close

विदेशबाट भित्रिंदै प्रयोग भएका थोत्रा राउटर, नयाँ-पुरानो छुट्याउने प्राविधिक क्षमता छैन नेपालसँग

टेकपाना टेकपाना

साउन २५, २०८० १९:१

विदेशबाट भित्रिंदै प्रयोग भएका थोत्रा राउटर, नयाँ-पुरानो छुट्याउने प्राविधिक क्षमता छैन नेपालसँग

काठमाडौं । केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विदेशमा प्रयोग भइसकेका पुराना (रिफर्बिस्ट) राउटर नेपाल भित्र्याउने गरेको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको अध्ययनबाट यस्तो अवस्था देखिको हो । 

क्लासिक टेक, वेबसर्फर लगायतका इन्टरनेट सेवा प्रदायक सहित सात ओटा कम्पनीले विदेशमा प्रयोग भइसकेका पुराना राउटर नेपाल भित्र्याउने गरेको उजुरी अख्तियारमा परेको थियो । प्राप्त उजुरीको आधारमा केही महिना अघि अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्राविधिक जाँचबुझका लागि पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा मन्त्रालयले उपसचिव इन्द्र मैनालीको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति बनायो । 

समितिले काठमाडौं स्थित आरोपित कम्पनीहरूको स्थलगत अध्ययन तथा जाँचबुझ गरेको थियो । त्यस क्रममा बाहिर अर्कै कम्पनीको लोगो रहेका राउटर लगईन गरी हेर्दा भित्र ह्वावेको लोगो पाइएको थियो । अझ कतिपय राउटरमा त निर्माता कम्पनीको नाम र लोगो समेत नदेखिएको उल्लेख छ ।

तर राउटर नयाँ हो कि पुरानो भन्ने विषय यकिन गर्ने प्राविधिक क्षमता भने नेपाल सरकारसँग नै नरहेको पाइएको छ । समितिले प्रयोग हुने चिपसेटको आधारमा राउटर पुरानो हो कि नयाँ हो भन्ने विषय यकिन गर्न दूरसञ्चार क्षेत्रको नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायबाट सहयोग माग्दा नेपालसँग त्यसको प्राविधिक क्षमता नै नरहेको तथ्य सतहमा आएको हो ।

समितिको प्रतिवेदनले रिफर्बिस्ट राउटर यकिन गर्ने उपकरण तथा प्राविधिक क्षमताका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्ने सुझाव दिएको छ । त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार उपकरण, मोबाइल, राउटर लगायतका रेडियो फ्रिक्वेन्सीमा सञ्चालन हुने तथा सिम कार्ड प्रयोग हुने उपकरण आयात गर्नु पूर्व ‘टाइप अप्रुभल’ (आयात गर्न योग्य रहेको स्वीकृति) लिनुपर्ने व्यवस्था छ । 

तर भन्सार नाकामा भने त्यस्तो ‘टाइप अप्रुभल’ चेक जाँच गर्ने अभ्यास समेत नरहेको समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त अध्ययन समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई बुझाइसकिएको छ । 

अन्य कसैले प्रयोग गरिसकेका वा नचलेर, बिग्रिएर वा गुणस्तर नपुगेर फिर्ता गरिएका सामान जोडजाड पारी बजारमा ल्याइएका राउटर अर्थात ओएनटी (अप्टिकल नेटवर्क टर्मिनल) तथा ओएनयू (अप्टिकल नेटवर्क युनिट) नै रिफर्बिस्ड राउटर हुन् । पुराना उपकरणलाई मर्मत सम्भार गरी पुनः नयाँ जस्तै बनाएर बिक्री गरिने यस्ता सामानहरू सस्तो मूल्यमै पाइने भएकाले नेपाल भित्रिने गरेका छन् ।

