close

चुरोटको लत छोड्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी अनलाइन टुल

टेकपाना टेकपाना

साउन १०, २०८० १७:३३

चुरोटको लत छोड्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी अनलाइन टुल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार प्रत्येक वर्ष धुमपानले ८० लाख बढी मानिसको ज्यान लिन्छ । तीमध्ये ७० लाख बढी प्रत्यक्ष सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्युको मुखमा पुग्छन् ।

साथै अरूले धुमपान सेवन गर्दा आउने धुवाँका कारण बाँकीको मृत्यु हुने गरेको छ । धुमपान सेवन गर्दा आफू मात्र नभएर अरूको स्वास्थ्यलाई समेत जोखिम पर्ने हुन्छ ।​

धुमपान सेवन गर्नु एउटा नराम्रो आदत हो । तर यसलाई हटाउन भने सकिन्छ । कतिपयले यो कुलत छोड्न प्रयास गरिरहेका हुन्छन्, तर असफल भइरहन्छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) अनुसार धुमपान सेवन गर्ने ७० प्रतिशतले यो बानी छोड्न चाहिरहेका हुन्छन् । अहिले विभिन्न संघसंस्थाहरूले त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्न एप तथा वेबसाइटहरू बनाएका छन्, जसको प्रयोग गरेर त्यो बानी त्याग्न सकिन्छ । यसलाई ‘नन-मेडिकल’ विधि भनेर पनि भन्ने गरिन्छ ।

आज हामी तपाईं यस्ता केही एप तथा वेबसाइटबारे जानकारी दिँदै छौं:

मोबाइल एप

क्विट नाउ (Quit Now)

यो एक वेबसाइट तथा मोबाइल एप हो । यसले तपाईंलाई धुमपान छाड्न सहयोग गर्ने बताइन्छ । सन् २०११ देखि सक्रिय यो एपलाई डब्लूएचओले समेत नन-मेडिकल विधिका लागि सिफारिस गरेको छ । 

धुमपान कति कम गर्नुभयो, त्यसले कति पैसा जोगियो, कति स्वास्थ्य सुधार भयो भन्ने कुरा देखाइरहन्छ । साथै एपले तपाईंको धुमपानको मात्रा, सेवन गर्ने समय आदि सूचकहरूको ट्रयाक समेत गर्छ ।

त्यस्तै पहिले धुमपान गरेका, तर अहिले छाडेकाहरूको ग्रुपमा पनि तपाईं यसबाट जोडिन सक्नुहुन्छ । जहाँ तपाईं धुमपान छाड्नका लागि प्रोत्साहन पाउनुहुन्छ । 

यो एप विश्वका २२ भाषामा उपलब्ध छ । साथै एन्ड्रोइड आईओएसमा समेत उपलब्ध छ ।

क्विट स्टार्ट (quit START)

यसमा धुमपान छाड्न सुझाव, तरिका, प्रेरणा र चुनौतीहरू राखिएको छ । यसमा तपाईंले आफ्नो धुमपानको अवस्था बारे राख्नु भए एपले त्यसकैको आधारमा विभिन्न सामग्री उपलब्ध गराउँछ । त्यो तपाईंको ‘क्विट किट’ (Quit Kit) हुन्छ । 

यसमा तपाईंले आफ्नो प्रगति देख्न सक्नुहुन्छ । त्यस्तै प्रोत्साहन स्वरूप एपमा तपाईंले विभिन्न ब्याजहरू (badges) पनि पाउनु हुन्छ । धुमपानबाट टाढा राख्न यसमा विभिन्न प्रकारका गेमहरू राखिएको छ । यस एपलाई अमेरिकी सरकारी निकायले धुमपान नियन्त्रण गर्न बनाएको हो । यसलाई एन्ड्रोइड आईओएस दुवैमा उपलब्ध गराइएको छ ।

क्विट गाइड (QuitGuide)

यस एपले तपाईंको धुमपान गर्ने शैली बुझेर त्यसको आधारमा कसरी छाड्न सकिन्छ भनेर सुझावहरू दिने गर्छ । एपमा तपाईंले के गर्दा धुमपान गर्नुहुन्छ, कुन ठाउँमा धुमपान गर्नुहुन्छ, कस्तो स्थितिमा हुँदा सेवन गर्नुहुन्छ भन्ने कुराहरू ट्रयाक गर्न सक्नुहुन्छ । तिनको आधारमा एपले तपाईं यो बानी छाड्न सहयोग गर्छ । 

यसका साथै धुमपान छाड्नलाई सहयोगी विभिन्न टिप्स दिने, प्रगति ट्रयाक गर्ने, प्रोत्साहित गर्ने जस्ता काम एपले गर्छ । साथै तपाईंले एपमा आफ्नो बानीको दैनिक जर्नल समेत बनाउन सक्नुहुन्छ । यसलाई एन्ड्रोइड आईओएस दुवै खालका प्रयोगकर्ताले चलाउन सक्छन् ।


वेबसाइट

-बीटोबाको फ्री (BeTobaccoFree)

यो एक वेबसाइट हो, यसलाई अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले चलाइरहेको छ । यसमा धुममान विरुद्ध गरिएका विभिन्न अभियानबारे जानकारी दिइएको छ । 

साथै अरुलाई प्रोत्साहन गर्न वास्तविक धुमपान छाडेका व्यक्तिहरूको वास्तविक कथाहरूलाई पनि राखिएको छ । त्यसले तपाईंलाई यो लतबाट बाहिरिन सहयोग गर्न सक्छ ।

वेबसाइटमा धुमपान छाड्न सहयोग गर्ने विभिन्न टुल पनि दिइएको छ । जसमा यससम्बन्धी एपहरूको लिस्ट, औषधिहरूबारे जानकारी राखिएको छ । साथै यसबाट कसरी मुक्त हुने भनेर विज्ञसँग समेत कुराकानी गर्न सकिन्छ । सँगै धुमपान सम्बन्धी गरिएका विभिन्न अध्ययन तथा प्रतिवेदनहरू पनि सङ्कलन गरिएको छ ।  

-स्मोक फ्री (SmokeFree)

धुमपान छाड्न कोसिस गरिरहेका व्यक्तिका लागि यो वेबसाइट निकै उपयोगी हुनसक्छ । यसमा विभिन्न टुल तथा टिप्स, च्यालेन्ज, रिपोर्टहरू दिइएको छ । त्यस्तै एपभित्र महिला, किशोरावस्था, वयोवृद्धका आदिका लागि छुट्टाछुट्टै सेक्सन बनाइएको छ । 

त्यसले गर्दा त्यो उमेर समूहका लागि पर्याप्त मात्रामा स्रोत उपलब्ध गराइएको छ । तपाईंले यसमा धुमपान छाड्ने योजना बनाउन सक्नुहुन्छ । त्यस योजना बनाउँदा तपाईंले विभिन्न सल्लाह सुझाव पनि पाउन चाहनुहुन्छ । यो  वेबसाइट हालै धुमपान छाडेका, पहिल्यै छाडेका आदिलाई पनि उपयोगी हुन्छ । त्यस्तै धुमपानसँग सम्बन्धित विभिन्न लेखहरू पनि पाइन्छन् ।

माथि उल्लेख गरिएका बाहेक धुमपान छाड्न उपयोगी विभिन्न एप तथा वेबसाइट उपलब्ध छन् । तर यदि तपाईंले कुनै पनि एउटा एप तथा वेबसाइटको सहयोग लिएर लत त्याग्न प्रयास गर्नुभयो भने सफल हुन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १९:३२