close

'भएभरका ईभी हेरेपछि किनेको थिएँ बीवाईडीको एट्टो थ्री, तर यसको चिप्लिने टायर मन पर्दैन'

साउन २६, २०८० ११:५३

'भएभरका ईभी हेरेपछि किनेको थिएँ बीवाईडीको एट्टो थ्री, तर यसको चिप्लिने टायर मन पर्दैन'

मलाई बिजुली गाडी मध्ये हुन्डाइको फेसलिफ्ट भर्सन कोना मन परेको थियो ।  नेपालमा नआउँदा पुरानै मोडलको भए पनि कोना नै लिने सोचिरहेको थिएँ । 

तर फेसलिफ्ट कोना नै सार्वजनिक भयो । मैले त्यो गाडी बुक गरें । खासमा मलाई कोना ‘पकेट रकेट’ जस्तो लाग्छ । 

किनकी यसलाई गल्ली, सडक, जता पनि कुदाउन मिल्छ । त्यो गाडी मैले ६ महिना चलाएँ । उक्त अवधिमा झन्डै १० हजार किलोमिटर गुडाएछु ।

त्यसै बीच घरमा अर्को पनि ईभी किन्ने भइयो । मेरी आमालाई पनि गाडी चलाउन मन पर्छ । त्यसैले आमाका लागि भनेर गाडी किन्न विभिन्न कम्पनीमा बुझ्न निस्कियौं । 

नेपालमा बीवाईडी एट्टो थ्री लञ्च हुँदा त्यसको कार्यक्रममा पनि गयौं । लञ्च हुन अगाडि ६६ लाख रुपैयाँ मूल्य राखिएको थियो । 

तर नेपाल आउँदा ८९ लाख ९९  हजार रुपैयाँ पुग्यो । घरमा टेस्ला किन्ने कि भनेर पनि कुरा चल्यो । 

तर टेस्लामा भएको मिनिमलिस्टिक डिजाइनका कारण आमाले मान्नु भएन । मैले परिवारलाई फकाउन खोजें । तर अरुले पनि मान्नु भएन ।

यसैबीच एमजीको जेडएस ईभी फेसलिफ्ट भेरियन्टमा लञ्च हुने कुरा आयो । हामीले नौ लाख रुपैयाँमा त्यो गाडी बुक पनि गर्‍यौं । 

तर गाडी आउने बेला त्यसको पनि मूल्य बढ्यो, ८४ लाख रुपैयाँ पुग्यो । गाडी अहिलेसम्म लिएका छैनौं । 

बुक गर्दाको कागजपत्र भने मैले नै बोकेर हिंडिरहेको छु । एमजी पनि किन्न नसकेपछि कुन लिने भन्नेमा हामी केही अन्यौलमा पर्‍यौं । विकल्प भने हेरिरहेका थियौं । 

करिब ५० लाख रुपैयाँ पर्ने गुड क्याट ओरा वन पनि हेरियो । तर त्यसको बुकिङका लागि निकै समय कुर्नुपर्ने भएकाले त्यो पनि किनिएन । 

त्यही बेला १०० किलोवाटको बीवाईडी एट्टो नेपाल आयो । अनि हामीले त्यो गाडी बुकिङ गर्‍यौं । 

मलाई लाग्छ, बीवाईडी एट्टो थ्री नेपालमा बुकिङ गर्नेमा हामी दोस्रो थियौं । त्यसको दुई महिना पछि मात्र गाडी हाम्रो हातमा पर्‍यो र अहिले म त्यही चलाउँछु ।

यत्रो समय कुरे पनि मलाई दु:ख भने लागेन । किन की हाम्रो परिवारको बिक्रेतासँग राम्रै सम्बन्ध छ । त्यस्तै यसै बीच कर पनि बढेको थियो । 

कतिले पेट्रोल गाडी नै किन्न पनि भनेका थिए । तर म दैनिक १५० देखि २०० किलोमिटरसम्म यात्रा गरिरहेको हुन्छु । मेरो काम र व्यवसाय नै हिंडिरहनु पर्ने किसिमको छ । 

यात्रा गर्दा लाग्ने लागत खर्च कम गर्न मैले बिजुली गाडी (ईभी) नै किन्ने सोच बनाएको थिएँ । मेरा अन्य साथीले समेत बीवाईडी किनेका छन् । तर उनीहरूले त्यतिबेला गाडी समयमै पाउन केही समस्या भोग्नु परेको बताउने गर्छन् ।

हाम्रो कम्पनीमा भने एट्टो थ्री नै तीन ओटा छन् । दुवै गाडी मेरा काकाहरूले चलाउनु हुन्छ । भएका ती एट्टो थ्री सबै सेतै रङमा छन् । 

