close

७ वर्ष टिभीमा प्रधान सम्पादक रहेका यात्री बने युट्युबर, भन्छन्ः तर युट्युबरको छवि राम्रो छैन

टेकपाना टेकपाना

साउन २५, २०८० १४:२१

७ वर्ष टिभीमा प्रधान सम्पादक रहेका यात्री बने युट्युबर, भन्छन्ः तर युट्युबरको छवि राम्रो छैन

काठमाडौं । लामो समयदेखि टेलिभिजन पत्रकारितामा रहेका र पछिल्लो सात वर्ष एपीवन टेलिभिजनको प्रधान सम्पादक समेत रहिसकेका टीकाराम यात्री युट्युबर बनेका छन् । आफ्नै नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका यात्रीले अब टेलिभिजनमा प्रधान सम्पादक नबन्ने घोषणासहित नयाँ करियर थालेका हुन् ।

उनले यसका लागि यात्री मिडिया प्रालि नामक कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए । त्यसबाट डकुमेन्ट्रीदेखि मल्टिमिडियासम्मका अन्य काम समेत गर्ने उनको भनाइ छ । यसअघि जागिरको सिलसिलामा समेत स्वतन्त्र भए पनि अब भने निर्बन्ध रूपमा अगाडि बढ्ने यात्रीको अठोट छ ।

नेपालको तीन करोडमध्ये एक करोड जनसङ्ख्या विदेशमा बस्न थालिकेको भन्दै उनले यो क्रम बढ्ने आँकन समेत गरेका छन् । "हामीले यहाँको आवाज यहिँ मात्रै होइन, अब संसार भरका नेपाली भाषीलाई जोड्नु पर्‍यो," यात्रीले एक पोडकास्टमा बोल्दै भनेका छन्, "आजको जस्तो काँचको पर्दामा यहीँ हेरियो, सकियो भन्ने पनि हुँदैन । यो अभिलेख र इतिहास दुवै भएर बस्छ ।"

विदेशमा रहेका नेपाली र नयाँ पुस्ता समाचारका लागि हाम्रो पात्रो, युट्युब लगायतका माध्यममा आकर्षित हुने गरेको उल्लेख गर्दै उनले मूलधार भन्ने के हो के हो जस्तो हुन थालेको आफ्नो अनुभूति समेत सुनाए । त्यो जमातसँग अलग्गिएको आभास गरेको सुनाउँदै उनले माध्यम साधन मात्रै भएको र एउटै पोखरीमा धेरै जम्दा लेउ लागेजस्तो महसुस भएपछि युट्युबतर्फ लागेको बताए ।

"२०४२ मा सुरु भएको एनटीभी (नेपाल टेलिभिजन) को त्यही समयबाट गइयो र त्यसबाट तलमाथि भएनौं भने भविष्य चाहिं...," उनले भनेका छन्, "अहिले टीभीभन्दा मोबाइलबाट समाचार सामग्री हेर्नेहरू धेरै भइसके । अन्तर्वार्ता मोबाइलबाट हेर्नुपर्छ । रियालिटी शो मोबाइलबाट हेर्नुपर्छ ।"

विश्वकप फुटबल र चुनाव बाहेक सबै कुरा मान्छेहरूले मोबाइलबाटै हेर्न थालिसकेको दृष्टान्त दिंदै यात्रीले यो त यथार्थ स्वीकार गर्नुपर्ने उल्लेख गरे । "यथार्थबाट विमुख भयो भने त्यो अहङ्कारी हुन्छ । त्यो अहङ्कारको ताज फुकाल्न भए पनि मैले यसलाई (टेलिभिजनको जागिर) क्विट गर्नैपर्छ भन्ने सोचें," उनले सुनाए ।

सुरुमा आफ्नो युट्युब च्यानलबाट आफूले विभिन्न टेलिभिजन कार्यक्रममा बोलेका सामग्री राख्दै आएका उनले पछिल्लो समय आफ्नो युट्युब च्यानलका लागि विशेष सामग्री समेत पस्किन थालेका छन् । जसमा उनले केही समय अघि एउटा हाइकिङको भ्लग पोस्ट गरेका थिए ।

हिमालय टेलिभिजनमा प्रसारण हुने गरी 'अँध्यारोबाट उज्यालोतिर' नामक अन्तर्वार्ता तयार गरिरहेका यात्रीले त्यसको डिजिटल अधिकार भने आफैंसँग राखेका छन् । त्यसो त यात्रीको युट्युब च्यानल सन् २०१२ मै खुलेको हो । 

