close

पहिला हप्तामा ४/५ हजार पेट्रोलमा जान्थ्यो, ईभी लिएपछि ३०० पनि खर्च हुँदैनः सरोज खनाल

असार १२, २०८० ११:१४

पहिला हप्तामा ४/५ हजार पेट्रोलमा जान्थ्यो, ईभी लिएपछि ३०० पनि खर्च हुँदैनः सरोज खनाल

नेपालका ठूला शहर हेरौं: काठमाडौं, पोखरा, चितवन । जताततै प्रदुषण मात्रै छ । प्रदूषण कम गर्न विद्युतीय सवारी साधन (ईभी)ले ठूलै भूमिका खेल्छ । 

हामीले चढ्ने गाडीहरू ७० प्रतिशत ईभी भइदिए प्रदूषण निकै कम हुन्छ । त्यसैले मैले आठ महिना अघि मात्र टाटाको नेक्सन ईभी डार्क एडिसन किनें । 

अहिलेसम्म यसमा मैले ५१०० किलोमिटर यात्रा गरें । गाडी लिएको केही महिनापछि अमेरिका जानु पर्‍यो । त्यहाँ साढे दुई महिना जति बसें ।

अर्को कुरा म सुटिङमा गइरहनु पर्छ । तर सुटिङमा जाँदा प्रोडक्सनले नै गाडी उपलब्ध गराउँछ । त्यसैले मेरो यो गाडी त्यति धेरै चल्दैन । 

अमेरिका गएको बेला क्यालिफोर्निया घुम्न निस्किएको थिएँ । त्यहाँ टेस्ला गाडी बन्छ । मेरो एक जना साथीले टेस्ला किन्नु भएको रहेछ । केही समय पछि सरकारले त्यसको मूल्य १८ हजार डलर कम गरिदियो ।

त्यसबेला म त्यही थिएँ । ईभीलाई प्रोत्साहन गर्न सरकारले त्यसो गरेको रहेछ । काठमाडौंमा गाडीहरूले धेरै प्रदुषण निम्त्याइरहेको सबैलाई थाहा छ । अमेरिकामा वातावरण प्रदूषण गर्ने गाडीलाई तुरुन्तै कारवाही हुन्छ । तर हामीसँग त्यस्तो कुनै नीति छैन ।

हामी कलाकारहरूले ईभी चढ्न सुरु गरे अरूलाई प्रोत्साहन मिल्छ भन्ने लाग्छ । मैले ईभी लिंदा के हो के हो भन्ने वातावरण थियो । लोडसेडिङ त हट्यो, तर गाडीको पर्फमेन्स कस्तो हुन्छ, थाहै थिएन । धेरैले ईभी किनेका थिएनन् ।

तर म त्यस्तो अलमलमा थिइनँ । एमजी, बीवाईडी, हुन्डाई आदि तेस्रो मुलुकबाट आयात हुने अथवा भारतमा एसेम्बल भएर भित्रिने गर्छन् ।  तर टाटाको जन्म भारतमै भएको हो । भविष्यमा यो गाडीको कुनै भाग बिग्रियो भने बनाउन सजिलो छ ।

 

मेन्टिनेन्स खर्च पनि कम पर्छ । कोरिया र रक्सौलबाट सामान आउनुमा धेरै फरक छ । त्यसैले मैले टाटाको नेक्सन ईभी लिएको हुँ । 

त्यसबेला यो गाडी सेतो र निलो रङमा मात्र थियो । तर मैले अर्डर गरेको १५ दिनपछि टाटाले ‘ब्ल्याक अडिसन’ (कालो रङ भएको भेरियन्ट) निकाल्यो ।

मलाई कालो रङको गाडी निकै मन पर्छ । म अमेरिका बस्दा पनि कालै रङको गाडी मात्र चढ्थें । 

हुन त यसमा धुलो मैलो धेरै लाग्छ । सफा गर्‍यो भने टिलिक्क टल्किन्छ । सिप्रदीमा फोन गर्दा कालो ब्ल्याक एडिसनलाई दुई लाख रुपैयाँ बढी पर्छ भन्ने कुरा आयो । ४२ लाख त गइसक्यो, जाबो २ लाख त के भन्ने सोचें । 

आखिर घर गाडी भन्ने चिज बारम्बर किनिरहने कुरा भएन । मैले हुन्छ भनेर अर्डर गरें । १५ दिनपछि गाडी आयो । 

