close

यी १० कारणले अरु प्लेटफर्मभन्दा टिकटक नै राम्रो

टेकपाना टेकपाना

असार १९, २०८० १३:२३

यी १० कारणले अरु प्लेटफर्मभन्दा टिकटक नै राम्रो

काठमाडौं । समय समयमा ट्रेन्डिङमा चल्ने खराब च्यालेन्जले टिकटकलाई बदनाम बनाएको छ । गिफ्ट पाउनकै लागि क्रियटरले अपाच्य हर्कत गर्ने, चर्चा पाउनका लागि असान्दर्भिक सामग्री राख्ने प्रवृत्ति बढ्दो छ । यद्यपि यो टिकटकको एउटा पाटो हो । सामाजिक सञ्जालका विभिन्न बेफाइदा हुन्छन्, त्यसमा दुई मत छैन ।

टिकटकमा बढी असान्दर्भिक भिडिओ देख्दा तपाईंलाई पनि आफ्नो अकाउन्ट डिलिट गर्न मन लागेको हुनसक्छ । तर, सामाजिक सञ्जालको माध्यम भएकाले यसका कैयौं फाइदालाई नजरअन्दाज गर्न सकिँदैन । आज हामी टिकटकलाई कुन कुराले यति चर्चित बनायो, यसले तपाईंलाई के कुरामा फाइदा पुर्‍याउन सक्छ भन्ने विषयमा चर्चा गर्दैछौं । 

१) प्रयोगकर्तालाई अनुकूल हुने सान्दर्भिक भिडिओ ल्याउने टिकटकको एल्गोरिदम

अन्य सामाजिक सञ्जालभन्दा टिकटकको एल्गोरिदम भिन्नै छ । यो प्लेटफर्मले मसिन लर्निङ प्रयोग गरेर प्रयोगकर्ताको फिड (फर योर पेज) मा उनीहरूले रुचाउने भिडिओ पुर्‍याउँछ । टिकटकको उक्त एल्गोरिदमले आफ्ना प्रयोगकर्ताले कस्तो भिडिओ रुचाउँछन् वा कस्तो भिडिओ रुचाउँदैनन् भन्ने कुरा पहिचान गर्छ । यस्ता कुरामा बढी केन्द्रित भएको यो प्लेटफर्मले प्रयोगकर्तालाई रुचाउने भिडिओ पठाउँछ । 

उदाहरणका लागि तपाईंलाई प्रविधितर्फ रुचि छ र प्रविधिसँग सम्बन्धित कुराहरू सर्च गर्नुभयो । र, सर्च रिजल्ट वा फिडमा आएका कुनै भिडिओ केही बेर हेर्नुभयो, लाइक, कमेन्ट, सेभ वा शेयर गर्नुभयो भने टिकटकको एल्गोरिदमले तपाईंलाई त्यस्तै भिडिओ सुझाव दिन्छ । त्यसैले जति धेरै सूचनामूलक भिडिओ हेर्नुभयो तपाईंको फिडमा त्यति नै धेरै सूचनामूलक भिडिओ सुझाव आउँछन् । 

२) सामान्य र सान्दर्भिक सामग्री राख्दा चर्चित हुन सकिन्छ

टिकटकमा सामान्य मान्छे पनि सबैलाई सान्दर्भिक लाग्ने कन्टेन्ट बनाउन सक्छ । त्यसका लागि राम्रो सेटअप, महँगा क्यामेरा वा रङ्गीचङ्गी स्टुडियो आवश्यक पर्दैन । भिडिओको गुणस्तर कम भए पनि व्यक्तिले दिन खोजेको सन्देश राम्रो छ भने उसको सामग्री जसले पनि रुचाउन सक्छ । त्यसैले राम्रो सामग्री राख्ने मान्छे इन्टरनेटको पहुँचमा छ भने चर्चा पाउने निश्चित छ । 

सामान्य मानिसहरू पनि टिकटककै कारण सेलिब्रेटी बन्छन् भन्ने उदाहरण पनि धेरै छन् । उनीहरूले राम्रा कन्टेन्टहरू राखिदिँदा धेरैले रुचाएका हुन्छन् । त्यसैले तपाईं सान्दर्भिक कन्टेन्ट बनाउनु हुन्छ भने केही समयपछि तपाईं टिकटकमा सफल हुन सक्नहुन्छ । 