‘रिसेल भ्यालु’ राम्रो आउने भएका कारण धेरैले सेतो र सिल्भर रङको कार किन्दा रहेछन् । साथै गाडीमा केही भए मर्मत गर्न पनि सजिलो हुने भएपछि हामीले पनि सेतो रङ नै छान्यौं । 

मैले यो गाडी किनेको तीन महिना मात्र भएको छ । यसबाट २५०० किलोमिटर भन्दा यात्रा गरिसकेको छु । अहिलेसम्म यति कुदाउँदा भुईं छोएको छैन । 

तर कोना चलाउँदा भने दुई/तीन पटक ब्याट्री प्लेटले भुईंमा छोएको थियो । यो गाडीमा कम्पनीले दाबी गरेको रेन्ज ४२० किलोमिटर हो । 

तर मैले त्यो भन्दा बढी नै पाएको जस्तो लाग्छ । किन की सीतापाइला (घर) बाट ठमेल पुगेपछि मात्र १०० बाट ९९ प्रतिशतमा झर्छ । 

तर कोनामा भने २९८ किलोमिटर भन्दा बढी पाएको छैन । कम्पनीको दाबी त ३२० किलोमिटर थियो । मैले र अर्को साथीले सँगसँगै कोना किनेका थियौंं । 

उसले ३९८ पाइरहेको बताउँछ । मेरो अर्को दाइले पनि कोना लिनुभएको छ । उहाँले पनि ३५० जति रेन्ज पाइरहेको बताउनु हुन्छ । 

त्यसपछि मैले त्यसबारे कम्पनीसँग पनि कुरा गरें । उताबाट चालकको कुदाउने तरिकाले फरक पार्ने बताएका थिए । 

बीवाईडीले सात किलोवाटको फास्ट एसी चार्जर दिएको छ । हुन्डाइले भने तीन किलोवाटको मात्र दिएको थियो । कोनाको त्यो चार्जरले एट्टो थ्रीलाई चार्ज गर्ने हो भने ३० बाट १०० प्रतिशतसम्म पुग्न ७२ घण्टा लाग्दो रहेछ । 

प्राय: ३२० एम्पियर बिजुली घरमा राखिंदैन । घरमा राख्ने भनेको सिङ्गल फेज हो । त्यसमा सात किलोवाटको चार्जर लगाउनु अलि गाह्रै हुँदो रहेछ । 

त्यही भएर विद्युत प्राधिकरणमा निवेदन दिएर छुट्टै लाइन घरमा ल्याउनु पर्ने रहेछ । मैले दुई हप्ता मात्र भएको छ, सात किलोवाटको चार्जर घरमा जोडेको । फेरी यो बोक्न मिल्ने (पोर्टेबल) चार्जर होइन । 

घरको भित्तामा ड्रिल गरेर राख्नु पर्ने रहेछ । यसबाट भने १८ बाट १०० प्रतिशत पुग्न नौ घण्टा लागेको थियो । मेरो उचाइ ६.१ फिट छ । तर पनि गाडीको सिटमा आरामले बस्न सक्छु । जुन अन्य गाडीमा पाउन गाह्रो छ । 

प्राय: मान्छेले एट्टो थ्रीलाई एमजीको जेडएससँग तुलना गर्ने गर्छन् । तर जेडएसमा एट्टो थ्रीको जति ‘स्पेस’ पाउन गाह्रो छ । त्यसमाथि कम्पनीले नेपाल पठाउने गाडीहरूमा सिट तातो/चिसो बनाउने फिचर दिएको छैन । 

यद्यपि सिट कभर भने राख्न मिल्छ । तर त्यस्तो सिट कभर नेपालमा अहिलेसम्म आएको छैन । त्यसले गर्दा सिट फोहोर हुन्छ भनेर मैले प्लास्टिक झिकेको छैन । 

सिट निलो र सेतो रङमा भएकाले छिट्टै फोहोर हुनसक्छ भनेर नझिकेको हुँ । ४४० लिटरको बुट स्पेस भरी सामान राखेर गाडीमा चार/पाँच जना मान्छे बस्दा मोटरलाई अलि भार हुन्छ । 

तर यसको ‘फर्फमेन्स’मा भने कुनै समस्या छैन । यसबाट म सबैभन्दा टाढा भनेको लामाटारसम्म गएको छु । यसमा उपत्यका बाहिर भने गएको छैन । 

मलाई यसको मन नपर्ने भनेको टायर हो । चिप्लो र उकालो बाटोमा टायरले काम नै गर्दैन । हिल असिस्ट प्रयोग गर्दा पनि गाडी चिप्लिन खोज्छ । घर जाने उकालोमा नै चिप्लिन्छ ।

