close

ट्वीटरभन्दा के कुरामा फरक छ ‘ट्रुथ सोसल’ ?

टेकपाना टेकपाना

असार २०, २०८० १७:१९

ट्वीटरभन्दा के कुरामा फरक छ ‘ट्रुथ सोसल’ ?

काठमाडौं । सन् २०२१ मा अमेरिकी संसद क्यापिटोल हिलमा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले एकाएक हुलदङ्गा मच्चाए । विशेषगरी ट्रम्पले सामाजिक सञ्जालका माध्यमबाट उक्त हुलदङ्गालाई प्रोत्साहन गरेको र त्यसले थप हिंसा निम्त्याएको भन्दै फेसबुक, ट्वीटर, युट्युबजस्ता प्लेटफर्मले उनको अकाउन्टमाथि प्रतिबन्ध लगाए ।

त्यसबेला ट्रम्प सामाजिक सञ्जालमा बढी फलोअर हुने मध्येका एक राजनीतिज्ञ थिए । आफूलाई प्रतिबन्ध लगाएपछि उनले त्यहीबेला ठूला प्रविधि कम्पनीले ‘अभिव्यक्ति स्वतन्त्रता’का लागि ठाउँ नदिएको भन्दै त्यसको विकल्पमा सत्य कुराहरू राख्ने प्लेटफर्म 'ट्रुथ साेसल' ल्याउने घोषणा गरे ।

यसरी सुरु भएको प्लेटफर्म ट्रुथ हालै नेपालमा पनि उपलब्ध भएको छ । यससँगै अन्य विभिन्न प्लेटफर्ममा ट्रुथ सोसलको चर्चा चलिरहेको छ । आज हामी ट्रुथ सोसल र ट्वीटरबीच के-कस्ता भिन्नता छन्, तपाईंका लागि कत्तिको उपयुक्त छ भन्ने विषयमा चर्चा गर्दैछाैँ । 

अकाउन्ट बनाउने बित्तिकै फलो गर्नुपर्ने बाध्यता

ट्रुथ सोसलमा अकाउन्ट बनाएर लगइन गर्न कम्तीमा दुई ओटा अकाउन्टलाई फलो गर्नैपर्ने हुन्छ । त्यसमा पनि तपाईंले आफूले चाहेको अकाउन्ट नभई त्यहाँ सुझाव दिइएका अकाउन्टलाई नै फलो गर्नु‍पर्छ ।

फलो गर्दा पनि डोनाल्ड ट्रम्पकै अकाउन्ट सबैभन्दा पहिले देखाउँछ । प्रयोगकर्तालाई अन्य अकाउन्ट फलो गर्नैपर्ने नीति ल्याए पनि उनीहरूले छानेर फलो गर्न पाउनुपर्ने हो । तर यता ट्वीटरमा यस्तो बाध्यता छैन । कसैलाई पनि फलो नगरेरै ट्वीटर प्रयोग गर्न सकिन्छ । 

सहजै अकाउन्ट बनाउन सकिने सुविधा 

ट्रुथमा सजिलै जसले पनि आफ्नो अकाउन्ट बनाउन सक्छ । यसरी सहजै केही मिनेटमै अकाउन्ट बनाउन सकिने भएपछि यसको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै हुन्छ । यसले गर्दा अहिले सुरुवाती अवस्थामा नेपालमै पनि अर्काको ह्यान्डल कब्जा गरेर राख्ने प्रवृत्ति देखिएको छ । उता ट्वीटर अकाउन्ट बनाउने प्रक्रिया केही झन्झटिलो छ ।

केही बढी विवरण राख्नुपर्ने भएकाले उक्त प्लेटफर्ममा अकाउन्ट बनाउन समय लाग्छ । त्यसैले धेरै नक्कली वा बट अकाउन्ट बन्ने सम्भावना कम हुन्छ ।

यसो त एलन मस्कले ट्वीटर खरिद गर्ने बेलामै ट्वीटरमा हुने नक्कली अकाउन्टको कुरा उठेको थियो । यसलाई नियन्त्रण गर्न बट अकाउन्ट हटाउनका लागि ट्वीटर ह्यान्डल सक्रिय हुनुपर्ने नीति छ । यता ट्रुथमा कम्पनीले कस्तो नीति ल्याउँछ हेर्न बाँकी नै छ । 

