close

‘टाइटनिक हेर्न जाँदा बेपत्ता भएको पनडुब्बी ३० डलरको गेमिङ कन्ट्रोलरबाट चलेको थियो’

टेकपाना टेकपाना

असार ७, २०८० १७:९

‘टाइटनिक हेर्न जाँदा बेपत्ता भएको पनडुब्बी ३० डलरको गेमिङ कन्ट्रोलरबाट चलेको थियो’

काठमाडौं । एटलान्टिक महासागरमा सय वर्षअघि डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न समुन्द्रमुनि गएको ‘पनडुब्बी’ (जहाज) गत आइतबारदेखि बेपत्ता छ । पनडुब्बी र त्यसमा सवार पाँच मानिस खोज्ने काम अहिले जारी छ । 

उद्धार कार्य जारी रहँदा अनौठो तथ्य बाहिर आएको छ । पनडुब्बीमा टाइटानिक जहाजको भग्नावशेष भ्रमण गराउने कम्पनी ओसन गेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टकटन रशले सो पनडुब्बीमा १० वर्ष पुरानो गेमिङ कन्ट्रोलर प्रयोग भएको बताएका थिए ।

“हामीले यो गेमिङ कन्ट्रोलरले सम्पूर्ण कुराहरू सञ्चालन गरिरहेका थियौं,” रशले सीबीएस न्युजसँगको अन्तर्वार्तामा १० महिनाअघि भनेका थिए । सो पनडुब्बी करिब ३० डलरको ‘लोगिटेक जी एफ ७१०’ गेमिङ कन्ट्रोलरबाट चलेको उनले उल्लेख गरेका थिए । पनडुब्बीलाई अगाडि पछाडि वा दाँयाबायाँ लग्न त्यही रिमोट प्रयोग भइरहेको थियो । यो त्यस्तो गेमिङ कन्ट्रोल रिमोट हो, जसले अनलाइनमा सयौं नकारात्मक प्रतिक्रिया पाएको थियो । लोगिटेकले यो डिभाइस सन् २०१० मा पहिलो पटक सार्वजनिक गरेको थियो ।

उक्त कन्ट्रोलरमा दुई ओटा एए ब्याट्री समावेश गरिएको छ, जसले अमेजनमा ४.२ रेटिङ पाएको छ । उक्त प्रडक्टमा आएका सय ओटा वन स्टार रेटिङ प्रतिक्रियामा उक्त डिभाइसले बारम्बार कनेक्सनको समस्या आउने उल्लेख छ । पर्यटकहरूले पनडुब्बीमा सवार भएर टाइटनिकको भग्नावशेष भएको स्थानमा पुग्न प्रति व्यक्ति दुई लाख ५० हजार अमेरिकी डलर तिर्नुपर्छ ।

आइतबार पानीभित्र गएको पनडुब्बी ४५ मिनेटमै सम्पर्कविहीन बन्न पुगेको हो । सारा संसार नै पनडुब्बीमा सवार यात्री जीवित फर्किने आशामा बसिरहेका छन् भने कम्पनीले २२ फुटको पन्डुब्बी जहाजमा पुरानो गेमिङ कन्ट्रोलर प्रयोग गरेको कुराले चकित परेका छन् । २.४ गिगाहर्ज वायेरलेस कनेक्सन सपोर्ट गर्ने गेमिङ कन्ट्रोलरमा १० वर्षसम्म टिक्ने एए ब्याट्री प्रयोग गरिएको छ ।

पनडुब्बीमा उक्त डिभाइस कसरी प्रयोग भएको थियो भन्ने कुरा स्पष्ट छैन । यो डिभाइसले विन्डोज ७, ८, १०, ११ र क्रोम ओएस सपोर्ट गर्ने बताइएको छ । उक्त जहाजमा लोगिटेकको सो गेमिङ कन्ट्रोलर प्रयोग भएको समाचार बाहिरिएपछि कम्पनीको शेयर तीव्र गतिले घटिरहेको छ ।

त्यही गेमिङ कन्ट्रोलरका कारण जहाज सम्पर्कविहीन बनेको हो कि होइन भन्ने ‍कुरा स्पष्ट रूपमा बाहिर आइसकेको छैन । हाल उक्त पनडुब्बी कहाँ छ भन्ने कुराको खोजीकार्य भइरहेको छ । जहाज भेटिसकेपछि गरिने अनुसन्धानबाट सम्पर्कविहीन बनेको कारण बाहिर आउनेछ ।

पछिल्लो अध्यावधिक: असार ८, २०८० १४:७