close

मिडरेन्ज छोडेर तपाईँका लागि फ्ल्यागशिप स्मार्टफोन नै खरिद गर्नुपर्ने जरुरी किन ?

टेकपाना टेकपाना

बैशाख ८, २०८२ २०:३७

मिडरेन्ज छोडेर तपाईँका लागि फ्ल्यागशिप स्मार्टफोन नै खरिद गर्नुपर्ने जरुरी किन ?

काठमाडौँ । आजभोलि मोबाइल निर्माता कम्पनीहरूले मिडरेन्ज फोनहरू पनि फ्ल्यागशिप जत्तिकै पावरफुल र फिचरयुक्त बनाउन थालेका छन् । फ्ल्यागशिपसम्म जान नसक्ने, तर मिडरेन्जका लागि खर्च गर्न सक्ने प्रयोगकर्तालाई लक्षित गर्न यस्ता फोनहरू बन्ने गरेका हुन्छन् । 

अहिलेका मिडरेन्ज फोनहरूमा पनि टिकाउ ब्याट्री, राम्रो पर्फमेन्स, राम्रो सफ्टवेयर फिचर, आँखामैत्री यूआई लगायतका फिचरहरू हुन्छन् । तर पनि मिडरेन्ज भन्दा फ्ल्यागशिप फोन नै किन प्रयोग गर्ने त ? आज हामी यही विषयमा चर्चा  गर्दैछौँ । ​

 

लामो समयसम्म पाइने सफ्टवेयर सपोर्ट 

फ्ल्यागशिप फोन खरिद गर्नुको एउटा फाइदा भनेको लामो समयसम्म पाइने सफ्टवेयर सपोर्ट हो । अर्कोतिर सफ्टवेयर अपडेट पनि समयमै पाइन्छ । प्राय: मिडरेन्ज र बजेट फोनमा भन्दा यस्ता अपडेटहरू फ्ल्यागशिपमा अगाडि आउने गर्छन् । मिडरेन्ज र बजेट फोनले नयाँ आएका सफ्टवेयर अपडेटका लागि केही महिना कुर्नैपर्ने अवस्था हुन्छ ।

गुगलको विषयमा भने यो कुरा अलिक फरक छ । गुगलले भने मिडरेन्जका पिक्सेल फोनमा पनि सिस्टम अपडेट सार्वजनिक भएकै दिन दिने गर्छ । अर्कोतिर धेरैजसो एन्ड्रोइड फ्ल्यागशिप फोनमा अधिकतम सात वर्षसम्मको सिस्टम अपडेट पाइन्छ ।

 

अपडेटेड एआई फिचरहरू 

एआई टुलहरू अहिले दैनिक आवश्यकताको विषय नै बनिसकेका छन् । हाम्रो दैनिकीलाई मोबाइलमा हुने एआई फिचरहरूले सहज बनाइरहेका हुन्छन् । तर कम्पनीहरूले भने फ्ल्यागशिपमा जति एआई फिचरहरू मिडरेन्जमा दिँदैनन् । उदाहरणका लागि गुगलको पिक्सेल ९ वा ९ प्रोमा भएका एआई फिचर जस्तै कल नोट्स, पिक्सेल स्टुडियो, पिक्सेल स्क्रिनशट, एड मी, रिइम्याजिन लगायतका फिचरहरू मिडरेन्जका पिक्सेल फोनमा पाइदैनन् ।

मिडरेन्ज फोनमा कतिले सपोर्ट नगर्ने त कतिले स्टोरेज लगायतका विषयका कारण पनि पावरफुल एआई फिचरहरू उपलब्ध हुँदैनन् । बढ्दो एआईको प्रयोग र विकासका कारण पनि भोलिको दिनमा कुन टुल कतिखेर विकल्प नभई आवश्यकता बन्नसक्छ थाहा हुँदैन । यस्तोमा मिडरेन्जमा अड्किनु भन्दा फ्ल्यागशिप आँट्नु नै उचित हुन्छ । 

 

