूपमा घुम्ने एक जना साथी गरी उनीसहित पूर्वी ब्लुज प्रालिमा हाल चार जना कार्यरत छन् । 

भिडिओमा आफ्नै मौलिक सङ्गीत

“नेपालमा विदेशी बढी घुमेको तर नेपालीलाई थाहै नभएका थुप्रै ठाउँ छन्,” उनी भन्छन्, “त्यस्तै नेपालीले थाहा पाएका तर विदेशीले थाहा नपाएका ठाउँहरू पनि छन् । त्यसैले हामी सबैलाई नेपालका सबै ठाउँको बारेमा जानकारी दिने प्रयत्न गरिरहेका छौं ।” यसका लागि भिडिओमा प्रयोग भएको मौलिक सङ्गीतको पनि उत्तिकै महत्त्व हुन्छ । प्रायः भिडिओमा उनी फरक फरक म्युजिक राख्न खोजिरहेका हुन्छन् । 

भिडिओमा राखेका ब्याकग्राउन्ड म्युजिक न्यौपाने आफैले तयार पारेका हुन् । भन्छन्, “अरूले बनाएको म्युजिक राख्दा कपिराइटको झन्झट पनि हुने, आफूले चाहे जस्तो पनि नबन्ने भएपछि आफैले तयार पारेका म्युजिक राख्न थालेँ ।” 

 

यसरी आफ्नै म्युजिक राख्दा कपिराइटको झन्झट पनि भएन, आफूले बनाएका म्युजिकको पनि सदुपयोग हुन थाल्यो । 

फुर्सदिलो समयमा न्यौपाने अझै पनि म्युजिक तयार पार्ने काम गर्छन् । यी म्युजिक उनी आफ्ना नयाँ ट्राभल भिडिओमा राख्छन् ।

“मेरो सोखको नै त्यही हो । खाली समय हुँदा आफै कीबोर्डमा बसेर म्युजिक बनाउने गरेको छु,” उनी सुनाउँछन् । 

भिडिओ देखेपछि सहयात्रा गर्न अमेरिकाबाट टिममा जोडिएका  लक्ष्मी 

अहिले न्यौपानेसँगै उनका साथी लक्ष्मी ढुङ्गेल पनि पूर्वी ब्लुजबाट आउने अधिकांश भिडिओमा देखिन्छन् । यसो त न्यौपाने र ढुङ्गेलको घर एउटै ठाउँमा हो । तर, उनीहरूबीच त्यति चिनजान थिएन । करिब तीन वर्षअघि लक्ष्मीले पूर्वी ब्लुज च्यानलबाट प्रसारित भिडिओ देखेका थिए । “मलाई पूर्वी ब्लुज च्यानलबाट आउने भिडिओ खुबै मन पर्न थालेका थिए,” ढुङ्गेल भन्छन्, “भिडिओ हेर्दै जाँदा आफूलाई पनि घुम्ने रहर लाग्यो । अनि अमेरिकाको बसाई छोडेर नेपाल फर्किने निधो गरेँ ।”

उनले अनलाइनबाटै न्यौपानेसँग चिनजान गरे र आफू पनि सहकार्य गर्न उत्सुक रहेको कुरा सुनाए । न्यौपानेलाई पनि ढुङ्गेलको कुरा ठीकै लाग्यो । यसरी लक्ष्मी र सचिनको सहकार्य अगाडि बढ्यो ।

भिडिओका लागि ७१ ओटा जिल्ला घुमघाम 

ट्राभल भिडिओ बनाउने क्रममा न्यौपाने ७१ बढी जिल्लामा पुगिसकेका छन् । विशेषगरी ग्रामीण भेगका कुराहरू भिडिओमार्फत बाहिर ल्याउन लागिपरेका न्यौपाने प्रायः आफ्नै खर्चमा बाहिर निस्किन्छन् । कसैले ठाउँहरू प्रवर्द्धन गरिदिन पनि निम्तो दिन्छन् । कतिपयले खाने बस्ने प्रबन्ध मिलाइदिने भन्दै घुम्न आग्रह गर्छन् । त्यसैले त उनले युट्युबको कभर फोटोमै लेखेका छन्, “सुगम होस् या दुर्गम हामी देखाउनेछौं ।” र, सँगै सम्पर्क नम्बर पनि राखेका छन् । 

घुम्न जाँदा थुप्रै रमाइला पल, केही खल्ला पलहरू पनि पूर्वी ब्लुज टिमले अनुभव गर्नुपरेको छ । कतिपय यति विकट ठाउँ भेटिन्छन् । जसको नाम पूर्वी ब्लुजका टिमले नै राखिदिन्छन् । करिब दुई वर्षअघि न्यौपाने सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज घुम्न पुगेका थिए । सहरी कृत्रिमताले नछोएको सुर्व सरोवर देख्दा रमाएका उनी आफूले घुमेकामध्ये सबैभन्दा उत्कृष्ट गन्तव्य नै त्यही मान्छन् ।

