नेपाल टेलिकमको सञ्चालन पहिलो पटक घाटामा, कूल सञ्चालन आयभन्दा खर्च २६ करोड बढी
साउन ३१, २०८० २२:१०
काठमाडौं । सरकारी लगानीको दूरसञ्चार कम्पनीको रूपमा रहेको नेपाल टेलिकमको सञ्चालन पहिलो पटक घाटामा गएको छ । कम्पनीको आर्थिक वर्ष २०७९-०८० को अन्तरिम वित्तीय प्रतिवेदनमा सञ्चालन आयभन्दा खर्च धेरै देखिएको हो ।
प्रतिवेदन अनुसार साउन २०७९ देखि असार २०८० सम्मको १२ महिनामा कम्पनीको कूल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको छ । जब कि सोही अवधिमा टेलिकमको कूल खर्च भने ३७ अर्ब छ करोड ३७ लाख ४६ हजार रुपैयाँ छ ।
यसरी हेर्दा कम्पनी २५ करोड ९८ लाख १५ हजार रुपैयाँले घाटामा गएको देखिन्छ । सो अवधिमा कम्पनीले कर्मचारीको सेवा सुविधामा आठ अर्ब ३३ लाख, सञ्चालन तथा मर्मत सम्भारमा सात अर्ब ५० करोड १२ लाख, नियामकीय शुल्क, जरिवाना तथा नवीकरणमा सात अर्ब ८० करोड १९ लाख, प्रशासनिक तर्फ एक अर्ब २५ करोड आठ लाख, बिक्री तथा बजार प्रवर्द्धनमा २६ करोड ३१ लाख र विभिन्न कम्पनीहरूमा गरेको शेयर लगानीतर्फ १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस बाहेक डिप्रिसियसनमा ५ अर्ब १९ करोड ९५ लाख, एमोर्टेसनमा एक अर्ब १९ करोड एक लाख, वित्तीय लागतमा ४७ करोड ५० लाख र इम्लिमेन्टेसन-नेट अफ रिभर्सलमा १५ करोड सात लाख नोक्सान भएको छ । त्यस्तै कम्पनीले चार अर्ब ७७ करोड ५७ लाख आयकरमा खर्च गरेको छ ।
उपलब्ध विगत ११ आर्थिक वर्षमा नेपाल टेलिकमको गत आर्थिक वर्ष २०७९/८० को कूल सञ्चालन आय पाँचौं ठूलो हो । गत आवलाई छोड्ने भो भने बाँकी १० आर्थिक वर्षमा सबैभन्दा थोरै सञ्चालन मुनाफा भएको वर्ष २०७६/७७ हो ।
उक्त आर्थिक वर्षमा कूल सञ्चालन आय ३४ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो भने कम्पनी सञ्चालनबाट एक अर्ब ३८ करोड १५ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको थियो ।
२०७६/७७ को तुलनामा दुई अर्ब १८ करोड ३९ लाख रुपैयाँले गत आव २०७९/८० मा कूल सञ्चालन आय वृद्धि हुँदा समेत अनियन्त्रित खर्चले नेपाल टेलिकम घाटाको स्थितिमा पुगेको हो ।
विगत ११ वर्षमा नेपाल टेलिकमको कूल सञ्चालन आय, कूल खर्च र सञ्चालन मुनाफा स्थिति (रकम रु. लाखमा)
|
आर्थिक वर्ष |
कूल सञ्चालन आय |
कूल खर्च |
सञ्चालन मुनाफा |
|
२०६९/७० |
341408 |
275591 |
65817 |
|
२०७०/७१ |
355814 |
275873 |
79941 |
|
२०७१/७२ |
371882 |
273088 |
98793 |
|
२०७२/७३ |
40,704,1 |
305280 |
101761 |
|
२०७३/७४ |
40,742,5 |
298142 |
109282 |
|
२०७४/७५ |
39,023,3 |
277857 |
112376 |
|
२०७५/७६ |
36,784,9 |
332738 |
35110 |
|
२०७६/७७ |
34,6200 |
332385 |
13815 |
|
२०७७/७८ |
35,903,7 |
341847 |
17190 |
|
२०७८/७९ |
37,919,8 |
359039 |
20159 |
|
२०७९/८० |
36,803,9 |
370637 |
-2598 |
स्रोतः नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वित्तीय प्रतिवेदन
विभिन्न बैंक खातामा रहेको मुद्दती निक्षेपबाट प्राप्त ब्याज र विदेशी मुद्रा विनिमयको लाभबाट नेपाल टेलिकमको कूल आम्दानीले प्राविधिक रूपमा भने कम्पनी नाफामा रहेको देखिन्छ । त्यस बाहेकको हिसाब किताबमा हेर्दा कूल सञ्चालन आयबाट नेपाल टेलिकमको खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा टेलिकमले बैंक खातामा रहेको बचतबाट मात्रै सात अर्ब ७६ करोड ५१ लाख २३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । कम्पनीको कूल मुनाफा उक्त ब्याज आम्दानीभन्दा मात्र तीन करोड ९४ लाख चार हजार रुपैयाँले बढी छ ।
यसरी हेर्दा नेपाल टेलिकमको कूल मुनाफाको ९९.५० प्रतिशत बैंकको ब्याजले धानिरहेको छ अर्थात कम्पनीले सेवा बिक्री गरेर नभई बैंक ब्याज प्राप्त ब्याज रकमलाई नै मुनाफाको रूपमा देखाउने अवस्था छ ।
पछिल्लो अध्यावधिक: साउन ३१, २०८० २२:१०
