close

यस्तो छ सबैले पढ्न मिल्ने त्रिविको सस्तो आईटी कोर्ष ‘बीआईसीटीई’

असार १९, २०८० १६:११

यस्तो छ सबैले पढ्न मिल्ने त्रिविको सस्तो आईटी कोर्ष ‘बीआईसीटीई’

ब्याचलर अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्ष त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले सञ्चालन गर्ने गर्छ । यो माध्यमिक तह (कक्षा ११/१२) मा जुनै विषय पढेका विद्यार्थीले भर्ना हुन पाउने शैक्षिक कार्यक्रम हो । 

के हो बीआईसीटीई ?

सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षा शास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीन वर्षे बीएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो ।

एक वर्षपछि आठ सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मा त्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे (९ सेमेस्टर) बनायो ।

यस समयसम्म बीएड आईसीटी देशका १४ क्याम्पसमा सञ्चालन भइरहेकाे थियाे । पुन: बीएड आईसीटीलाई सन् २०२१ मा परिमार्जन गर्दै बीआईसीटीई बनाइयो ।

हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो । तर अहिले यी दुवै कोर्ष सञ्चालनमा छन् ।

पाठ्य संरचना

तीन वर्षे बीएड आईसीटी कोर्षमा कूल पर्णाङ्क १५०० थियो । जसमा ८०० अंकको आईटी कोर्ष थियो । सो कोर्षको पहिलो वर्ष ‘कम्प्युटर फन्डामेन्टल एन्ड प्रोग्रामिङ’ र ‘बेसिक हार्डवेयर, सफ्टवेयर एन्ड सी प्रोग्रामिङ’ पढाइ हुन्थ्यो ।

दोस्राे वर्ष ‘एमआईएस, डेटा स्ट्रक्चर एन्ड रिसेन्ट टेक्नोलोजी’, ‘कम्युनिकेसन एन्ड साइबर ल’ र ‘टिचिङ आईसीटी’, ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ एन्ड डेटाबेस’को पढाइ हुन्थ्यो ।

त्यस्तै तेस्रो वर्ष ‘ग्राफिक्स, न्युमेरिकल मेथड एन्ड सफ्टवेयर इन्जिनियरिङ’, ‘ई-लर्निङ’ र ‘जाभा एन्ड डट नेट टेक्नोलोजी’ विषय पठनपाठन हुन्थे । 

सन् २०१५ मा पुन:संरचना गरिएको कोर्षलाई १३८ क्रेडिट आवरको बनाइयो । जसमा कोर आईटी विषय ४३ प्रतिशत (६० क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स २२ प्रतिशत (३० क्रेडिट), प्रोफेसनल एजुकेसन १७ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क र इन्टर्नशिप ९ प्रतिशत (१२ क्रेडिट) राखियो । 

त्यस्तै परिमार्जित पाठ्यसंरचना अनुसार भने बीआईसीटीईमा कोर आईटी विषय ५२ प्रतिशत (६९ क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स ११ प्रतिशत (१५ क्रेडिट), प्रोफेसनल एजुकेसन १८ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क तथा इन्टर्नशिप (६ क्रेडिट) र लाइफ स्किल ५ प्रतिशत (६ क्रेडिट ) विषयहरू अध्यापन हुने गर्छ ।

कस्ता छन् पढाइ हुने विषय ?

कोर्षमा आईटी तथा नन्आईटीका विभिन्न विषय समावेश गरिएकाे छ । तल तीबारे संक्षिप्तमा चर्चा गरिएको छ: 

-कोर आईटी

पहिलो सेमेस्टरमा ‘आईटी एन्ड प्रोग्रामिङ कन्सेप्ट विथ सी’, दोस्राे सेमेस्टरमा ‘डिजिटल लजिक’ र ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ विथ सी++’ पढाइ हुन्छ । यी दुवै विषय ६/६ क्रेडिटका हुन् ।

तेस्रो सेमेस्टरमा ‘डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम’, ‘कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसन’ र ‘वेब टेक्नोलोजी’, चौंथो सेमेस्टरमा ‘अपरेटिङ सिस्टम’, ‘डेटाबेस म्यानेजमेन्ट सिस्टम’ र ‘सिस्टम एनलाइसिस एन्ड डिजाइन’ रहेको छ । यी ९/९ क्रेडिटका कोर आईटी विषय हुन् ।

