close

अनलाइनबाट किसानले बिना धितो ५ मिनेटमै ऋण पाउने

टेकपाना टेकपाना

असार १६, २०८० २२:३९

अनलाइनबाट किसानले बिना धितो ५ मिनेटमै ऋण पाउने

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको सुरुवात भएको छ । बैंक र खेती एपको सहकार्यमा पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जा सुरु भएको हो ।

यस सुविधामार्फत किसानले खेती एपको नयाँ फिचर 'एनएमबि खेती कर्जा' मा आवेदन दिई पाँच मिनेटभित्रै कर्जा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

वित्तीय पहुँचबाट वञ्चित किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरुन् भन्ने उद्देश्यले यी दुई संस्थाकाे सहकार्यमा नेपालमै पहिलाे पटक डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा ल्याइएकाे हाे ।

किसानहरूले आफूलाई आवश्यक कृषि बिउबिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरू खरिद गर्न यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेश गर्नुपर्ने झन्झट व्यहोर्नुपर्ने हुँदैन ।

यो कर्जा पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङकन गरेर स्वीकृति गरिनेछ भने ग्राहकहरुले तीन महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्को कर्जा पनि तुरुन्तै प्राप्त गर्नसक्ने जनाइएकाे छ ।

कर्जा प्राप्त गर्न ग्राहकले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्छ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्त्वपूर्ण चरणहरुमा पूर्ण सहभागी भएको हुनुपर्ने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० २२:४५