काठमाडौं । पछिल्लो समय केही आईफोन १४ लाइनअप प्रयोगकर्ताले फोन खरिद गरेको एक वर्ष पनि नबित्दै ब्याट्री हेल्थ अनपेक्षित रूपमा घटेको भन्दै गुनासो गरिरहेका छन् । यससँगै सन् २०१७ मा एप्पलमाथि प्रयोगकर्ताले आईओएसको नयाँ अपडेटले फोनको पर्फमेन्स र ब्याट्री हेल्थ बिगारेको आरोप लगाइ दायर गरेको मुद्दा अन्तिम अवस्थामा आएको छ ।
प्रयोगकर्ताको तर्फबाट मुद्दा लड्ने ल फर्मका अनुसार अमेरिकाको नाइन्थ सर्किट अदालतले दुई प्रयोगकर्ताले दायर गरेको मुद्दा शुक्रबार टुङ्ग्याएको हो । यससँगै एप्पलले आईफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सेभेन, सेभेन प्लस, र पहिलो जेनेरेसनको आईफोन एसई प्रयोगकर्तालाई लाखौं डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
सम्झौताका सर्तहरू अनुसार एप्पलले न्यूनतम ३१ करोड डलरदेखि ५० करोड डलरसम्म क्षतिपूर्ति तिर्नुपर्ने भएको हो । यो रकम कति व्यक्तिले कति रकम पाउनु पर्ने दाबी दायर गरेका थिए भन्नेमा निर्भर हुन्छ । यदि तपाईं माथि उल्लेख गरिएका डिभाइसको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले क्षतिपूर्ति वापत यो रकम पाउनुहुन्न । किनभने दाबी गर्ने मिति अक्टोबर २०२० सम्म मात्र थियो ।
त्यसबेला जजसले वेबसाइटबाट क्षतिपूर्ति रकम दाबी गरेका थिए र दाबी स्वीकृत भएको थियो, उनीहरूले एप्पलका तर्फबाट अपेक्षित ६५ डलर पाउन सक्नेछन् । उक्त मुद्दाबारे थप थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
यो घटनालाई एपप्लको ब्याट्रीगेट विवाद नाम दिइएको थियो । सन् २०१७ मा आईफोन प्रयोगकर्ताले सो फोनको ब्याट्री पुरानो हुँदै जाँदा आईओएसले कृत्रिम रूपमा फोनको प्रोसेसरको स्पीड घटाउने गरेको पत्ता लगाएका थिए । कम्पनीले भने फोन एक्कासि अफ हुन नदिन यस्तो विशेषता ल्याएको बताएको थियो ।
तर, प्रयोगकर्ताले भने कम्पनीले प्रयोगकर्तालाई नयाँ फोन खरिद गर्न वाध्य बनाउनका लागि यस्तो गरेको आरोप लगाएका थिए । जसलाई एप्पलले बारम्बार अस्वीकार गरिरह्यो । तर पछि भने कम्पनी प्रयोगकर्ताले मागेको क्षतिपूर्ति तिर्न राजी भएको थियो ।