close

के तपाईंको मोबाइलमा पनि मार्केटिङ तथा विज्ञापन गर्ने कल आउँछन् ?

टेकपाना टेकपाना

साउन ९, २०८० १७:१८

के तपाईंको मोबाइलमा पनि मार्केटिङ तथा विज्ञापन गर्ने कल आउँछन् ?

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकबाट स्पाम कल आएको भन्दै कतिपय मोबाइल प्रयोगकर्ताले गुनासो गर्न थालेका छन् । ०१-५९७०१२६ नम्बरको ल्यान्डलाइन फोनबाट यस्तो कल आउन थालेको हो । 

बुढानिलकण्ठ बस्ने राजेश घिमिरे मङ्गलबार बिहान ८ः३० बजेतिर ओच्छ्यानमा सुतिरहेकै समय थियो । एउटा अपरिचित नम्बरबाट आएको कलले गर्दा उनी ब्यूँझिए । घिमिरेले आफ्नो परिवार बाहेक अरु कसैलाई सार्वजनिक नगरेको मोबाइल नम्बरमा उक्त फोन आएको थियो । 

फोनबाट आफू क्लासिक टेक इन्टरनेट सेवा प्रदायक कम्पनीबाट बोलेको र घरमा कुन इन्टरनेट जोड्नु भएको छ भन्दै प्रश्न सोधिएपछि उनलाई भाउन्न भयो ।

"मेरो नम्बर कसले दियो भन्दा फोन गर्नेले राम्रो जवाफ दिन सकेनन्," घिमिरेले भने, "हाम्रो गोपनीयताको कुनै सुरक्षा छ कि छैन ?" उनले नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्ता हक अधिकार मञ्चलाई यस किसिमको शोषणबाट आफूहरूलाई जोगाइदिन अनुनय समेत गरेका छन् । अहिलेसम्म आफू क्लासिक टेकको ग्राहक नबनेको समेत उनले बताए ।  

ट्रु कलरमा उक्त नम्बर क्लासिक टेक मार्केटिङको भएको देखिन्छ । ३५९ ओटा स्पाम रिपोर्ट गरिएको उक्त नम्बरलाई ट्रु कलरले स्पाममा राखेको छ । जसमा केही प्रयोगकर्ताले कमेन्ट नै गरेर अनावश्यक कल  गरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रदिप दुवाडी नाम गरेका व्यक्तिले हैरान भएर लेखेका छन्, "दिनदिनै बारम्बार कल गरिरहेको छ । पूर्ण रूपमा समयको बर्बादी र फोहोरी । नेपाल प्रहरी, कृपया यो ठगीको विरुद्ध कारबाही अगाडि बढाऊ ।"

त्यस्तै यसरी असन्तुष्टि व्यक्त गर्ने अन्य मोबाइल प्रयोगकर्तामा अनुमुनि तुलाधर समेत छन् । उनले अनावश्यक मार्केटिङ कल भन्दै कमेन्ट गरेका छन् भने प्रवेशराज बरुवालले आफूलाई कल नगर्न आग्रह गरेका छन् । 

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको नाम जोडिएपछि हामीले यसको वास्तविकता बुझ्न कम्पनीका प्रतिनिधिसँग सम्पर्क गरेका थियौं । क्लासिक टेकका उप महाप्रबन्धक रोजित भट्टराईले उक्त टेलिफोन नम्बर आफ्नै कम्पनीको भएको स्वीकार गरे । 

“हाम्रो सेवा लिइसकेका तथा रजिष्ट्रर गरेका प्रयोगकर्ताको प्रतिक्रिया लिने प्रयोजनका लागि हाम्रो तर्फबाट कल गर्ने गरिएको छ,” उनले भने, “त्यस्तो कल आएको कुनै नम्बर दिनु भयो भने म त्यो नम्बर हाम्रो सिस्टममा कहाँबाट आयो भन्ने कुराको जानकारी दिन सक्छु ।”