त्यस्तै कतिपय अवस्थामा घुम्न जाँदा बिरामी भएको खल्लो अनुभव पनि उनीसँग छ । भन्छन्, “घुम्न जाने, रमाइला दृश्य खिच्ने उद्देश्यले निस्किएका हुन्छौं तर कैयौं पटक लेक लागेर बीच बाटोबाटै फर्किनुपर्ने अवस्था छ । यस्तो हुँदा भिडिओ बनाउन पनि पाइँदैन । अनुभव पनि खल्लो हुन्छ ।” त्यस्तै केही मानिसहरूले फोन गरेर आकर्षक ठाउँ भएको जानकारी दिन्छन् । तर, त्यस्ता ठाउँमा जाँदा भिडिओमा देखाउन लायक कुराहरू केही भेटिँदैन र उनीहरू निराश बनेर फर्किनुपर्ने हुन्छ । 

“आफूले भोगेका दुःख मनमै छन्,” उनी भन्छन्, “सदैव आफूले देखेका रमणीय दृश्य देखाउन पाए मनलाई सन्तोष मिल्छ ।” 

विशेषगरी विभिन्न ठाउँका धार्मिक, ऐतिहासिक कुराहरू भिडिओमा देखाउन पाउँदा उनी उत्साहित हुन्छन् । भन्छन्, “हाम्रो उद्देश्य सधैं सकारात्मक सन्देश पठाउने हुन्छ । अहिलेसम्म भिडिओबाट कहिल्यै नराम्रो सन्देश प्रवाह हुन दिएका छैनौं । ऐतिहासिक कुराको महत्त्व बुझाउन पाउँदा रमाइलो लाग्छ ।

आम्दानी र रोजगारीको बाटो

नेपाली भाषामा राखिएका भिडिओ हेर्ने अडियन्सको जमात सानो छ । बाहिर देशबाट आउने भ्युज पनि थोरै हुन्छ । जसले गर्दा सोचे अनुरूपको आम्दानी हुन सकेको छैन । तर, पनि न्यौपानेले विभिन्न तरिकाले खर्चको बन्दोबस्त गरिरहेका छन् । उनले बनाएका भिडिओ हरेक हप्ताको बिहीबार नेपाल टेलिभिजनको इटहरी शाखामा बज्ने गर्छ ।

त्यहाँबाट पनि उनले आम्दानी गरिरहेका छन् । त्यस्तै भिडिओमा राखेका वेब सर्फरको विज्ञापनबाट पनि खर्च व्यवस्थापन भइरहेको न्यौपाने बताउँछन् । भन्छन्, “कहिले भिडिओका लागि लागेको लागत खर्च पनि उठ्दैन । तर, भिडिओमा देखाइएका कुरा धेरैले सकारात्मक रूपमा लिनुहुन्छ । त्यसैले नयाँ भिडिओ बनाउने ऊर्जा आउँछ ।”

यसो त उनलाई प्रतिबन्धित बेटिङ प्लेटफर्म वनएक्स बेटबाट प्रचार गरिदिन धेरै पटक अफर आएको थियो । तर, समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले भिडिओ बनाउन सुरु गरेका शिक्षकले गलत बाटोमा लाग्न प्रोत्साहन गर्ने भिडिओ बनाउन तयार भएनन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा पाउने मनसायले विकृति फैलाउने किसिमका भिडिओ बनाउने प्रवृत्ति बढिरहेको छ । यस्तोमा सकारात्मक सन्देश प्रवाह गर्ने, समाजको यथार्थता प्रस्तुत गर्ने, धार्मिक तथा ऐतिहासिक महत्त्वका ठाउँहरू प्रवर्द्धन गर्ने क्रियटर थोरै छन् । त्यसैले उनी समाजमा सकारात्मक सन्देश जाने भिडिओ बनाउन आह्वान गर्छन् ।

यसरी घुमेका भिडिओ बनाएर जीवन धान्न नेपालमा सकस नै छ । त्यसका लागि यही विधा (ट्राभल भिडिओ) लाई करियर बनाउँछु भन्दा गाह्रो हुन सक्ने न्यौपानेको भोगाइ छ । भन्छन्, “आफूले यसैलाई निरन्तरता दिने भनेपछि सबै कुराहरू छोडेको छु । पीएचडी गर्ने बेलाको पढाइ, बैंकमा आएको जागिरको अफर सबै छोडेको छु । राम्रो आम्दानी नहोला । तर, सन्तुष्ट चाहिँ भइन्छ ।” 

यसरी भिडिओ बनाएर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिरहेका न्यौपानेलाई सरकारबाट केही अपेक्षा छैन । “सरकारबाट केही अपेक्षा छैन । तपाईंले कसैसँग अपेक्षा राख्नु भएन भने सधैं खुसी भइने रहेछ । त्यसैले अपेक्षा कसैसँग केही छैन, तर सहयोग नगरे पनि अवरोध कहिल्यै नगरिदिऊन् यत्ति एउटा कामना छ,” आशावादी भावमा न्यौपाने सुनाउँछन् । 

ड्रोनशट खिच्न उपयुक्त हुने ठाउँमा पनि खिच्न नदिएर अवरोध गरेका केही घटना उनले सामना गरेका छन् । त्यसैले पर्यटन प्रवर्द्धन र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ठाउँको प्रवर्द्धन गरिरहँदा सरकारले वा अन्य कुनै पनि निकायले अवरोध नगरिदियोस् भन्ने उनको चाहना छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८० १३:१