तेस्रो सेमेस्टरमा ‘ट्वान्टी फस्ट सेन्चुरी लाइफ स्किल’ र चौंथो सेमेस्टरमा ‘एजुकेसनल लिडरशिप इन डिजिटल एरा’ राखिएको छ । साथै दुवै सेमेस्टरमा जीवनोपयोगी सीपबारे एक-एक विषय छन् ।

पाँचौ सेमेस्टरमा ‘जाभा प्रोग्रामिङ’, ‘डेटा कम्युनिकेसन एन्ड नेटवर्कस्’, ‘सफ्टवेयर इन्जिनियरिङ एन्ड प्रोजेक्ट’ छन् ।

छैटौं सेमेस्टरमा ‘भिजुअल प्रोग्रामिङ’, ‘कम्प्युटर ग्राफिक्स’, ‘डिजिटल पेडागोजी एन्ड एलएमस’ र ‘नेटवर्क एन्ड इन्फरमेसन सेक्युरिटी’ विषयहरु अध्यापन हुने गर्छ ।

सातौं सेमेस्टरमा ‘आर्टिफिसियल इन्टेलिजेन्स इन एजुकेसन’ र ‘टिचिङ मेथोड फर आईसीटी’ पढाइ हुन्छ । साथै ‘जिआईएस/बिग डेटा एनालिसिस’ र ‘क्यापस्टोन प्रोजेक्ट’ मध्ये कुनै एक ऐच्छिक विषय रुपमा पढ्नु पर्छ ।  

आठौं सेमेस्टरमा ‘सिस्टम एड्मिनिस्टेटर विथ लिनक्स’, ‘पाइथन प्रोग्रामिङ’ छन् । ‘क्लाउड कम्प्युटिङ’ वा ‘मल्टिमिडिया टेक्नोलोजी’ जस्ता विषय ऐच्छिक रुपमा राखिएका छन् । त्यस्तै उही सेमेस्टरमा १२/१२ क्रेडिटको इन्टर्नशिप/शिक्षण अभ्यास राखिएको छ ।

-कम्युनिकेसन स्किल

पहिलो र दोस्रो सेमेस्टरमा कम्युनिकेसन स्किल अन्तर्गत अनिवार्य अंग्रेजी भाषा र नेपाली भाषा पढाइ हुन्छ । यी १२ क्रेडिटका विषय हुन् ।

विद्यार्थीहरुमा भाषिक ज्ञान  र तार्किक सीपको विकास गर्न यी विषयले सहयोग गर्ने गर्छ ।

-प्रोफेसनल एजुकेसन

प्रत्येक सेमेस्टरमा प्रोफेसनल एजुकेसनका एक/एक विषय राखिएका छन् । ती विषयमा वर्तमान शिक्षा के/किन/कसरी/कहिले/कहाँ सिकाउने जस्ता विषयवस्तुको अभ्यास गराइन्छ ।

यस अन्तर्गत ती विषयहरू क्रमश: पहिलोदेखि आठौं सेमेस्टरसम्म ‘फण्डामेन्टलस् अफ एजुकेसन’, ‘डेभलपमेन्टल साइकोलोजी’, ‘साइकोलोजी अफ लर्निङ’, ‘फण्डामेन्टलस् अफ करिकुलम’, ‘शिक्षण र सिकाइमा मूल्याङ्कन’, ‘शिक्षामा अनुसन्धान विधिहरू’ र ‘अनुसन्धान परियोजना’ राखिएको छ ।

-म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स

कम्प्युटर विज्ञान र गणित एक अर्काको परिपुरक विषय हुन् । गणितबिना सूचना तथा प्रविधि अधुरो रहन्छ । गणितको आवश्यकतालाई मध्यनजर गरी बीआईसीटीईमा १५ क्रेडिटको विभिन्न गणितीय विषय राखिएकाे छ ।

यसअन्तर्गत पहिलो र दोस्राे सेमेस्टरमा ‘म्याथम्याटिक्स १’ र ‘म्याथम्याटिक्स २’ छन् । तेस्रो, चौंथो र पाँचौ सेमेस्टरमा क्रमश: ‘प्राेब्याबिलिटी र स्टाटिस्टिक्स’, ‘न्युमेरिकल एनलाइसिस’, ‘डिसक्रीट म्याथम्याटिक्स’ छन् ।

-प्रोजेक्ट तथा इन्टर्नशिप

छोटो अवधिको इन्टर्नशिपले विधार्थीलाई आफ्नो सीप तिर्खान र क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ । त्यस्तै परियोजन (प्रोजेक्ट) मार्फत आफूले सिकेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई उनीहरूले मूर्त रुप दिन सक्छन् ।  त्यहीअनुरुप अन्तिम सेमेस्टरमा ‘रिसर्च प्रोजेक्ट’, ‘सफ्टवेयर प्रोजेक्ट’ र ‘इन्टर्नशिप’लाई अनिवार्य गरिएको छ । 

कहाँ कहाँ पढाइ हुन्छ ?

