काठमाडौँ । एडोबी वर्षौंदेखि डिजाइन उद्योगमा बजारको शीर्ष स्थानमा रहँदै आएको छ । धेरै कम्पनीले एडोबीलाई हराउने प्रयास गरे । तर पराजित गर्ने सामर्थ्य कसैले राखेनन् । अर्बौं डलरका दिग्गज माइक्रोसफ्ट र एप्पलजस्ता कम्पनी पनि त्यही लयमा लागे । उत्कृष्ट प्रतिभा र स्रोत अनि विन्डोज र म्याकको विशाल वितरण सञ्जाल हुँदाहुँदै पनि उनीहरूले एडोबीको एकाधिकार तोड्न सकेनन् । त्यसबाहेक अन्य प्रतिस्पर्धी पनि मैदानमा थिए ।
यही प्रतिस्पर्धाको जञ्जालमा एक १९ वर्षीया युवती मेलानी पर्किन्सको उदय भयो । प्रविधिको त्यति ज्ञान नभएकी उनले सञ्चार र मनोविज्ञान पढेकी थिइन् । उनकै रचनात्मक क्षमताले दिग्गज एडोबीलाई हराउने आँट गर्यो । र, २०१२ मा उनले आफ्नो प्रडक्ट लन्च गरिन् । त्यो हो तपाईं हामीले अहिले डिजाइनका लागि प्रयोग गर्दै आएको ‘क्यान्भा’ ।
किशोरावस्थामा अष्ट्रेलियाली उद्यमी पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टले माइक्रोसफ्ट र एडोबीजस्ता कम्पनीलाई चुनौती दिने सपना देखेका थिए । “मलाई लाग्छ हाम्रो लक्ष्य सम्पूर्ण डिजाइन इकोसिस्टमलाई एउटै पेजमा एकीकृत गर्ने र त्यसपछि यसलाई सम्पूर्ण सबैका लागि पहुँचयोग्य बनाउनु थियो,” पर्किन्सले एक अन्तर्वार्तामा भनेकी थिइन् ।
क्यान्भाको अवधारणा एकदमै सरल थियो । त्यो हो, ‘सबैका लागि डिजाइन ।’ तर क्यान्भालाई वास्तविकतामा ल्याउनु त्यति नै गाह्रो थियो ।
“मलाई लाग्छ त्यो साँच्चै चुनौतीपूर्ण समय थियो । किनभने हामी एउटा प्रडक्ट कम्पनी थियौं र हामीले प्रडक्ट बजारमा ल्याइरहेका थिएनौं,” पर्किन्सले भनिन् । धेरै लगानीकर्ताहरूले उनको हाँसो उडाए । १०० भन्दा बढी भेन्चर क्यापिटलिस्टले उनको विचार अस्वीकार गरे ।
“त्यो क्षण साँच्चै गाह्रो थियो । हामीले सयौं लगानीकर्तालाई प्रस्ताव गर्यौं । तर, पटक-पटक अस्वीकृत भयौं । यो त्यसबेला साँच्चै दिक्कलाग्दो थियो,” उनले सुनाइन् ।
उनीहरूले प्राविधिक टोली खोज्नमै तीन वर्ष लगाए । उनीहरू त्यस्तो टिमको खोजीमा थिए, जसले पर्किन्स र उनका प्रेमीको सपनालाई वास्तविक स्वरूपमा ढाल्न सकून् । मेलानी पर्किन्सले एक अन्तर्वार्तामा भनेकी थिइन्, “तीन वर्षसम्म लगानीकर्ताहरूलाई प्रस्ताव गर्ने, प्राविधिक टोली खोज्ने प्रयास गर्यौं । हामीले अन्ततः २०१२ मा ती काम पूरा गर्यौं । र त्यसपछि एक वर्ष प्लेटफर्म विकासमा लाग्यो ।”
