close

एआईले बनाएको भिडिओ कसरी पत्ता लगाउने ?

टेकपाना टेकपाना

असार १७, २०८० १५:११

एआईले बनाएको भिडिओ कसरी पत्ता लगाउने ?

काठमाडौं । भिडिओ सम्पादन आजको दिनमा शब्द सम्पादन गरे जत्तिकै सहज भएको छ । विभिन्न अनलाइन टुलहरु प्रयोग गरेर कुनै पनि व्यक्तिको भिडिओलाई आफूले चाहेजस्तै बनाउन सकिन्छ । 

यसरी भिडिओ सम्पादन गरेर मानिसले बोलेको जस्तै गरी तयार गरिएको भिडिओलाई डिपफेक भनेर चिनिन्छ । डिपफेक टुलहरूमा माध्यमबाट भिडिओमा भएका शब्द सम्पादन गर्न, नयाँ शब्दहरू राख्न, भिडिओमा भएका अनावश्यक कुराहरू हटाउन वा एउटा व्यक्तिको अनुहारमा अर्को व्यक्तिको अनुहार मिलाएर राख्न सकिन्छ । 

यसरी सामान्य तरिकाले जसले पनि जस्तोसुकै भिडिओ बनाउन सक्ने भएपछि इन्टरनेटमा नक्कली भिडओको सङ्ख्या बढेको छ । 

नेपालको सन्दर्भमा डिपफेक प्रविधिबाट भिडिओ म्यानुपुलेट (तोडमोड) गर्ने घटना त्यति देखिदैनन् । तर, प्रविधिको व्यापक प्रयोग बढिरहेको अवस्थामा कुनै पनि विकृति भित्रिन त्यति समय लाग्दैन । 

यस विषयमा टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सचेत हुन अनुरोध गरेका छन् ।

“साइबर ब्युरोमा डिपफेक प्रविधि प्रयोग गरी भिडिओ बनाएर त्यसको दुरुपयोग गरेका उजुरी परेका छैनन्,” रायले भने, “विशेषगरी फोटो एडिट गरी ब्ल्याकमेल गर्ने घटना नै बढी छन् । तर, बाहिर बढी प्रयोग भएको प्रविधि नेपालमा पनि प्रयोग हुँदै गइरहेकाले पहिल्यै सजग हुनुपर्छ ।”

यसरी नक्कली कन्टेन्ट फैलिरहेको अवस्थामा कुनै पनि भिडिओ नक्कली हो वा होइन भनेर थाहा पाउनु आवश्यक हुन्छ । आज हामी कुनै पनि भिडिओ नक्कली हो वा होइन भनेर कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । 

भिडिओमा व्यक्तिको अनुहारको हाउभाउ ख्याल गर्नुहोस्

डिपफेकबाट बनाइएका भिडिओ वास्तविक जस्तो देखिने हुँदा झट्ट हेर्दा मानिसले उक्त भिडिओ सक्कली वा नक्कली हो भनेर छुटाउन सक्दैन । तर यस्तो भिडिओ सटिक भने देखिदैँन । त्यसैले भिडिओमा देखिने अनुहारको चालबाट भिडिओ नक्कली वा सक्कली हो भन्ने कुरा पहिचान गर्न सकिन्छ । 

विशेषगरी जति प्राकृतिक आँखाको चाल हुन्छ एआईले त्य‍ति सटीक र प्राकृतिक बनाउन सक्दैन भन्ने विज्ञहरूको धारणा छ । त्यसैले शरीरको हाउभाउ र आँखाको चाल हेरेर भिडिओ नक्कली हो वा होइन भन्ने कुरा पहिचान गर्न सकिन्छ । 

ध्यान दिएर भिडिओको आवाज सुन्नुहोस् 

डिपफेकले अडियोभन्दा भिजुअल भागलाई बढी प्राथमिकता दिन्छ । त्यसैले भिडिओमा सुनिएको आवाज र भिडिओमा चलेका कन्टेन्ट एक आपसमा कति मिल्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ ।

डिपफेक भिडिओमा अनौठो तरिकाले शब्द उच्चारण गरिएको हुन्छ, त्यस्तै ब्याकग्राउन्ड न्वाइज आएको छ, लिपसिङ्क मिलेको छैन भने भिडिओ नक्कली हो कि भन्ने आशंका गर्न सकिन्छ । 

त्यस्तै डिपफेकमार्फत नयाँ भिडिओभन्दा पनि पहिले नै भएको भिडिओलाई परिमार्जन गरिएको हुन्छ । तपाईंले पाएको भिडिओमा भएका फुटेजहरू अन्त कतै प्रयोग भएका छन् वा छैनन् भन्ने ख्याल गर्नुपर्छ । त्यसैले भिडिओमा आवाज र फुटेजमा बढी ध्यान दिनुपर्छ । 

भिडिओमा देखिएको व्यक्तिको शरीरको हाउभाउ

यदि भिडिओमा शरीरको हाउभाउ एकनासको छ, अप्राकृतिक देखिन्छ भन्ने त्यस्तोमा भिडिओ नक्कली हो भन्ने शंका गर्न सकिन्छ ।

त्यस्तै यदि भिडिओमा व्यक्तिको शरीर र टाउको सही तरिकाले मेल खाएको छैन भने पनि भिडिओ डिपफेकबाट बनाइएको हो भन्ने पहिचान गर्न सकिन्छ ।

डिपफेकले मानिसको अनुहारमा बढी केन्द्रित हुँदा शरीरको हाउभाउसँग अनुहार मिलाउन चुकेको हुन्छ । त्यसैले शरीर र अनुहारको भाव भिन्नै देखिएको अवस्थामा भिडिओ नक्कली हो भन्ने पहिचान गर्न सकिन्छ । 

बोलेका शब्दहरू ख्याल गर्नुहोस्

डिपफेक भिडिओमा प्रायः अनावश्यक शब्दहरू राखिएको हुन्छ । विशेषगरी वास्तविक आवाज र भिडिओमा राख्नुपर्ने आवाज केही भिन्नै बनाउनुपर्ने भएकाले डिपफेकले आफै केही समावेश गर्छ ।

यी शब्द त्यस्ता शब्द हुन्छन् जो भिडिओमा भएको भाषाभन्दा फरक भाषाका हुन्छन् । यस्तोमा तपाईंले कहिल्यै नसुनेको वा खोज्दा पनि नभेटेको शब्द राखिएको छ भने भिडिओ नक्कली हो भन्ने पहिचान गर्न सकिन्छ । 

अनावश्यक वा कहिल्यै नसुनेका शब्द भिडिओमा पहिचान गर्ने कुरा गाह्रै काम हो । किनभने डिपफेक प्रविधिले भिडिओ यसरी बनाइदिन्छ कि त्यो नक्कली हो भन्नै सकस पर्छ ।

यद्यपि यस्ता थुप्रै तरिका छन् जसको सहायताले आफूलाई डिपफेकको आडमा गरिने ब्ल्याकमेलबाट बचाउन सकिन्छ । त्यसैले यसबाट जोगिन सबैभन्दा पहिले भिडिओमा देखिएका कन्टेन्टहरू कत्तिको वास्तविक हो भन्ने जाँच गर्नुपर्ने हुन्छ ।

त्यसबाहेक पनि कन्टेन्ट आधिकारिक साइटहरू, सोसल मिडियाका आधिकारिक पेजबाट आएका छन् भने मात्र विश्वास गर्नुपर्छ । यसरी भिडिओमा देखिएका विभिन्न कमजोरीलाई आधार बनाएर भिडिओ फेक हो वा रियल हो भन्ने कुरा पहिचान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८० १५:११