close

ब्राउजरमा ‘गुगल अर्थ’ प्रयोग गर्ने स्मार्ट तरिका

टेकपाना टेकपाना

साउन २५, २०८० २०:२७

ब्राउजरमा ‘गुगल अर्थ’ प्रयोग गर्ने स्मार्ट तरिका

काठमाडौं । संसारको कुनै पनि ठाउँ अन्वेषण गर्न सघाउने उपयुक्त प्लेटफर्म हो, गुगल अर्थ । यसो त यो गुगल अर्थ डेस्कटप तथा मोबाइल एपका रूपमा पनि उपलब्ध छ । तर तपाईंले कुनै पनि एप डाउनलोड नगरेर वेब ब्राउजरबाटै एप प्रयोग गर्न सक्नुहुन्छ ।

आज हामी वेब ब्राउजरमा कुन कुन फिचरका लागि ‘गुगल अर्थ’ कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

वेब ब्राउजरमा कसरी प्रयोग गर्ने गुगल अर्थ ?

ब्राउजरमा गुगल अर्थ प्रयोग गर्ने तरिका सहज छ । ब्राउजरमा google.com/earth वा यहाँ क्लिक गरेर गुगल अर्थको वेब पेजमा जानुहोस् । सुरुवाती समयमा गुगल अर्थ क्रोमबाट मात्र प्रयोग गर्न सकिन्थ्यो । सन् २०२० पछि भने कम्पनीले फायरफक्स, ओपेरा र एज ब्राउजरबाट पनि प्रयोग गर्ने सुविधा ल्याएको छ । 

ब्राउजरमा गुगल अर्थ प्रयोग गर्नुअघि तपाईंले हार्डवेयर एक्सिलेरेसन (hardware Acceleration) अप्सन अन गर्नुपर्ने हुन्छ । यो फिचर डिफल्ट रूपमा अन नै हुन्छ । तर पनि गुगल अर्थ ब्राउज गर्नुअघि उक्त अप्सन अन भए/नभएको यकिन गर्नुहोस् ।

हार्डवेयर एक्सिलेरेसन अन गर्न तलका प्रक्रिया अपनाउनुहोस्:

- ब्राउजरको एड्रेस बारमा chrome://settings/ टाइप गर्नुहोस् । 

- अनि दायाँपट्टि रहेको सिस्टम (System)को अप्सन छान्नुहोस् । 

- त्यसपछि ‘युज हार्डवेयर एक्सिलेरेसन ह्वेन अभाइलेबल’ (Use Hardware acceleration when available) ​अप्सन इनेबल गर्नुहोस् । 

माथि उल्लेख गरिएको सेटिङ अन गर्नुभयो भने अब सहजै ब्राउजरमा गुगल अर्थ प्रयोग गर्न सकिन्छ । तपाईंले ग्लोबको चित्रमा क्लिक गरेर तान्नुभयो भने ग्लोब घुम्न थाल्छ । त्यही समयमा एउटा निश्चित विन्दुमा राखेर घुमाउनु पर्‍यो भने किबोर्डको शिफ्ट (Shift) की थिचेर ग्लोबलाई सार्नुहोस् ।

त्यस्तै कन्ट्रोल (Ctrl) की थिचेर माथितिर माउस लग्नुभयो भने ब्रह्माण्डको केही भाग देखिन्छ । तर, सबै अँध्यारोमा । तपाईंले माउसको ह्विल स्क्रोल गरेर वा स्क्रिनमा देखिएको प्लस माइनस बटनमा क्लिक गरेर जुम इन, जुम आउट गर्न सक्नुहुन्छ । 

ग्लोबलाई जति जुम गर्नुभयो, त्यसमा विभिन्न देशहरूको नाम देखिँदै जान्छ । अझ बढी जुम गर्नुभयो भने देशका विभिन्न सहरको नाम देखिन्छ । 

होमपेजको दायाँपट्टि सर्चको आइकन छ । उक्त आइकनमा ट्याप गर्नुभयो भने सोझै नाम सर्च गर्न सकिन्छ । तपाईंलाई इच्छा लागेको ठाउँको स्याटलाइट भ्यु पनि गुगल अर्थबाट हेर्न सकिन्छ । 

ब्राउजरमा गुगल अर्थका लागि उपयुक्त शर्टकटहरू

गुगल अर्थमा अन्य थुप्रै फिचरहरू छन्, जो प्रयोग गर्दै गएको अवस्थामा बुझिन्छन् । तल दिइएका कीबोर्ड शर्टकट्स प्रयोग गरेर पनि तपाईं गुगल अर्थ प्रयोग गर्न सक्नुहुन्छ । 

? = कीबोर्ड शर्टकट्सको लिस्ट हेर्न 

/ = सर्च

Page up/ Down key = जुम इन/जुम आउट

Shift+ arrow key = ग्लोबलाई तल, माथि, दायाँ वा बाँया घुमाउन

O‌ ‌= टुडीबाट थ्रीडीमा सार्न

R ‌‌‍= भ्यु रिसेट गर्न 

Space Key = ग्लोब घुमिरहेको बेला रोक्न

गुगल अर्थका अन्य विशेषताहरू 

१) भर्चुअल टुरका लागि भोयजर 

भोयजर गुगलको यस्तो फिचर हो जसको सहायताले भर्चुअलल टुर गर्न सकिन्छ । म्यापमा आधारित स्टोरेजको सहायताले भर्चुअल टुल गर्न सकिन्छ । भोयजरबाटै पहिले कुन ठाउँ कस्तो थियो र अहिले कस्तो छ भन्ने कुरा पनि हेर्न सकिन्छ ।

भोयजर प्रयोग गर्नका लागि दायाँपट्टि भएको सर्चभन्दा तलको आइकनमा ट्याप गरेर भोयजर फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

२) थ्रीडीमा संसार हेर्न

गुगल अर्थबाट विभिन्न कुराहरू थ्रीडीमा हेर्न सकिन्छ । यो फिचर अन गर्न सबैभन्दा पहिले गुगल अर्थको वेबसाइटमा दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् । अनि म्याप स्टाइलको अप्सन छान्नुहोस् ।

त्यसपछि लेयर्समा रहेको ‘टर्न अन थ्रीडी बिल्डिङ्स’ अप्सन अन गर्नुहोस् । यति भइसकेपछि तपाईंले गुगल अर्थमा विभिन्न ठाउँ, पहाड, हिमाल, समथर भाग, घर, मठमन्दिर सबै थ्रीडीमा देख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८० २०:२७