close

अनलाइनमा आम्दानी गर्न सकिने भन्दै स्पोडनेटको नेटवर्किङ धन्दा, यसरी ठगिंदैछन् लाखौं नेपाली

हिक्मत आचार्य हिक्मत आचार्य

साउन ३१, २०८० १२:४१

अनलाइनमा आम्दानी गर्न सकिने भन्दै स्पोडनेटको नेटवर्किङ धन्दा, यसरी ठगिंदैछन् लाखौं नेपाली

काठमाडौं । पछिल्लो समय नेपालमा स्पोडनेट नामको एक वेबसाइट भित्रभित्रै चर्चित छ । विशेषगरी तीन हजारदेखि छ हजार लगानी गर्दा हप्तामा लाखौं रुपैयाँ कमाउन सकिने भन्दै यसको प्रचार भइरहेको छ । 

सामाजिक सञ्जालमा विज्ञापन गर्नेहरूसँग कुरा गर्दै जाँदा उनीहरूले यो कम्पनीले नेपालमा कानूनी मान्यता पाएको भान गराउँछन् र अन्तिममा डिजिटल लर्निङ कोर्स खरिद गर्न लगाउँछन् । कोर्स खरिद गरिसकेपछि आम्दानीका लागि अन्य व्यक्तिहरूलाई उक्त कोर्स रिफर गर्न लगाइन्छ । 

कोर्सभन्दा पनि रिफर गरेरै आम्दानी गर्न सकिने नाममा त्यसैमा संलग्न गराउँछन् । यसरी इन्टरनेट तथा अनलाइनबाटै पैसा आम्दानी गर्न सकिने प्रलोभनमा सामान्य प्रयोगकर्तालाई उल्लु बनाइन्छ । 

पछिल्लो समय यो स्पोडनेटको प्रचारका लागि बनाइएका युट्युब भिडिओ, टिकटक लगायतका सामग्री बेग्रेल्ती भेटिन थालेका छन् । 

के हो स्पोडनेट ? 

स्पोडनेट वेबसाइटका अनुसार यो भारतमा अवस्थित डिजिटल कोर्स उपलब्ध गराउने एउटा प्लेटफर्म हो । तर, यो वेबसाइटको बारेमा बुझ्दै जाँदा डिजिटल कोर्समा कम र अन्य विषयमा बढी सक्रिय भएको देखिन्छ । 

वेबसाइटमा २५ हजार बढीले कोर्स खरिद गरेको, २० भन्दा बढी कोर्स उपलब्ध गराउने गरेको, एक हजारभन्दा बढी लाइभ ट्रेनिङ भइरहेको र मानिसहरूले तीन करोड २५ लाख बढी आम्दानी गरिसकेको उल्लेख गरिएको छ । 

प्रचार गर्नेहरूसँग कुरा गर्दा उनीहरूले कोर्स भन्दा पनि नेटवर्किङबाट आम्दानी हुने भन्दै त्यसैमा लाग्न सुझाव दिने गरेको पाइयो । 

कस्तो कोर्स सिकाउँछ स्पोडनेट ?

स्पोडनेटले सञ्चार गर्न सक्ने सीप, अङ्ग्रेजी भाषा, मेटा (फेसबुक) विज्ञापनको कोर्स, एफिलियट मार्केटिङ, सोसल मिडिया मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, युट्युब लगायत अन्य कोर्सहरू उपलब्ध गराउने दाबी गरेको छ । यी कोर्सको मूल्य तीन हजारदेखि छ हजार रुपैयाँ तोकिएको छ । 

तर, शुल्क भने वेबसाइटबाटै नेपाली मुद्रामा तिर्न सकिने सुविधा भने छैन । त्यसका लागि एजेन्ट आवश्यक पर्छ । 

त्यस्ता एजेन्टले आफ्नो प्रोमोकोड दिएर कोर्स खरिद गर्न सुझाव दिन्छन् । यसरी कोर्स लिन सकिने कम्पनीको विज्ञापन गर्नेहरूको दाबी छ । 

तर, सुरुवातमा उनीहरूले भने जसरी कोर्स सिकेर त्यति आम्दानी गर्न भने सकिँदैन । आम्दानी गर्नका लागि आफ्नो प्रोमो कोड दिएर आफूले सो व्यक्तिबाट पाएको रकम माथिल्लो तहको व्यक्तिलाई दिनुपर्छ ।  

कम्पनी दर्ता प्रमाणपत्रको भरमा कानूनी भएको दाबी 

स्पोडनेटका एजेन्टसँगको कुराकानीमा हामीले यसमा आशंका व्यक्त गर्‍यौं । उनले कम्पनी दर्ताको आधिकारिक कागजपत्रको प्रतिलिपि नै पठाए । 

विशेषगरी उनीहरूले उपलब्ध गराउने भनेको कम्पनी रजिस्ट्रार कार्यालयबाट प्राप्त प्रमाणपत्र मात्र हो । कम्पनी दर्ताको प्रमाणपत्रको तलपट्टि शर्त पनि उल्लेख गरिएको हुन्छ । 

जसमा भनिएको हुन्छ, “सर्त: कम्पनी संस्थापनलाई मात्र कम्पनीको उद्देश्य कार्यान्वयन गर्ने इजाजत प्रदान गरिएको नमानिने हुनाले कानून अनुसार लिनुपर्ने अनुमति सम्बन्धित निकायबाट लिएर मात्र कम्पनीको उद्देश्य अनुसार कारोबार गर्नु पर्नेछ ।”