त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कुल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेको छैन । यस विषय पढाइ हुने आंगिक क्याम्पस निम्न छन्:

-सानोठिमी क्याम्पस, भक्तपुर

-महेन्द्र रत्न क्याम्पस, काठमाडौँ

-विरेन्द्र बहुमुखी क्याम्पस, चितवन

-बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

-सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत

-महेन्द्र मोरङ क्याम्पस, मोरङ

-डडेलधुरा बहुमुखी क्याम्पस, डडेलधुरा

-आरआरएम क्याम्पस, धनुषा

-सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, सिरहा 

त्यसैगरी यो विषय पढाइ हुने सामुदायिक क्याम्पस निम्न छन्:

-आदिकवि भानुभक्त क्याम्पस, तनहुँ 

-बालकुमारी कलेज, चितवन 

-घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली 

-जन भावना क्याम्पस, ललितपुर 

-जनज्योति बहुमुखी क्याम्पस, सर्लाही 

-जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौँं

-काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक 

-मध्यविन्दु बहुमुखी क्याम्पस, नवलपरासी पूर्व  

-मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर 

-महाकवि देवकोटा क्याम्पस, नवलपरासी पश्चिम 

-म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी 

-निलकण्ठ बहुमुखी क्याम्पस, धादिङ 

-सहिद स्मृति बहुमुखी क्याम्पस, चितवन 

-सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवन 

-सुकुना बहुमुखी क्याम्पस, मोरङ 

-वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा 

-त्रियुगा बहुमुखी क्याम्पस, उदयपुर 

-जेएस मुरारका बहुमुखी क्याम्पस , सिरहा

-जनता बहुमुखी क्याम्पस सुनसरी  

कोटा, शुल्क र छात्रवृत्ति

बीआईसीटीई कोर्ष एक सिफ्टमा मात्र चलाउने क्याम्पसहरुमा ४० र दुई सिफ्ट सञ्चालन गर्ने क्याम्पसहरुमा ८० ओटा विद्यार्थी कोटा निर्धारण गरिएको छ । तर सानोठिमी क्याम्पसमा भने १२० विद्यार्थी कोटा दिइएको छ । यो कोर्ष त्रिविको आङ्गिक तथा सम्बन्धन दुवै प्रकार कलेजमा पढाइन्छ । त्यसैले शुल्क ती अनुसार फरक हुन्छ ।

सामान्यत: आङ्गिक क्याम्पसहरूमा प्रति सेमेस्टर २५ देखि ३५ हजार रुपैयाँ र सामुदायिक क्याम्पसहरुमा प्रति सेमेस्टर ३० देखि ४० हजार शुल्क रहेको छ । तर निजी कलेजहरुमा बीआईसीटीई नभएकोले अन्य आईटी कोर्षहरूको तुलनामा यो निकै सस्तो छ । 

त्यस्तै यो कोर्ष पढाइ हुने क्याम्पसहरूको आ-आफ्नै छात्रवृत्ति नीति छ । त्यसो हुँदा विद्यार्थीले सोही अनुसार छात्रवृत्ति पाउँछन् । आङ्गिक क्याम्पसहरुम त्रिविको नीति अनुसार छात्रवृत्ति दिइने गरिन्छ । 

प्रवेश परीक्षा 

त्रिविले लिखित र अन्तर्वार्ता गरी केन्द्रीय शिक्षा प्रवेश परीक्षा (CEAT) लिने गर्छ । जुन परीक्षा अन्तर्राष्ट्रिय परीक्षण ढाँचा र मापदण्डहरू पालना गरी सञ्चालन गरिन्छ । 

यस प्रवेश परीक्षामा एक सय ओटा वस्तुगत प्रश्नहरू दिइन्छ । जसमा आईसीटी स्किल टेस्ट (४० %), गणित परीक्षण (२५ %), अंग्रेजी कौशल (१५ %) र शैक्षिक जीके(२० %) का प्रश्न समावेश हुन्छ ।