मैले पहिले अर्डर गरेको गाडी झिल्के थियो । जुन अहिलेको मेरो गाडी भन्दा दुई लाख कम पर्थ्यो । त्यसको सेतो र आकाशे निलो रङ मलाई मन परिरहेको थिएन ।

रङ बाहेक त सबै उस्तै छ, गाडीमा । बढी झिल्के भएर मात्र मन नपरेको हो । यसमा सबै कुरा कालो रङको छ । इन्टेरियर समेत कालो छ ।

कालो रङ भएकाले धेरैले चढ्ने कुरा पनि भएन । दुई महिनासम्म त कालो रङको नेक्सन ईभी मेरो मात्रै थियो काठमाडौंको सडकमा । चढ्दा मान्छेले को आयो भनेर हेर्थे । अहिले त थुप्रै छन् । 

गाडीमा हुने सुविधा अनुसार मूल्य तलमाथि हुन्छ । रङको लागि दुई लाख बढी तिर्दा त्यस्तो केही लागेको छैन । 

तर ‘सनरुफ’का लागि दुई लाख तिरेको भने काममा आएन । जाडो महिनामा केही काम लाग्यो । सुटमा गएको बेला गाडी भित्र बसेर घात ताप्न मिल्यो ।

बच्चाहरूले भने निकै रमाइलो मानिरहेका छन् । आफूले यस्तो गाडी उता अमेरिकामा पनि निकै चलाइयो । अहिले त्यति रूचि छैन ।

एक पटकको फुल चार्जमा कम्पनीले यो गाडी २५० किलोमिटर गुड्छ भनेको छ । आफैंले गाडी चलाउँदै जाँदा मैले थप कुरा बुझ्दै गइरहेको छु । यसले दिने रेञ्ज गाडी चलाउने तरिकामा भर पर्ने रहेछ ।

तपाईंले एक्सिलेटर थिच्दा कसरी थिच्नु हुन्छ,  प्यासेन्जर कति जना छन्, गाडीमा तौल कति छ भन्ने कुराले रेञ्ज फरक पार्ने रहेछ । म एक्लै चढ्दा एउटा रेञ्ज दिन्छ भने यात्रु बढी हुँदा कम हुन्छ। औसतमा २०० को आसपासमा यसले रेञ्ज दिइरहेको छ । 

म यो गाडीमा सबैभन्दा टाढा पोखरा पुगेको छु । चितवन त चार/पाँच पटक गइसकें । काठमाडौंबाट चितवन जाँदा बाटोमा चार्ज गर्नै पर्दैन । यसको कारण ओरालोमा रिभर्स चार्जिङ हुने रहेछ ।

म पहिलो पटक चितवन जाँदा १९८ किलोमिटर रेञ्ज बाँकी छ भनेर देखाएको थियो । तल त्रिशूली नजिकै पुग्दा २५० देखायो ।

५२ किलोमिटर कहाँबाट आयो भन्ने लागिरहेको थियो । पछि थाहा पाएँ, ओरालोमा रिभर्स चार्जिङ हुँदो रहेछ । तर फर्कँदा भने चार्ज गर्नु पर्छ । 

चितवनबाट काठमाडौं फर्कंदा धार्केमा चार्ज गर्छु भनेर आइरहेको थिएँ । मौसम प्रतिकूल थियो । गर्मीले गर्दा बिना एसी गाडी कुदाउन नसकिने । बाटोको हालत त्यस्तै, हिलो पानी ।

झ्याल पनि बन्द गर्नुपर्ने । पहिरो गयो भने म त बाटोमा अलपत्र पर्छु भन्ने लागेको थियो । यो गाडीको नराम्रो पक्ष भनेको ब्याट्री तह २९ प्रतिशतमा झर्नासाथ एसी बन्द हुन्छ ।

किनभने एसीले बढी ब्याट्री खपत गर्छ । बाटोमा केही समस्या भयो भने ब्याट्री चाहिन्छ भनेर मुग्लिनबाटै एसी बन्द गरिदिएँ । तर त्यस्तो केही भएन । म धार्के पुग्दा १९ प्रतिशत ब्याट्री बाँकी नै थियो ।‍