भट्टराईलाई हामीले क्लासिक टेक मार्केटिङबाट कल आएको एउटा मोबाइल नम्बर समेत उपलब्ध गराएका थियौं । उनले आफ्नो एक जना कलंकीको मार्केटिङ कर्मचारीले ९ अप्रिल २०२३ सिस्टममा राखेको बताए ।

तर उक्त नम्बर कम्पनीले कहाँंबाट प्राप्त गरेको थियो भन्ने कुराको जानकारी भने खुलाएनन् । यद्यपि उक्त नम्बर क्लासिक टेकको सिस्टमबाट हटाउन भने लगाएको जानकारी दिए । 

यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । पछिल्लो समय विभिन्न कम्पनी तथा सेवा प्रदायकले यसैगरी प्रयोगकर्तालाई कल गरी आफ्नो वस्तु तथा सेवाको मार्केटिङ गर्ने प्रचलन बढेको छ । 

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष ज्योति बानियाँ उपभोक्ताको हित संरक्षणका लागि कानून भए पनि त्यसको उचित कार्यान्वयन हुन नसकेको बताउँछन् । “यो अनुचित व्यापरिक क्रियाकलाप हो,” उनले भने, “उपभोक्ता अधिकार ऐनले यस्ता गतिविधिमाथि रोक लगाएको छ ।” 

उपोभोक्ताको हित संरक्षणकै क्षेत्रमा क्रियाशिल अभियन्ता हरि मैनाली व्यक्तिगत मोबाइल नम्बर मार्केटिङ गर्ने प्रयोजनका लागि नभएको तर्क गर्छन् ।

“यसलाई रेडियो-टेलिभिजन जस्तो विज्ञापन गर्ने माध्यम बनाउन मिल्दैन,” उनी भन्छन्, “यो त निजी जरुरी सूचना तथा खबर आदान प्रदान गर्ने दूरसञ्चार माध्यम हो । व्यक्तिगत हिसाबले आवश्यक परेको व्यक्तिसँग सञ्चार गर्न यसको प्रयोग हुन्छ । अर्को कुरा टेलिफोन नम्बर सम्बन्धित व्यक्तिको गोपनीयतासँग जोडिएको विषय समेत हो । त्यस्तो नम्बर कहाँबाट प्राप्त गरेको र कुन आधारमा सम्पर्क गरिएको भन्ने प्रश्न पनि उठ्छ ।”

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र व्यक्तिगत मोबाइल नम्बर ‘पब्लिक डोमेन’ नभएको बताउँछन् । “सम्बन्धित ग्राहकको सहमति नलिई एसएमएसमार्फत विज्ञापन पठाउन नपाउने व्यवस्था छ,” उनी भन्छन्, “तर कल मार्फत समेत विज्ञापन हुन थालेको विषयमा भने अहिलेसम्म गुनासो आएको छैन । पीडित उपभोक्ताको तर्फबाट उजुरी प्राप्त भएको खण्डमा अवश्य पनि यस विषयमा बुझ्नुपर्ने हुन्छ ।”

टेलिमार्केटिङको नाममा उपभोक्तालाई हैरान पारेको भन्दै अमेरिकी नियामकले हालै मात्र त्यस्तो कार्यमाथि हस्तक्षेप गरेको थियो । 'अपरेसन स्टप स्क्याम कल' नाम दिइएको उक्त हस्तक्षेप ग्राहकले कल प्राप्त गर्न सहमति दिएको भन्दै झुटो दाबी गर्ने फर्महरू प्रति लक्षित थियो ।

अमेरिकाले आफ्नो देशका उपभोक्तालाई स्पाम कलबाट जोगाउन 'नेसनल डु नट कल रजिस्ट्री' नामक छुट्टै पोर्टल समेत बनाएको छ । जसमा आफ्नो नम्बर रजिस्टर गरेको ३१ दिन पश्चात् पनि अनावश्यक कल आएक खण्डमा त्यहाँको फेडरल ट्रेड कमिसनमा उजुरी दिन सकिन्छ । 

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १७:४७