विद्यार्थीले अन्तर्वार्ताको लागि योग्य हुन सीईएटीमा न्यूनतम ४० प्रतिशत प्राप्ताङ्क ल्याउनुपर्छ । त्यसपछि उनीहरूको अन्तर्वार्ता हुन्छ । त्यसमा पनि उत्तीर्ण हुने विद्यार्थीलाई क्याम्पसको क्षमता अनुसार भर्नाको लागि छनोट गरिन्छ ।

त्रिविको लेटर ग्रेडिङ पद्धति निम्नानुसार छ:

-९० वा सोभन्दा माथि आए ४.० (A+) सर्वोत्तम (Outstanding), 

-८० वा सोभन्दा माथि र ९० भन्दा कम आए ३.७ (A-) अत्युत्तम, 

-७० वा सोभन्दा माथि र ८० भन्दा कम ३.३ (B+) उत्कृष्ट (Very Good), 

-६० वा सोभन्दा माथि र ७० भन्दा कम ३.० (B) उत्तम (Good), 

-५० वा सोभन्दा माथि र ६० भन्दा कम २.७ (B-) सन्तोषजनक (Satisfactory) र 

-५० भन्दा कम आए F असफल 

 

क्रेडिट ट्रान्सफर

यस कोर्षमा भर्ना भएका विद्यार्थीले त्रिवि मान्यता प्राप्त अन्य विश्वविद्यालयहरूको समान कार्यक्रममा क्रेडिट ट्रान्सफर गर्न सक्छन् ।

बीआईसीटीई कार्यक्रम आंशिक रूपमा पूरा गरेको र आफ्नो अध्ययन बन्द गर्न चाहने विद्यार्थीले पनि कार्यक्रमबाट फिर्ता लिन सक्छन् । यस्तो अवस्थामा विद्यार्थीले कोर्षमा आर्जन गरेको क्रेडिट निर्दिष्ट गर्ने प्रमाणपत्र दिइने गरिन्छ । 

भविष्यको करियर मार्ग

कोर्षको अध्ययनपछि विद्यार्थीले विभिन्न क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्छन् । तल कोर्ष अध्ययनपछि विद्यार्थीले बनाउन सक्ने केही करियरबारे चर्चा गरिएको छ: 

-शिक्षक सेवा

आधारभूत तह (१-८) तथा माध्यमिक तह (९-१२) मा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विषय अध्यापन गराउन याेग्य भइन्छ । यसका लागि शिक्षा सेवा आयोगमार्फत शिक्षकको लागि प्रतिस्पर्धा गर्ने तथा निजी शैक्षिक संस्थाहरूमा अध्यापन गर्ने काम गर्न सकिन्छ ।

-लोकसेवा

यो कोर्ष अध्ययन गरेका विद्यार्थीहरू लोकसेवा आयोगले लिने निजामती सेवातर्फको विभिन्न समूहको कम्प्युटर अधिकृत वा सो सरहमा पदका लागि योग्य हुन्छन् ।

-डेभलपर

आईटी उद्योगमा चाहिने कम्प्युटर प्रोग्रामर, वेब डेभलपर (फ्रन्टएन्ड डेभलपर, ब्याकएन्ड डेभलपर), सिस्टम एड्मिन, नेटवर्क इन्जिनियर, डेटाबेस एड्मिनिस्ट्रे‍टर आदि बन्न सकिन्छ ।

-आईटी प्रोजेक्ट म्यानेजर

आईटी केन्द्रित परामर्श फर्महरू, एनजीओ, आईएनजीओ आदिमा आईटी प्रोजेक्ट म्यानेजर, आईटी सपोर्ट विशेषज्ञ, साइबर सुरक्षा विश्लेषक आदि बनेर विद्यार्थी काम गर्न सक्छन् ।

-उच्च शिक्षामा अवसर

कोर्ष सकेका विद्यार्थीले थप उच्च शिक्षा हासिल गर्न सक्छन् । उनीहरूले मास्टर्स इन आईसीटी एजुकेसन, मास्टर्स इन कम्प्युटर एप्लिकेसन, एमआईटी, एमएससी इन्फर्मेसन सिस्टम, एमबीए आईटी, एमएससीम डेटा साइन्स लगायतका आईटी कोर्ष अध्ययन गर्न सक्छन् ।

(उपप्राध्यापक घिमिरे सानोठिमी क्याम्पस, भक्तपुरमा कार्यरत छन् ।)

पछिल्लो अध्यावधिक: असार १९, २०८० १७:०