उता कोनामा भने त्यस्तो समस्या छैन । हालको बजार मूल्य अनुसार दुवैलाई ६६ लाख रुपैयाँ नै पर्छ । तर कोना भने त्यस्तो बाटोमा ‘ग्लु’ टाँसे जसरी अड्किन्छ । 

डिस्प्ले युनिट ल्याउँदा बिक्रेताले ब्याटम्यानको एफाइभ वन भन्ने टायर ल्याएको थियो । त्यसबेला मैले गुनासो गरेको थिएँ । अहिले बेचिरहेकोमा भने एट्लस टायर दिइएको छ । 

तर मैले  बिक्रेतालाई यस बारे खबर भने गरेको छु । सुरक्षाका हिसाबले पनि गाडी अब्बल नै छ । यसमा सात ओटा एयर ब्याग दिइएका छन् । 

३६० डिग्री (चारैतरिरको दृश्य कैद गर्न सक्ने) क्यामेरा पनि छ । प्रिकोलिसन (प्रिडिक्टिभ कोलिसन वार्निङ) र अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टम भने सुरक्षाका हिसाबले राम्रो भए पनि अलि झन्झटिलो छ । 

यी नेपाली बाटोमा उति उपर्युक्त फिचर होइनन् भन्ने लाग्छ । प्रिकोलिसनले छेवैमा कुनै अर्को गाडी आए कानै खाने गरी आवाज निकाल्छ । 

त्यस्तै अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टमले ६० प्रतिशत भन्दा बढी दुर्घटनाको सम्भावना भए गाडी जहाँको त्यहीँ झ्याप्पै रोकिदिन्छ । यो फिचर नेपालका लागि जोखिम देखिन्छ । 

भर्खर कार चलाउन सिकिरहेकाहरूलाई पनि यो गाडी उपयुक्त छ । किन की आरामले यसलाई चलाउन सकिन्छ । प्राय: जति धेरै पेडल दबायो, गाडी त्यति नै बत्तिन्छ । पेट्रोल गाडी चलाइरहेकाहरू यसमा आएर झ्याट्टै एक्सलेरेटर थिचे भने गाडी भित्तामा गएर ठोक्किन सक्छ । 

किनकी पेट्रोल गाडीको तुलानामा ईभी टर्क फरक हो । ईभीको टर्कसँग जिस्कनु हुँदैन । यसको स्क्रिन पनि ठूलो छ, जुन सानो ट्याब्लेट जस्तै छ । 

तर प्रयोग गर्न निकै सजिलो छ । जसमा विभिन्न फङ्सन छन् । ईभी भएपछि आवाज नआउने समस्या हुन्छ । 

तर यो गाडीको आवाज दिन दुई ओटा साउन्ड मोड छन् । यसको चाबी पनि निकै आधुनिक छ । यसमा चार बटन छन् । 

जसबाट गाडी स्टार्ट गर्न, झ्यालहरू खोल्न, बुट स्पेस खोल्न सकिन्छ । गाडीमा वेदर सेन्सर पनि छ । जाडो मौसममा गाडी भित्र नगएरै वायरलेस कीबाट अगाडि नै स्टार्ट गरेर न्यानो बनाइराख्न सकिन्छ । 

यसमा पानारोमिक विन्डो पनि छ । जुन तराईं वा चर्को घाममा काम आउँदैन । जाडोमा गाडीलाई घाम लाग्दा न्यायो बनाउन सकिन्छ । त्यस्तै साथीभाइहरू चढेको बेला रमाइलो गर्न पनि यो काममा आउँछ । 

यसमा भएको आईसीसी (इन्टेलिजेन्ट क्रुज कन्ट्रोल) ले इन्टरनेसनल स्यान्डर्ड अनुसार बनाएका बाटोमा अटोपाइलट (आफैं कुद्ने) फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर मैले कलङ्कीको अन्डर पासमा प्रयोग गरेको थिएँ । 

यी सबै राम्रो हुँदा पनि बीवाईडीको सर्भिस सेन्टर भने नराम्रो भएको साथीहरू सुनाउँछन् । म त यो गाडी लिएर अहिलेसम्म सर्भिस सेन्टर गएको छैन । 

यद्यपि यो एउटा राम्रो गाडी हो । नेपालीहरूका लागि यो निकै राम्रो हुन्छ । सामान्यता: घरमा परिवारका सदस्य थुप्रै हुन्छन् । यसकारण यो परिवारमैत्री एक राम्रो कार हो । 

 

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १२:२३