close

‘एड रेभेन्यु’ कार्यक्रम अन्तर्गत प्रयोगकर्तालाई पैसा बाँड्दै ट्वीटर

टेकपाना टेकपाना

असार ३०, २०८० ९:४६

‘एड रेभेन्यु’ कार्यक्रम अन्तर्गत प्रयोगकर्तालाई पैसा बाँड्दै ट्वीटर

काठमाडौं । ट्वीटरले क्रियटरहरूलाई विज्ञापनबाट हुने आम्दानी दिन थालेको छ । कम्पनीले ट्वीटको रिप्लाईमा देखिने विज्ञापनबाट आउने रकम क्रियटरलाई दिन थालेको हो । ट्वीटर ब्लु सब्सक्रिप्सन लिएका र पछिल्लो तीन महिनामा ५० लाख ट्वीट इम्प्रेसन पुर्‍याएका क्रियटर ट्वीटरले शेयर गर्ने एड रेभेन्युका लागि योग्य हुन्छन् ।

ट्वीटरका मालिक एलन मस्कका अनुसार पहिलो चरणमा योग्य क्रियटरका लागि कम्पनीले ५० लाख अमेरिकी डलर दिइसकेको छ । यो रकम क्रियटरले स्ट्राइपमार्फत पाएका छन् । केही ट्वीटर प्रयोगकर्ताले आफूले पाएको रकमको स्क्रिनशट शेयर गर्दै सो रकम उपयुक्त भएको बताएका छन् ।

साढे सात लाख बढी फलोअर भएका ब्रायन क्रासेनस्टेइनले बिहीबार एक स्क्रिनशट शेयर गर्दै आफूलाई ट्वीटरले २४ हजार ३०५ डलर तिरेको दाबी गरेका छन् । त्यस्तै एसके नाम भएका क्रियटरले दुई हजार २३६ डलर, बेन्नी जोनसोन नाम भएका प्रयोगकर्ताले नौ हजर ५४६ डलर पाएको बताएका छन् ।

यस्ता थुप्रै प्रयोगकर्ता छन्, जसले ट्वीटरमार्फत राम्रो आम्दानी गरेको भन्दै ट्वीट गरिरहेका छन् । ट्वीटरले हालै ट्वीट रिप्लाईमा विज्ञापन देखाएवापत क्रियटरलाई आम्दानी बाँड्ने घोषणा गरेको थियो । ट्वीटको रिप्लाईमा रिप्लाईभित्र पनि रिप्लाई गर्ने धेरै हुन्छन् । त्यसैले मुख्य ट्वीट गर्नेलाई दिने वा रिप्लाईमा गर्नेहरूलाई दिने वा दुवैलाई कसरी दिने भन्ने कुराको निर्णय गर्न ट्वीटरलाई गाह्रो परिरहेको छ । 

त्यस्तै रिप्लाईमा देखिने विज्ञापन अनुसार क्रियटरले रकम पाउने भएपछि उनीहरू उत्सुक भएर इङ्गेजिङ कन्टेन्ट हाल्ने गरिरहेका छन् । त्यसैले रिप्लाईमा जति बहस भयो त्यति नै बढी आम्दानी हुने एक ट्वीटर क्रियटरले उल्लेख गरेका छन् । 

यो कार्यक्रम अन्तर्गत कस्ता क्रियटरले आम्दानी गर्न सक्छन् भन्ने कुराका लागि केही सीमितता छन् । ट्वीटरको कन्टेन्ट मोनिटाइजेसन स्टान्डर्डका अनुसार कसैले अश्लील ट्वीटहरू राखेको छ भने त्यस्ता ट्वीट मोनिटाइज हुँदैनन् । 

यसो त खुलेआम अश्लील भिडिओ तथा फोटो ट्वीट गर्न दिने मेनस्ट्रिम सोसल मिडियामा ट्वीटर एक्लो छ । तर, आम्दानी हुने कुरामा सुरुमै प्रतिबन्ध लगाइदिँदा यसबाट याैनकर्मीलाई असर पर्ने विश्लेषकहरू बताउँछन् ।

त्यस्तै क्रिप्टो स्क्यामर वा अन्य तरिकाले ठगी गर्नका लागि ट्वीट गर्ने प्रयोगकर्ता पनि यस कार्यक्रममा सहभाही हुन पाउने छैनन् । त्यसबाहेक हत्या, हिंसा, आपराधिक गतिविधि, जुवा, लागुऔषध वा रक्सीबारे कन्टेन्ट राख्ने प्रयोगकर्ताले पनि ट्वीटरबाट रकम पाउने छैनन् । 

यता ट्वीटरले ५० लाख डलर क्रियटरलाई दिइसकेको अवस्थामा ट्वीटरबाट पाँच करोड डलर माग दाबीसहित उजुरी हालिएको छ । त्यस्तै ट्वीटरले कम्पनीको कोठाभाडा समेत नतिरेको समाचार आइरहेका छन् । 

पछिल्लो अध्यावधिक: असार ३०, २०८० ९:४८