नक्कली ब्लु टिक होल्डरको बिगबिगी

ट्वीटरले ब्लु टिक खरिद गर्न सकिने सुविधा ल्याएपछि त्यसको महत्त्व घटेको छ । जोसुकैले नम्बर राखेर अकाउन्ट प्रमाणित गरेको खण्डमा मासिक वा वार्षिक रूपमा तोकिएको शुल्क तिरेर ब्लु टिक खरिद गर्न सक्छन् ।

तसर्थ यस प्लेटफर्ममा पछिल्लो समयमा सक्कली जस्तो देखिने अकाउन्टबाट फैलिने नक्कली ट्वीटको बिगबिगी बढ्दो छ ।

ट्रुथ सोसलले हालसम्म शुल्क तिरेर पिङ्क टिक (आधिकारिक अकाउन्ट हो भनेर पुष्टि गर्ने सङ्केत) उपलब्ध गराउने सुविधा ल्याएको छैन । शुल्क तिरेर ब्लु टिक पाउन सकिने फिचरबाट विरक्तिएका प्रयोगकर्ता ट्रुथ प्रयोग गर्न सक्छन् । 

फिचरहरू

ट्रुथको तुलनामा ट्वीटर आकर्षक फिचरहरूले भरिएको छ । पछिल्लो समय समावेश गरिएका ट्वीट भ्युज, ट्वीटर एडिट जस्ता फिचरहरू ट्वीटरका थप आकर्षक विशेषता हुन् ।

ट्रुथ सोसल प्रयोग गर्दा कलर बाहेक अन्य कुराको सन्दर्भमा ट्वीटर नै प्रयोग गरेको अनुभव हुन्छ । ट्वीटरमा नभएको तर ट्रुथमा भएको फिचर चाहिँ ग्रुप हो । फेसबुक जस्तै ट्रुथमा ग्रुप बनाउन र विभिन्न ग्रुपहरूमा जोइन हुन सकिन्छ ।

यसैगरी ट्वीटरले हालै निःशुल्क ट्वीटर प्रयोग गर्ने प्रयोगकर्ताका लागि टु-फ्याक्टर अथेन्टिकेसन सेवा बन्द गरेको थियो । ट्रुथमा भने जोकाेहीले यो फिचर प्रयोग गर्न सक्छन् । 

ट्वीटरमा ट्वीट भनिए जस्तै ट्रुथ सोसलमा ट्रुथ भनिएको छ, एक्स्प्लोरलाई डिस्कभर भनिएको छ भने नोटिफिकेसनलाई अलर्ट नाम दिइएको छ ।

ट्वीटरमा ट्वीट आफ्नो ट्वीटर सर्कल र पब्लिकमा शेयर गर्न सकिन्छ भने ट्रुथमा पब्लिकमै शेयर गर्नुपर्ने हुन्छ । ट्वीटरमा ट्रेन्डिङमै परेका कुराहरू सोझै ह्याशट्यागमा देखाइएको हुन्छ भने ट्रुथमा ग्राफ सहित ट्रेन्डिङ टपिक देखाइएको छ ।

समग्रमा ट्रुथ ट्वीटरको कपी एप हो भन्ने भान हुन्छ । यद्यपि जसरी ट्वीटको स्क्रिनशट लिएर त्यसलाई अन्य सामाजिक सञ्जालका माध्यममा शेयर गर्दा आकर्षक देखिन्छ ट्रुथमा भने त्यति आकर्षक देखिँदैन । बरु ट्वीटरकै शैलीमा फोटोशप गरिएको टेक्स्ट होकि भन्ने भान हुन्छ । शेयर भएका लिङ्कको डिस्क्रिप्सन पनि ट्रुथमा आवश्यकताभन्दा बढी देखाइएको हुन्छ ।

यसले युजर एक्सपिरियन्सका हिसाबले राम्रो कुरा होइन । ट्वीटरबाट टाढिन खोजेका कम्पनी वा मानिसहरूका लागि ट्रुथ अहिलेलाई उपयुक्त विकल्प होला । तर, सम्पूर्ण रूपमा डोनाल्ड ट्रम्पको नेतृत्वमा भएकाले यसलाई उनले कसरी अगाडि बढाउँछन् भन्ने निश्चित छैन ।

आफ्ना केही मौलिक फिचरहरू नै नभएको ट्रुथले बजारमा आफ्नो प्रभुत्व कसरी जमाउँछ हेर्न बाँकी नै छ । मासिक ६० लाख हाराहारी अडियन्स भएको यो प्लेटफर्ममा अधिकांश प्रयोगकर्ता अमेरिकाकै छन् ।

पछिल्लो अध्यावधिक: असार २०, २०८० १७:५७