काठमाडौं । जीडब्लूएम सवारीसाधनका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग यसको इन्टर्नल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ ।
सम्झौता पत्र अनुसार ग्राहकले नबिल बैंकमार्फत कुनै पनि जीडब्लूएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । नबिल बैंकले आईसीई मोडेललाई १२.९० प्रतिशत र ईभीको लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने छ ।
दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातसहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिनसक्ने बताइएकाे छ ।
नेपाली बजारमा विद्युतीय गाडी ओरा ०३ को मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । अगाडि गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू रहेकाे याे गाडीलाई १०० प्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको कम्पनीले जनाएकाे छ ।
यसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम ) टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायतका सुरक्षा सुविधा छन् ।
गाडीमा ४७.७८ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री, ४०० किमिसम्मको अधिकतम रेन्ज, ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटर रहेकाे छ ।