यस्ता उपकरणका कारण वाईफाईको सिग्नल कमजोर हुने, बेलाबेला इन्टरनेट कनेक्सन टुट्ने, लगायतका समस्याहरू ग्राहकले भोग्नु पर्ने हुन्छ । यतिमात्र नभएर बढी मात्रामा कार्बन उत्सर्जन समेत गर्ने यस्ता उपकरणको आयू समेत थोरै हुने भएकाले ईवेस्ट अर्थात विद्युतीय फोहोरमैला बढ्न गई देशको वातावरणमा नकारात्मक असर पर्नेदेखि लिएर मानव स्वास्थ्यका लागि घातक साबित भइरहेका छन् ।

पुरानो प्रविधि हुने भएकाले रिफर्बिस्ड राउटरले विद्युत समेत बढी खपत गराउँछन् । सामानको मूल्य कम राखी यस्ता उपकरण आयात हुँदा राज्यले पाउने भन्सार, अन्तशुल्क तथा भ्याट समेत गुम्दै आएको छ । 

त्यसो त नेपाल दूरसञ्चार प्राधिकरणले राउटरका लागि न्यूनतम मापदण्ड निर्धारण गरेको छ । जसअनुसार इन्टरनेट सेवा प्रदायकले रिफर्बिस्ड तथा गुणस्तरहीन राउटर भित्र्याउन र प्रयोग गर्न पाउँदैनन् ।

अनुमतिपत्रको शर्त र नियामकको निर्देशन समेतको आधारमा उक्त मापदण्ड उलङ्घन गर्ने इन्टरनेट सेवा प्रदायक कारबाहीको भागीदार हुने निश्चित छ । नियामक प्राधिकरणका अनुसार रिफर्बिस्ड राउटर अर्कै कम्पनीले आयात गरेको भए पनि त्यसलाई प्रयोगमा ल्याउने इन्टरनेट सेवा प्रदायक जिम्मेवार हुनेछ ।

प्राधिकरणले तय गरेको ओएनटी तथा ओएनयू सम्बन्धी मापदण्डमा इन्टरनेट सेवा प्रदायक कम्पनीले टाइप अप्रुभल लिएका सीपीई (उपभोक्ताको परिसरमा जडान गरिने उपकरण) मात्र उपयोग गर्नुपर्ने उल्लेख छ ।

"रिफर्बिस्ड गरिएका सीपीई प्रयोग गर्न तथा पुनः प्रयोग गर्ने कार्यमाथि इन्टरनेट सेवा प्रदायकलाई पूर्णतया रोक लगाइएको छ," मापदण्डमा भनिएको छ । त्यस्तै आयु समाप्त भएका सीपीईको प्रयोगमा समेत प्राधिकरणले प्रतिबन्ध लगाएको छ ।

इन्टरनेट सेवा प्रदायकले आयात गरेका तथा आफ्नो नेटवर्कमा प्रयोगमा ल्याएका त्यस्ता उपकरणहरूको नाम, आयातित मिति, गुणस्तर मापदण्ड, जडान गरिएको स्थान र मिति सहितको अभिलेख राख्नु पर्ने व्यवस्था समेत गरिएको छ । 

प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले कुनै पनि इन्टरनेट सेवा प्रदायकले तोकिएको गुणस्तरभन्दा कमसल किसिमका उपकरण प्रयोग गर्न नपाउने बताए । “यदि त्यसो भए गरेको पाइएमा कानून अनुसार दण्ड जरिवाना हुन्छ,” उनले भने ।

ह्वावे, नोकिया, लगायतका ब्रान्डेड राउटर महँगा हुने र इन्टरनेट बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेका कारण गुणस्तरहीन उपकरण आयात हुन थालेको विश्लेषण समेत हुन थालेको छ । केही दिन अघि मात्र प्राधिकरण र नेपालमा समेत उपस्थिति रहेका त्यस्ता आधिकारिक उपकरण निर्माताका प्रतिनिधिबीच रिफर्बिस्ड, लेबल नलगाइएका र बाहिर एउटा लेबल तथा भित्र अर्कै सिरियल नम्बर भएका राउटरले निम्त्याएको चुनौतीको विषयमा छलफल भएको थियो ।

 

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १९:३