धार्के र कुरिनटारमा नेक्सनलाई मात्र सुहाउने चार्जिङ स्टेसन छ । तर त्यसरी इन्डिभिजुअल चार्जिङ स्टेसन बनाउनु भन्दा सबै कम्पनी मिलेर धेरै ठाउँमा सबैलाई हुनेगरी बनाइदिए ग्राहकलाई सजिलो हुने थियो । चार्जिङ स्टेसन बनाउन त्यति धेरै पैसा पनि पर्दो रहेन छ ।

चार्जिङ स्टेसनमा एक घण्टामा गाडी फुल चार्ज हुन्छ । घरमा भने आठसम्म घण्टा लाग्छ । विद्युत प्राधिकरणले ‘पिक आवर’ बाहेक अन्य समयमा प्रति युनिट ५ रुपैयाँ शुल्क लिन्छ ।

त्यसो हुँदा १५० रुपैयाँमै गाडी फुल चार्ज गर्न सकिन्छ । मैले घरमा चार्ज गर्दा भने ३०० रुपैयाँ लाग्छ । किनभने म जहाँ बस्छु, त्यो प्राइभेट कोलोनी हो । मैले १७ रुपैयाँ प्रति युनिट तिर्नुपर्छ ।

तर चार्जिङ स्टेसनबाट चार्ज गर्दा मैले एक युनिटमा १२ रुपैयाँ बचत गर्न सक्छु । सबै कम्पनी मिलेर  संयुक्त चार्जिङ स्टेसन बनाइदिए २/४ वर्षमा ‘फोसिल फ्युल’ गाडी चढ्नेहरू मध्ये २५ प्रतिशत ईभी चढ्नुहुन्छ । 

मलाई यो गाडीको मन पर्ने फिचर भनेकै पैसा जोगाइदिने पाटो हो । पहिले हप्तामा ४/५ हजार रुपैयाँ पेट्रोलमा खर्च हुन्थ्यो । अहिले ३०० पनि हुँदैन । कहाँको हजार, कहाँको सय !

अर्को ‘मेन्टिनेन्स’मा त खर्च नै भएको छैन भन्दा फरक पर्दैन । यसमा इन्जिन छैन । पहिलो पल्ट गाडी १५०० गुडेपछि सर्भिसिङमा लानु पर्ने रहेछ । त्यस बेलाको मेरो अनुभव पनि गज्जबको छ ।

पहिलो दिन म सर्भिस सेन्टर गएको थिएँ । थाहा थिएन, अपोइन्टमेन्ट लिएर जानुपर्दो रहेछ । उहाँहरूले केही घण्टा पर्खिन नभए भोलिपल्ट आउनुस् भन्नु भयो । मैले भोलि बिहान ९ बजे आउँछु भनेर अपोइन्टमेन्ट लिएँ ।

टाटाको बागडोल, बालकुमारी लगायत दुई/तीन ठाउँमा सर्भिस सेन्टर छ । अब ११ हजार किलोमिटर पार गरेपछि ‘ब्रेक आयल’का लागि सर्भिसिङमा लानु पर्नेछ । किनकी ब्रेक त छ । 

सवारी सुरक्षाको विषय चालकमा भर पर्छ । म १७ वर्ष अमेरिका बस्दा एउटा पनि गल्ती गरिनँ । मेरा छोराहरूले भने यति गल्ती गर्थे कि उनीहरूको कारबाहीको जरिवाना तिर्दा मेरो आधा महिनाको तलब सकिन्थ्यो ।

त्यहाँ त सबै क्यामेराले खिच्छ । भौतिक रूपमा भेट नै हुनु पर्दैन । एकै चोटी घरमा ‘यो गल्ती गरिस्, तैंले यति तिर्नु पर्छ’ भनेर आउँछ । झगडा गर्ने पनि कुरा भएन । 

मैले ईभी किनेपछि हाम्रो परिवारमा लहर नै आयो । मपछि ठुल्दाइले नेटा भी किन्नु भयो । माइला दाइको छोराले बीवाईडी लियो ।

साइला दाइको छोरोले पनि किया लिनेवाला छ । तर फिल्म क्षेत्रमा के भयो भन्ने थाह छैन । यद्यपि ईभी प्रतिको सोच भने परिवर्तन हुनु आवश्यक छ ।    

पछिल्लो अध्यावधिक: असार १२, २०८० ११:१४