उनीहरूको प्रडक्ट बजारमा आइसकेपछि दिग्गज एडोबीले कयौं पटक क्यान्भालाई समाप्त गर्ने अनेक प्रयास गर्यो । उसका धेरै फिचर नक्कल गर्यो । तर पनि पर्किन्सले केही यस्तो गरिन् जसले गर्दा आज क्यान्भासँग २० करोड बढी प्रयोगकर्ता छन् । यसको बजार मूल्य ४० अर्ब डलर छ । र आज मेलानी पर्किन्स विश्वकै सबैभन्दा कान्छी महिला अर्बपतिहरूमध्ये एक हुन् ।
२०१३ मा सेवा दिने गरी सञ्चालन गरेको पाँच वर्षपछि यसको बजार मूल्य एक अर्ब डलर पुग्यो । कम्पनीले यो स्तरको चर्चा र आम्दानी गरेपछि उनी केवल ३० वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छी महिला टेक युनिकर्न संस्थापकमध्ये एक बनिन् ।
आखिर यो सब कसरी भयो ? एक १९ वर्षीया युवतीले डिजाइनमा यस्तो के देखिन्, जुन त्यसबेला सबैले कल्पना गरेको विचारभन्दा बाहिर थियो ? पर्किन्स र उनका प्रेमीले आखिर कुनै प्राविधिक ज्ञान बिना, प्रविधि क्षेत्रका दिग्गज माइक्रोसफ्ट र एडोबीलाई उनीहरूकै खेलमा कसरी हराए ? जब एडोबी लगायतका अन्य प्लेटफर्मले धेरै फिचर नक्कल गर्ने प्रयास गरे, तब पनि आखिर क्यान्भाले यस्तो के गर्यो जसले गर्दा उसलाई कसैले समाप्त गर्न सकेन ? यस लेखमा हामी क्यान्भाको यात्रा मात्र होइन, उनीहरूका रहस्य र विजयी रणनीतिहरू चर्चा गर्दैछौं:
क्यान्भाको रणनीति बुझ्नुअघि क्यान्भा कसरी सुरु भयो भन्ने बुझ्नुपर्छ । मेलानी पर्किन्सको जन्म पर्थ, पश्चिमी अष्ट्रेलियामा भएको थियो । उनका बुबा इलेक्ट्रिकल इन्जिनियर थिए भने आमा एक शिक्षिका थिइन् । मेलानीलाई आफ्नी आमाका कारण पढाउने पनि धेरै शौक थियो । र त्यसैले विश्वविद्यालयमा पढ्दै गर्दा उनी साँझको समयमा अतिरिक्त आय आर्जन गर्न विद्यार्थीलाई एडोबी इनडिजाइन र फोटोशप सिकाउँथिन् ।
विद्यार्थीलाई फोटोशप र इनडोजाइन सिकाइरहँदा ‘धेरै विद्यार्थीहरू केही दिनपछि नै यो कोर्स छोडिदिने’ गरेको अनौठो घटना उनले देखिन् । ती विद्यार्थी फर्किएर क्लास लिन कहिल्यै आउँदैनथे । पर्किन्सले कयौं पटक आफ्नो पढाउने शैली परिवर्तन गर्ने प्रयास गरिन् । तर पनि विद्यार्थीहरू बिचमै कक्षा छोडेर जाने क्रम रोकिएन । फेरि पर्किन्सले यीमध्ये केही विद्यार्थीसँग कुरा गर्दा के थाहा पाइन भने ‘यी सफ्टवेयर धेरै नै अलमल्ल पार्ने र जटिल छन् । र सबै कम्प्युटरले सपोर्ट पनि गर्दैनन् ।’
त्यसपछि पर्किन्सलाई समस्या शिक्षण शैलीमा होइन यी सफ्टवेयरमा छ भन्ने महसुस भयो । यसपछि उनले अरू धेरै सफ्टवेयर खोजिन् । ती सबै सफ्टवेयरमा उनले चार मुख्य समस्या देखिन् । पहिलो, सबै सफ्टवेयर निकै जटिल थिए । दोस्रो एसेट्स (डिजाइन सामग्री) को कुनै पूर्वनिर्धारित लाइब्रेरी थिएन । हरेक डिजाइनरले कयौं वर्ष लगाएर आफ्नो एसेट्सको लाइब्रेरी बनाउनुपर्ने हुन्थ्यो ।
