close

रङ सम्बन्धी विभिन्न कुरा सिकाउने उपयोगी वेबसाइट

टेकपाना टेकपाना

असार २०, २०८० १९:१८

रङ सम्बन्धी विभिन्न कुरा सिकाउने उपयोगी वेबसाइट

काठमाडौं । चित्रकारको मुख्य सम्बन्ध रङसँग हुन्छ । उ आफू अनुकुल रङलाई परिभाषित गर्न सक्छ । उसँग रङबारे गहिरो ज्ञान हुन जरुरी छ । अहिले चित्रकारमात्र नभएर फोटोग्राफर, भिडिओ एडिटर, ग्राफिक्स डिजाइनर, फेसन डिजाइनर आदिलाई यसबारे ज्ञान हुनु आवश्यक छ । कुनै पनि चित्र, फोटो अथवा डिजाइन राम्रो देखिनु पछाडि रङको पनि भूमिका हुन्छ । यी कुरा थाहा पाउन रङ सम्बन्धी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । 

कुनै पनि रङ आफैंमा पूर्ण हुँदैन । रङहरू एक अर्कामा मिसिएर नयाँ रुप दिन सक्छन् । जुन रङको विशेषता हो । अर्थात कुनै एउटा रङ बन्न दुई वा दुईभन्दा बढी रङ मिसाउनु पर्ने हुन्छ । जस्तो; सुन्तले रङ बन्न पहेलो र रातोको रङको सन्तुलित मिश्रणको आवश्यकता पर्छ ।

यी यस्तै थुप्रै रङको एक झुण्डलाई रङदानी अर्थात् अङ्ग्रेजीमा ‘प्यालेट’ भन्ने गरिन्छ । हरेक चित्रकार उसको त्यही प्यालेटका आधारमा चिनिन्छन् । अहिले अनलाइनमा यीबारे विभिन्न कोर्ष तथा प्लेटफर्म बनाइएका छन् । आज हामी तपाईँलाई रङसँग सम्बन्धित गतिविधि गर्न मिल्ने ‘ट्राई कलर्स’ (trycolors) नामक प्लेटफर्मबारे जानकारी दिने छौं । 

रङ मिसाउने

रङहरू मिसाउँदा कस्तो बन्छ भनेर हेर्न ‘मिक्सर’ फिचर प्रयोग गर्नुपर्छ । यसका लागि वेबसाइटमा गई दायाँ माथि क्लिक गर्नुहोस् । त्यहाँ सबैभन्दा माथि यो अप्सन पाइन्छ । त्यसमा क्लिक गर्नुहोस् । तपाईँले तलको जस्तो इन्टरफेस देख्न सक्नुहुन्छ ।

 

 

केही सीमित रङबाट धेरै ओटा नयाँ रङ बनाउन अभ्यास गर्ने ठाउँ हो ।  तपाईंले तल (तस्वीरमा ‘1’)बाट रङ चयन गरेर अन्य रङ बनाउन सक्नुहुन्छ । तपाईंले कुनै पनि रङमा क्लिक गरेर त्यसको मात्रा बढाउन सक्नुहुन्छ भने माइनस चिन्ह (-) मा क्लिक गरेर त्यसको मात्रा घटाउन सक्नुहुन्छ ।

\तल दिइएका कुनै रङ मिसाउँदै जाँदा नयाँ रङ बन्छ । जुन माथि क्यानभासमा (फोटोमा सुन्तले रङ भएको भाग) देखिन्छ । त्यो रङ बनाउन तपाईंले अभ्यास गर्न सक्नुहुन्छ । यसका लागि क्यानभासमा भएको ‘टार्गेट’ (तस्वीरमा ‘2’) मा क्लिक गर्नुहोस् ।

यसरी बन्ने नयाँ कलरलाई तपाईंले आफ्नो प्यालेटमा थप्न सक्नुहुन्छ । यसका लागि ‘ADD’ (तस्वीरमा ‘थ्री’) मा क्लिक गर्नुहोस् । साथै यसरी प्यालेटमा थपेका सबै रङ हेर्न तपाईंले ‘सो प्यालेट’ (तस्वीरमा ‘4’) बाट हेर्न सक्नुहुन्छ ।

रङबारे थाहा पाउने

 

अहिले यस प्लेटफर्ममा २०० बढी ब्राण्डको दुई लाख बढी रङबारे जानकारी पाइन्छ । यसका लागि दायाँ भागमा भएको ‘पेन्ट’मा क्लिक गर्नुहोस् । त्यसपछि तल ‘ब्रान्ड’ भन्ने बक्समा कम्पनीको नाम सर्च गर्न सकिन्छ । छेउको अर्को बक्सबाट रङको नाम सर्च गर्न मिल्छ ।

उस्तै रङ बनाउन

 

यसका लागि अगाडि नै विभिन्न रङहरू दिइन्छ । जसलाई भएका केही सीमित रङबाट ती बनाउनुपर्ने हुन्छ । कलाकारका लागि यो काम एक चुनौती नै हो ।

तर यसरी डिजिटल माध्यममा सिक्दा तपाईंले आफ्नो क्षमता बढाउन सक्नुहुन्छ । यसका लागि दायाँ भागबाट ‘च्यालेन्जेज’ (Challenges) मा जानुहोस् । अब त्यहाँ देखिएका कुनै विकल्पमा क्लिक गर्नुहोस् । अब तपाईंले अन्य रङका आधारमा यो जस्तै अर्को बनाउनुपर्ने हुन्छ ।

रङमा आधारित गेम

 

रङबारे गहिरो ज्ञान राख्न योसँग धेरै खेल्नुपर्ने हुन्छ । अर्थात् यसको अभ्यास धेरै गर्नुपर्छ । यसका लागि यस प्लेटफर्मले रङमा आधारित ‘कलर मिक्स’,’गेस कलर’ जस्ता खेल बनाएको छ । कम्पनीले नारा नै ‘प्ले र लर्न’ (खेल र सिक) भन्ने राखेको छ । तपाईंले आफ्नो हातमा रङ नलगाई यस बारे यो प्लेटफर्मबाट धेरै कुरा सिक्न सक्नुहुने छ ।

वेबसाइटमा अकाउन्ट नखोलिकनै यी माथिका काम गर्न सकिन्छ । तर त्यसो गर्दा दिनमा ती काम सीमित मात्रामा मात्र गर्न पाइन्छ । कम्पनीले मासिक १ अमेरिकी डलर शुल्क लिएर भने ती काम गर्न असीमित छुट दिने गरेको छ । समग्रमा रङ बारे रुचि राख्नेलाई यो वेबसाइट निकै उपयोगी हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८० १९:३१