यो नै टिकटकको सबैभन्दा प्रमुख विशेषता हो । त्यसैले राम्रा कन्टेन्ट बनाउनु हुन्छ भने बनाउन नछोड्नुहोस् । 

३) युजर फ्रेन्ड्ली टिकटक

टिकटक युजर फ्रेन्ड्ली प्लेटफर्म हो भन्ने कुरामा कुनै आशंका छैन । यसमा भएको इन्टरफेस प्रयोग गर्न सहज छ । विशेषगरी आँखा तान्ने थिम, सबै फिचरहरू एकै पटक प्रयोग गर्न सकिने हुनाले यो प्लेटफर्ममा प्रयोगकर्ताको ईन्गेजमेन्ट बढ्दो छ । 

कुनै मानिसले पहिलो पटक टिकटक प्रयोग गर्दै छ भने पनि उसले सहजै उक्त प्लेटफर्म प्रयोग गर्न सक्छ । यही आधारभूत विशेषताले पनि टिकटकमा प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दो छ । 

तपाईंले टिकटकमा आफूले पहिले हेरिसकेका भिडिओ पुनः हेर्न सक्नुहुन्छ । आफूले चाहे जस्तै भिडिओ एडिट गर्न सक्नुहुन्छ । त्यसमा भएका इफेक्टहरू निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक टिकटकका यस्ता गोप्य फिचरहरू छन् जसले तपाईंलाई आकर्षक भिडिओ बनाउन सघाउँछ । 

४) तपाईंले पछिल्ला ट्रेन्डहरू पछ्याउन सक्नुहुन्छ

टिकटकमा प्रयोगकर्ताको सङ्ख्या बढेसँगै इन्टरनेटमा आएका ट्रेन्ड सबैभन्दा पहिले टिकटकबाटै थाहा हुन्छ । त्यसैले पनि यो प्लेटफर्मलाई ट्रेन्डसेटर पनि भन्ने गरिन्छ । टिकटकमा भिडिओ हालेकै कारण भिडिओ भाइरल हुन्छ । भिडिओ बनाउनेहरूले त्यही भाइरल ट्रेन्डमा भिडिओ सामग्री बनाउँछन् । 

टिकटकमा आएका राम्रा ट्रेन्डहरू पछ्याउँदा आफू भाइरल हुने सम्भावना पनि उत्तिकै हुन्छ । 

टिकटकबाटै फेसन, प्रविधि, कृषि, स्वास्थ्य राजनीति लगायतका जानकारी पाइन्छ । विशेषगरी राम्रा वा आफूलाई हानी नहुने ट्रेन्ड पछ्याउँदा तपाईंप्रति समाजमा राम्रो प्रभाव पर्छ । 

५) आफू पनि समुदायको सदस्य भएको भान हुन्छ

पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोगले मानिस समाजप्रति कम जिम्मेवार हुँदै गएका छन् । वा भनौं इन्टरनेटले मानिसलाई समाजभन्दा पर धकेलिरहेको छ । यस्तोमा तपाईंले टिकटक प्रयोग गरिरहनु भएको छ भने समाजमा भइरहेका घटनाबारे थाहा पाउनु हुन्छ । यसरी समाजका विभिन्न गतिविधीमा आफूलाई अपडेट गराउन सकियो भने सामाजिक प्राणी भएको आभास हुन्छ । 

त्यसबाहेक पनि आफूलाई तनाव भएको अवस्थामा सामाजिक सामग्री हेरेर मन भुलाउन सक्नुहुन्छ । सन् २०२० मा कोभिड महामारी बढ्दो विभिन्न सेलिब्रेटीले आफ्ना समर्थकसँग अन्तरक्रिया गरेका थिए । 

६) रचनात्मक क्षमता वृद्धि गर्न सहयोग गर्छ

टिकटकमा सक्रिय प्रयोगकर्ताको सङ्ख्ता बढ्दो छ । त्यसले हाम्रोमा फलोअर छैनन् भने पनि कन्टेन्ट राम्रो छ भने राम्रै रिच आइरहेको हुन्छ । जति धेरै रिच आयो वा भनौं जति धेरैले आफूले बनाएका सामग्री हेरे त्यति नै आफूलाई भिडिओ बनाउने आत्मबल बढ्छ ।

भिडिओ बनाउँदा राम्रो प्रभाव पार्ने, आफूसँग भएको क्षमता अभिवृद्धि हुने भएपछि प्रयोगकर्तालाई रचनात्मक भिडिओ बनाउने उत्साह जाग्छ । त्यसैले टिकटकलाई राम्रोसँग सदुपयोग गर्न सकियो भने रचनात्मक क्षमता वृद्धि हुन्छ । 

