काठमाडौं । एप्पल ३० खर्ब डलर सम्पत्ति हुने संसारको एक मात्र कम्पनी बनेको छ । शुक्रबार कम्पनीको स्टक २.३ प्रतिशतले बढ्दा प्रति शेयर मूल्य १९३.९७ डलर पुगेको छ, जसले गर्दा १७ अर्ब ७० करोड शेयर भएको एप्पलको सम्पत्ति ३० खर्ब नाघेको हो ।
यसो त एप्पलले ३० खर्ब डलर सम्पत्तिको लक्ष्य पार गरेको यो पहिलो पटक होइन । यसअघि ३ जनवरी २०२२ मा पनि एप्पलको शेयर मूल्य ३० खर्ब नाघेको थियो । तर, उक्त शेयर मूल्य पछि घट्दै गयो र २०२३ को सुरुवातमा २० खर्ब डलर हाराहारी पुग्यो ।
कम्पनीले हालै तीन हजार ४९९ डलरबाट सुरु हुने हेडसेट डिभाइस भिजन प्रो सार्वजनिक गरेको थियो । प्रविधिको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने प्रडक्टका रूपमा विश्लेषण गरिएको सो हेडसेटको चर्चाले नै कम्पनीको शेयरमूल्य आकाशिएको समाचार एजेन्सी एपीले जनाएको छ ।
३० खर्ब डलर भनेको यति धेरै सम्पत्ति हो, जसलाई खर्च गर्दा अमेरिकामा ९० लाख बढी घरहरू खरिद गर्न सकिन्छ । त्यस्तै विश्वका ५० ओटा प्रमुख स्पोर्ट्स टिम समेत यो रकमले खरिद गर्न सकिन्छ । यसैगरी अमेरिकाका हरेक नागरिकलाई उक्त रकम बाँड्ने हो भने एक जनाले करिब नौ हजार डलर पाउँछ ।
अहिले २० खर्ब ५० अर्ब डलर शेयर मूल्यका साथ माइक्रोसफ्ट दोस्रो स्थानमा छ । त्यस्तै तेस्रो स्थानमा साउदीको तेल उत्पादक कम्पनी अराम्को छ । यसको मार्केट भ्यालु २० खर्ब आठ अर्ब डलर रहेको छ ।
त्यस्तै गुगलको मातृ कम्पनी अल्फाबेट, अमेजन र एनभिदिया १० खर्ब बढी मार्केट भ्यालु हुने कम्पनी हुन् ।
दुई वर्षअघि १० खर्ब मार्केट भ्यालु भएको एप्पलले यो अवधिमा २० खर्ब डलर मार्केट भ्यालु वृद्धि गरेको छ । स्टिभ जब्स र स्टिभ वाज्नियाकले सन् १९७६ मा कम्प्युटर निर्माता कम्पनीका रूपमा एप्पल स्थापना गरेका थिए ।
आन्तरिक विवाद हुँदा सन् १९८५ मा संस्थापक स्टिभ जब्स कम्पनीबाट निकालिए । त्यसको १२ वर्षपछि एप्पलले दयनीय अवस्थाको सामना गरेपछि स्टिभ जब्सलाई पुनः कम्पनीमा बोलाइयो । त्यसपछि सन् २००१ मा म्युजिक प्लेयर डिभाइस एयरपड उत्पादन गरी बिक्री हुन थालेपछि कम्पनीले नयाँ लय समातेको थियो । त्यसपछि सन् २००७ जनवरी ९ मा एप्पलले पहिलो स्मार्टफोन ‘आईफोन’ सार्वजनिक गरेको थियो ।