close

५० लाख मूल्य पर्ने बिजुली बाइक नेपाली बजारमा, के के छन् विशेषता ?

टेकपाना टेकपाना

साउन १३, २०८० ९:४

५० लाख मूल्य पर्ने बिजुली बाइक नेपाली बजारमा, के के छन् विशेषता ?

काठमाडौं । इटालियन ब्रान्ड इनर्जिकाको बिजुली मोटरसाइकल ‘इनर्जिका इभा रिबेल’ एक विद्युतीय स्पोर्टस् सुपर बाइक हो । नेपालका लागि आधिकारिक वितरक इन्ड्युरो मोटर्सले यो बाइक भित्राएको हो ।

ब्याट्री ठूलो भएको कारण बाइक गह्रौँ छ । तर चलाउँदा भने अप्ठ्यारो महसुस हुँदैन । सामान्य बाइक जस्तै सजिलैसँग चलाउन सकिन्छ ।

शक्तिशाली बाइक भए पनि यसमा आवाज आउँदैन । यही कारण पेट्रोलियम इन्धनबाट चल्ने गाडी गुडाउँदा जस्तो अनुभव यसमा मिल्दैन  ।

सन् २०२० मा बनेको यो बिजुली बाइकलाई कम्पनीले ‘न्याकेड बाइक’ क्याटेगोरी अन्तर्गत राखेको छ । यसमा १४३.४९ हर्सपावर रहेको छ भने २०० किलोमिटर प्रतिघण्टाको अधिकतम गति पाउन सकिन्छ ।

टर्क २१५ न्युटन मिटर र २१.५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री रहेको यो इलेक्ट्रिक बाइक एक पटकको सिंगल चार्जमा सहरी क्षेत्रमा ४२० किलोमिटरसम्म कुदाउन सकिने कम्पनीको दाबी छ । तर नेपालको परिप्रेक्ष्यमा भने यो बाइकले ३०० किलोमिटरको हाराहारीमा रेञ्ज दिने बताइन्छ ।

एसी चार्जरबाट यसलाई फुल चार्ज गर्न सात घण्टा लाग्छ भनेडीसी फास्ट चार्जरबाट करिब एक घण्टा भित्रै फुल चार्ज हुन्छ । बाइकमा ईको, स्ट्यान्डर्ड, वेट र स्पोर्ट गरी चार  मोड रहेका छन् ।

ती मध्ये ‘वेट’ मोडले पानी परिरहेको बेलामा सहयोगी भूमिका खेल्छ ।  त्यस्तै यसमा रिभर्स फङ्सनको पनि सुविधा छ । जुन पार्किङको समयमा उपयोगी हुन्छ ।

साथै पेट्रोलियम इन्धनबाट चल्ने बाइक जस्तो यसमा मर्मत सम्भार गर्नु पर्ने बाध्यता पनि हुँदैन । बाइकको सिट ७९० मिलिमिटर अग्लो छ । जसलाई आफ्नो आवश्यकता अनुसार मिलाउन सकिन्छ ।

यो बाइक बारोसो कोर्सा र स्टेल्थ ग्रे गरी दुई रङमा आउने भए पनि आफ्नो रुचि अनुसार ‘कस्टमाइज’ गर्न सकिने वितरकले बताएको छ ।

यसको ‘बडी’ प्लास्टिकबाट बनेको छ । यद्यपि बाइक मजबुत रहेको कम्पनीकाे भनाई छ । यसमा ग्राहकले वारेन्टी पनि पाउँछन् । जस अन्तर्गत बडी पार्ट्स दुई वर्ष र ब्याट्रीमा तीन वर्षको वारेन्टी छ ।

नेपाली बजारमा यसको मूल्य ५० लाख रुपैयाँ राखिएको छ । जुन सामान्य नेपालीका लागि यो निकै महँगो हो ।

तर युरोपमा चलिरहेको मूल्य अनुसार नै आफूहरूले नेपालमा बाइक बिक्री गरिरहेको वितरक इन्ड्युरो मोटर्सले जनाएको छ । गुणस्तर र ‘पर्फमेन्स’ उत्कृष्ट हुने प्रिमियम ब्रान्डको बाइक भएकाले यसको मूल्य धेरै भएको हो ।

नेपाली बजारमा इन्ड्युरो मोटर्सले यो सहित इनर्जिका ईगो, ईगो प्लस आरएस, ईएसईएस नाइन गरी यो ब्रान्डका अन्य चार मोडल उपलब्ध गराएकाे छ ।  डुकाटी, बेनेली जस्ता प्रिमियम ब्रान्ड भित्राइरहेको वितरकले नै नेपालमा इनर्जिका ल्याएको हो ।

यसका यी इलेक्ट्रिक मोटरसाइकललाई नक्सालस्थित सोरूममा  अवलोकन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १२:५१