काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको गतिभन्दा बढी स्पिडमा कुदेका सवारी पहिचान गर्न अत्याधुनिक क्यामेरा जडानको काम सुरु गरेको छ ।
उपत्यकाका विभिन्न तीन स्थानबाट प्रयोगमा आउन लागेको अटोमेटिक नम्बर प्लेट रिकग्निजेसन (एएनपीआर) सिस्टम विथ स्पिड डिटेक्सन नामक क्यामेराले ट्राफिक प्रहरीलाई तोकिएको स्पिडभन्दा बढीमा कुदेका सवारीको जानकारी उपलब्ध गराउनेछ ।
टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, “अहिले हामीले तीन ठाउँमा एनपीआर क्यामेरा जडानको काम सुरु गरेका छौं । विस्तारै ट्राफिक बढी हुने ठाउँमा क्यामेरा जडान गर्दै जाने योजना बनाएका छौं ।”
हाल कोटेश्वरको भाटभटेनी नजिक, महालक्ष्मीस्थान साथै धोबीघाट र सानेपाको बीचमा एनपीआर क्यामेरा जडानको काम भइरहेको छ ।
यी क्यामेराको सहायताले साउन महिनादेखि सवारी निगरानी गरिने भट्टले जानकारी दिए ।
उनका अनुसार यो क्यामेराले बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेको हुन्छ । यदि कसैले तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ भने उसको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जम्मा भएर बस्छ ।
त्यसपछि नम्बर प्लेटको आधारमा सवारी धनी पहिचान गरी ट्राफिक प्रहरीले कारबाही गर्छ ।
ट्राफिक प्रहरी नभएको ठाउँमा चालकले मौका छोपी बढी गतिमा सवारी चलाउने गरेको पाइएपछि यस्तो प्रविधि ल्याएको भट्टले सुनाए ।
“ट्राफिक प्रहरी उभिरहन परेन । हाम्रो काम अझ सिस्टमेटिक हुने भयो,” भट्टले भने । अहिले तोकिएभन्दा बढी स्पिडमा कुदाउने सवारी पहिचानका लागि ‘लिडार गन’ प्रयोग भइरहेको छ ।