टेकपानासँगको कुराकानीमा उनले भने, “टेलिभिजन अन्तर्वार्ता मात्रै राख्ने भन्ने होइन । अबका दिनमा युट्युबकै लागि अन्य थुप्रै मौलिक किसिमका सामग्री पनि आउँछन् ।”

"भाडा तिर्ने, छोरो पढाउने र घुम्ने पैसा त यसैबाट आउँदो रहेछ, बाँच्न त सकिँदो रहेछ भन्ने आधार यसले दिइसक्यो, अरु कतै केही नगरेपनि," उनले भनेका छन्, "अब कमाई बढ्छ । यी विभिन्न माध्यमबाट घर चलाउन राम्ररी पुग्छ ।"

अब सबै पुस्ताका लागि विभिन्न खण्डका कार्यक्रम तयार पार्ने योजना रहेको सुनाउने यात्रीले सम्भवतः 'एडिटर इन चिफ' (प्रधान सम्पादक) भने जिन्दगीभर नबन्ने बताए ।

उनले रोजेको 'युट्युबर'को करियर नेपालमा 'मिस इन्फरमेसन' (भ्रामक सूचना) र 'डिस इन्फरमेसन' (मिथ्या सूचना) ले बदनामीत छ । जानीजानी र अल्पज्ञानबाट यस्तो भइरहेको उनको बुझाई छ । नचाहिँदो नचाहिँदो शीर्षक राखेर डिस 'इन्फरमेसन', 'मिस इन्फरमेसन' फैलाउने युट्युबरहरूलाई उनले छवि सुधार्न सुझाव समेत दिएका छन् , "युट्युबर साथिहरूलाई मेरो सादर अनुरोध छ, तपाईंले आजका दिनमा भ्युअरशिप बढाउन, सब्सक्रिप्सन बढाउन, लाइक बढाउन समाजलाई धुमिल पार्दै हुनुहुन्छ ।" ,

"उहाँहरूले पनि एक प्रकारको पत्रकारिताकै अभ्यास गर्दै हुनुहुन्छ," उनले अगाडि भनेका छन्, "आजका दिनमा त्यो नयाँ माध्यम भयो होला, भोलिको मूलधार नै त्यही हुन सक्ला, तपाईंहरू २०/५० जना सबै लाम लागेर एउटै सामग्री खिच्न नजानुहोस् । एउटै कन्टेन्ट ५० जनाले खिचेर त्यसको केही अर्थ छैन । त्यही कुरा हाल्यो, शीर्षक फेर्‍यो, टालटुल पार्‍यो ।"

बरु त्यसभित्र सिर्जनशीलता खोज्न उनको आग्रह छ । "समय लाग्ला, धैर्यता चाहिएला । तर तपाईंको पनि आफ्नो निजी अस्तित्व छ । त्यो युट्युबर भन्ने ट्यागबाट बाहिर निस्किनुहोस् । त्यसको छवि राम्रो छैन ।"

आफू पनि युट्युबर, पोडकास्टर बनेर यही माध्यममा आइपुगेको भए पनि अब यसलाई सफा गर्न आवश्यकता रहेको यात्रीले बताए । शीर्षक जे पायो त्यही राखेर, पारिवारिक कलह, झगडा, कसको डिभोर्स किन भयो, कसले के गर्‍यो, कसले कसको श्रीमती लग्यो, कसको सालीलाई के भयो जस्ता असाध्यै घर झगडा लगाउने, आफैं त्यसलाई प्रेरित गर्ने काम गर्दा क्षणिक लाभ भए पनि, बिकाउ भए पनि टिकाउ नहुने यात्रीको भनाइ छ ।

"त्यसैले आफ्नो छवि बनाउनुहोस्, तपाईँहरू यसमा लागेको पाँच वर्ष, दश वर्ष भयो होला, तर तपाईंले के गर्नु भयो त ? तपाईंको आफ्नो सिर्जनशीलता के रह्यो ? कम्तिमा त्यो काम हप्ताको एउटा भए पनि सुरुवात गर्नुहोस् ।" यो युट्युबर भन्ने छविले आफूहरूलाई कहीँ नपुर्‍याउने भन्दै उनले छवि सुधार्नुपर्ने आवश्यकता औँल्याएका छन् । "मैले पनि त्यो प्रयत्न गर्नु पर्छ," उनले भनेका छन् । 

 

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १४:४३