७) रमाइला सामग्री पाइने प्लेटफर्म

समय बिताउनका लागि टिकटक उपयुक्त प्लेटफर्म हो भन्दा फरक नपर्ला । किनभने टिकटकमा फर योर पेज फिड मिम र रमाइला सामग्रीले भरिएको हुन्छ । 

रमाइला सामग्री मन नपर्ने मानिसहरू सायदै होलान् । रमाइला सामग्रीमा विकृति देख्नेहरू पनि हुन्छन् । त्यसैले कस्ता सामग्रीलाई रमाइला सामग्री मान्ने भन्ने प्रश्न पनि उठ्छ ।

न्यु योर्क टाइम्सले एक रिपोर्ट सार्वजनिक गर्दै मिमरहरू अन्य प्लेटफर्मभन्दा टिकटकमा बढेको बताएको थियो । अहिले इन्टरनेटमा रमाइला सामग्री पाउने प्लेटफर्मका रूपमा टिकटक नै चिनिन्छ । तसर्थ तपाईंले टिकटकलाई रमाइला सामग्री हेर्ने प्लेटफर्मका रूपमा पनि लिन सक्नुहुन्छ ।

८) सबै उमेर समूहका लागि उपयुक्त प्लेटफर्म टिकटक 

टिकटक सबै क्षेत्र र वर्गका प्रयोगकर्ताका लागि उपयुक्त प्लेटफर्म हो । टिकटकमा आउने कन्टेन्ट सबै उमेर समूहका प्रयोगकर्ताका लागि सान्दर्भिक नै हुन्छ । यसो त टिकटकमा प्रायः सानो उमेर समूहका बालबालिकाले बढी भिडिओ बनाइरहेका हुन्छन् । त्यही समयमा यता युवाहरूले पनि आफ्नो विचारसँग मिल्ने हजारौं कन्टेन्ट भेटाइरहेका हुन्छन् । 

वालारुम मिडियाका अनुसार अमेरिकामा मात्र १५ करोड बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेका छन् । त्यस्तै कूल प्रयोगकर्ताको ६० प्रतिशत १६ देखि २४ वर्ष उमेर समूहका छन्, २६ प्रतिशत २५ देखि ४४ वर्ष उमेर समूहका छन् र ८० प्रतिशत १६ देखि ३४ वर्ष उमेर समूहका छन् । 

९) नयाँ ठाउँ र नयाँ सस्कारका बारेमा सिक्न पाइन्छ

टिकटकमा नयाँ ठाउँ र नयाँ संस्कारबारे हजारौं सामग्री रहेका छन् । टिकटकमा विश्वका हरेक क्षेत्रका फरक फरक धर्म मान्ने मानिसहरू जोडिएका हुन्छन् । त्यसैले टिकटकमा आउने सामग्रीमा पनि उनीहरूको भाषा, धर्म, खानपान र संस्कार जोडिएको हुन्छ । त्यसैले टिकटक हेर्दा नयाँ ठाउँ, नयाँ संस्कार, नयाँ रितिरिवाज आदिका बारेमा थाहा पाउन सकिन्छ । 

१०) ठूलो अडियन्समाझ पुग्ने उपयुक्त प्लेटफर्म 

तपाईंले आफ्ना भावना बाँड्नुपर्‍यो, आफूसँग भएको क्षमता बाहिर ल्याउन पर्‍यो, धेरै मानिसहरूमाझ आफूलाई चिनाउनु पर्‍यो भने टिकटक उपयुक्त विकल्प हो । तपाईंको अकाउन्टमा एक जना फलोअर छैन भने पनि तपाईंको कन्टेन्ट हजारौं अडियन्समाझ पुग्छ ।

यदि तपाईंले राखेको कन्टेन्ट राम्रो, समय सान्दर्भिक,  ज्ञानवर्धक छ भने थोरै समयमा नै त्यो भिडिओ हजारौं अडियन्समाझ पुग्छ । सीएनबीसीका अनुसार विश्वभर टिकटकका एक अर्ब सक्रिय प्रयोगकर्ता छन् । तपाईं सानो भूगोलमा हुनुहुन्छ भने पनि टिकटक मार्फत विश्वभरका अडियन्समाझ पुग्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८० १४:५