राम्रो टुल र फिचरहरू 

एउटा फ्ल्यागशिप फोनले प्रयोगकर्ताको बदलिँदो आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न सक्छन् । उदाहरणको लागि तपाईँलाई अहिले सामान्य फोन भए पुग्छ, धेरै फिचर भएको किन चाहियो भन्ने लाग्नसक्छ । तर पछि गएर भविष्यमा तपाईँको आवश्यकता परिवर्तन हुनसक्छ । तपाईँलाई राम्रो क्यामेरा, लामो समय टिक्ने ब्याट्री, विभिन्न एआई फिचर, राम्रो सीपीयू लगायतको आवश्यकता महसुस हुनसक्छ । वा तपाईँको व्यावसायिक जीवनकै लागि पनि राम्रो फिचर भएको फोन चाहिन सक्छ ।

यस्तोमा नयाँ फोन किन्नुको विकल्प तपाईँसँग हुँदैन । कम्पनीहरूले फ्ल्यागशिप फोनहरूमा भने समयसँगै परिवर्तित फिचरहरू पनि उपलब्ध गराएका हुन्छन् । २०२३ मा अल्ट्रा जुम क्यामेरा किन चाहियो भनेर तपाईँ मिडरेन्जमा सीमित भइदिएको भए आज २०२५ मा आएर त्यसको आवश्यकता धेरै हुनसक्छ । यस्तोमा तपाईँको बढ्दो आवश्यकतालाई फ्ल्यागशिपले साथ दिनसक्छ । 

 

फ्ल्यागशिप फोनहरू समयसँगै थप अपडेट हुँदै जान्छन् 

सन् २०२३ को फेब्रुअरीमा सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा सार्वजनिक भएको थियो । सोही वर्षको अक्टोबरमा गुगलले आफ्नो पिक्सेल ८ प्रो सार्वजनिक गर्‍यो । दुवै फोन आजको दिनसम्म आउँदा निकै परिवर्तन भइसकेका छन् । आजसम्म पनि ती फोनहरूले प्रयोगकर्तालाई अपडेटेड फिचर उपलब्ध गराइरहेका छन् ।

सन् २०२४ मा सार्वजनिक भएको ग्यालेक्सी एस२४ सँगै सामसङले ग्यालेक्सी एआई पनि सार्वजनिक गरेको थियो । यो फिचर सन् २०२३ का फ्ल्यागशिप फोनहरूमा पनि पाउन सकिन्छ । जबकी सोही वर्ष सार्वजनिक भएका मिडरेन्ज फोनहरूमा भने त्यस्ता फिचरहरू अपडेटमा दिइएको छैन । २०२४ मै सार्वजनिक भएको ग्यालेक्सी ए ५४ मा समेत यो फिचर पाइदैन । 

 

महँगो भए पनि भरपर्दो हुन्छ 

पैसाको हिसाबले मिडरेन्ज भन्दा फ्ल्यागशिप फोन केही महँगा नै हुन्छन् । विशेषगरी आफ्नो बजेट कम भएको समयमा मिडरेन्जमा नै सीमित हुन मन लाग्छ । तर उत्कृष्टताका हिसाबले हेर्ने हो भने फ्ल्यागशिप फोनको लागि केही बढी पैसा तिर्नु न्यायोचित पनि हुन सक्छ । हाइ रेजोलुसन डिस्प्ले, आँखामैत्री स्क्रिन र लाइट, घाममा पनि प्रस्ट देखिने उज्यालो स्क्रिन, छिटो चार्ज हुने अनि लामो समय ब्याट्री टिक्ने, फोन नतात्ने, लगायतका फिचरहरू आजको आवश्यकता नै बनिसकेका छन् ।

यससँगै वायरलेस चार्जिङ पनि आजको दैनिकीको अर्को महत्त्वपूर्ण पक्ष हो । यस्ता विभिन्न कारणहरूले गर्दा मिडरेन्ज भन्दा फ्ल्यागशिपमा जानु नै उपयुक्त हुनसक्छ । अर्कोतिर सबै फ्ल्यागशिप फोनहरू महँगा हुन्छन् भन्ने पनि हुँदैन । कम्पनी अनुसार फ्ल्यागशिप फोनहरूको मूल्य फरक पर्न सक्छ । यदि तपाईँको लागि ग्यालेक्सी एस२५ अल्ट्रा महँगो पर्छ भने तपाईँ वनप्लसको फ्ल्यागशिप फोन वनप्लस १३ छनोट गर्न पनि सक्नुहुन्छ । 

-एन्ड्रोइड पुलिस

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ २०:३७