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार अहिले सहजै अनलाइनबाट कम्पनी दर्ता गर्न सकिन्छ । तर, कम्पनी कुन उद्देश्यले खोलिएको हो, त्यही अनुसार व्यवसाय सञ्चालन गर्नका लागि भने सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ । 

स्पोडनेटका एजेन्टले भने कम्पनी रजिस्ट्रार कार्यालयको प्रमाणपत्र बाहेक अन्य कुनै पनि निकायबाट प्राप्त प्रमाणपत्र उपलब्ध गराउन सकेनन् । 

अन्य प्रमाणपत्र माग्दा एजेन्टहरू जवाफ बिहिन बने । एजेन्टहरूले तिनै कागजातको भरमा नेपालीहरूलाई नेटवर्किङ व्यवसायमा आवद्ध गराइरहेका छन् । 

वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ तथा नियमावली, २०७६ ले इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने सम्बन्धी व्यवसाय गर्न वस्तुको खरिद बिक्री गरी वा नगरी; सदस्य बनाई वा बिक्रेता/वितरकमार्फत शुल्क मात्र लिने गरी पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । 

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७४ ले पनि यस प्रकृतिको कार्यलाई अनुचित व्यापारिक क्रियाकलाप मानी दण्डनीय कसुरका रूपमा लिएको छ । 

कसरी नेटवर्किङ बिजनेसमा जोडिन्छ स्पोडनेट ?

नेपालमा उक्त कम्पनी सञ्चालनमा आएको भनिएको छ । तर उनीहरूको वेबसाइटमा न कम्पनीको नेपाली ठेगाना उल्लेख छ, न त नेपालका प्रतिनिधिको सम्पर्क नै छ । त्यसमा उल्लेख गरिएका सबै नाम भारतीय छन् । 

सिमिलर वेबका अनुसार स्पोडनेटका एक लाख ११ हजार बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । जसमा ९० प्रतिशत नेपालबाटै छन् भने बाँकी भारतबाट । 

जुन कम्पनी भारतमा खोलिएको भनिएको छ, आफ्नै देशमा कम्पनीका त्यति थोरै प्रयोगकर्ता कसरी हुन सक्छन् ? आशंका गर्ने यो अर्को आधार हो ।

त्यस्तै कम्पनी नेपालमा सञ्चालनमा छ भनिएको छ । तर भुक्तानीका सबै माध्यम भारतीय मात्र छन् । नेपालीले भुक्तानी गर्न एजेन्टलाई सम्पर्क गर्नुपर्ने हुन्छ । एजेन्ट सबै नेटवर्किङको माध्यमबाट आबद्ध भएका छन् । 

त्यस्तै एजेन्टहरू कसैले पनि सुरुवातमै डिजिटल कोर्स खरिद गरेर पछि त्यसैलाई सीपका रूपमा प्रयोग गरेर आम्दानी गर्न सकिन्छ भन्दैनन् । त्यसको साटो उनीहरू रिफर गरेरै बढी आम्दानी गर्न सकिने सुझाव दिन्छन् । 

हामीले आफ्नो परिचय लुकाएर स्पोडनेटको प्रचारमा संलग्न अंश चौधरीसँग उनको मोबाइलमा कुरा गर्‍यौं । 

“मेरो प्रोमोकोड तपाईंले प्रयोग गर्नुभयो र छ हजार रुपैयाँमा गोल्ड प्याकेज लिनुभयो भने त्यसमा मैले चार हजार कमिसन पाउँछु,” उनले भने, “मैले तपाईंको अकाउन्ट बनाउने भनेर तपाईंको नाम, फोन नम्बर, ईमेल एड्रेस, लिडरको नाममा आफ्नो नाम राखेर मेरो लिडरलाई पठाउँछु ।” 

“मेरो लिडरले ती विवरणमा सिनियर लिडरको ठाउँमा आफ्नो नाम राखेर अर्को लिडरलाई पठाउँछ । त्यसरी सबैभन्दा माथिको लिडरले कोर्सको पैसा बुझाउँछ ।” 

उनका अनुसार जति धेरैलाई कोर्स खरिद गर्न लगायो, त्यति नै आम्दानी गर्न सकिन्छ । “कोर्स लिएरपछि हाम्रो स्पोडनेटको ग्रुप छ, त्यसैमा एड हुन सकिन्छ । त्यहाँ नेपालका सबै लिडरहरू छन् । हरेक दिन जुम मिटिङ हुन्छ,” उनले अगाडि भने । 

यहाँ सबै कुराहरू हेर्दा पिरामिड स्किम चलिरहेको प्रष्ट हुन्छ । डिजिटल कोर्स सिक्ने र अनलाइनबाटै पैसा कमाउने नाममा यो गैर कानूनी धन्धामा लाखौं नेपाली फसेको अनुमान छ ।

पिरामिड स्किममा सबैभन्दा माथि जो व्यक्ति छ, वा जसलाई उनीहरू ‘हाम्रो लिडर’ भनिरहेका छन्, उनीहरूले नै बढी आम्दानी गर्छन् । तलतिर भएका व्यक्तिहरू न राम्रोसँग डिजिटल कोर्स सिक्न पाउँछन्, न त रिफर गरेर आम्दानी गर्न । 

यो वेबसाइट विरुद्ध सामाजिक सञ्जालमा सयौं नकारात्मक प्रतिक्रिया पनि आइरहेका छन् । जसको प्रतिवाद गर्दै स्पोडनेटको बचाउमा एजेन्टहरू उत्रिन्छन् । 

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १४:२८