तेस्रो यी सफ्टवेयरहरू चलाउन महँगो र बढी क्षमता भएको पीसी चाहिन्थ्यो । र, चौथोमा यी सफ्टवेयरहरू धेरै महँगो थिए जसलाई केवल पेशेवरले मात्र किन्न सक्छन् । यिनै चार समस्याका कारण सामान्य प्रयोगकर्ताले डिजाइन बनाउन सक्दैनथे । र, यही कुरा पर्किन्स परिवर्तन गर्न चाहन्थिन् । उनी डिजाइन पेसेवर व्यक्तिले मात्र नभई सबैले गर्न सक्ने किसिमको हुनुर्छ भन्ने ठान्थिन् ।
यी समस्या पर्किन्सले आफ्ना प्रेमी क्लिफ ओब्रेक्टलाई सुनाइन् । र फेरि दुवै मिलेर यो समस्या समाधान गर्न लागे । डिजाइन एक निकै विशाल क्षेत्र हो । यी दुई जनासँग स्रोत पनि त्यति थिएन । त्यसैले पहिले उनीले डिजाइनको पनि एक विशिष्ट क्षेत्र रोजे । पर्किन्सकी आमा पहिले नै शिक्षिका थिइन् । त्यसैले उनलाई ‘हरेक वर्ष शिक्षक र विद्यार्थीले इयरबुक (वार्षिक पुस्तक) बनाउन निकै संघर्ष गर्छन्’ भन्ने थाहा थियो ।
त्यसैले दुवै जना मिलेर सबैभन्दा पहिले यही समस्या समाधान गर्न लागे । त्यसका लागि उनीहरूले सन् २००७ मा ‘फ्युजन बुक्स’ लन्च गरे । फ्युजन बुक्स एउटा सरल डिजाइन सफ्टवेयर थियो जसमा इयरबुक बनाउनका लागि धेरै टेम्प्लेटहरू थिए । शिक्षक र विद्यार्थीले त्यही टेम्प्लेटमा आफ्ना कन्टेन्ट राख्न सक्थे ।
उनीहरूलाई यो सरल युजर इन्टरफेस निकै मन पर्यो । र फेरि केही वर्षमै फ्युजन बुक्स अष्ट्रेलियाको सबैभन्दा ठुलो इयरबुक प्रकाशक कम्पनी बन्यो । फ्युजन बुक्सको यही सफलता देखेर पर्किन्सलाई अवधारणाको प्रमाण (प्रुफ अफ कन्सेप्ट) मिल्यो । उनलाई यो कन्सेप्ट साँच्चै काम लाग्ने रहेछ भन्ने लाग्यो ।
उनलाई केवल स्कुल इयरबुक मात्र होइन सम्पूर्ण डिजाइन उद्योगमा क्रान्ति ल्याउनु थियो । र, यही मिसनका साथ उनले २०१२ मा एउटा कम्पनी स्थापना गरिन् । त्यही कम्पनीलाई आज हामी क्यान्भा नामले चिन्छौं ।
‘डिजाइनलाई सरल बनाउने’ उनीहरूको उद्देश्य निकै सरल थियो । तर, क्यान्भालाई वास्तविकतामा ल्याउनु त्यति नै गाह्रो थियो । खासगरी डिजाइन प्रक्रियालाई सरलीकरण गर्नका लागि उनीहरूले पहिले विद्यमान सफ्टवेयरका फिचर नक्कल गर्नुपर्थ्यो । त्यसपछि मात्र उनीहरूले यी फिचर थप्न सक्थे । त्यसैले पहिले नक्कल, त्यसपछि सरलीकरण । तर जुन कुरा माइक्रोसफ्ट र एप्पलजस्ता ठुला कम्पनीले गर्न सकेनन्, अझ त्यही क्षेत्रको अग्रणी कम्पनी एडोबी आफैंले समाधान गर्न सकेन, आखिर त्यो समस्यालाई यो जोडीले कसरी समाधान गरेर देखायो ?
खैर यो प्रश्नको उत्तर एक लाइनको छ । उनीहरूले डिजाइन सफ्टवेयर बनाउने सम्पूर्ण प्रक्रिया नै परिवर्तन गरिदिए । उनीहरूले डेस्कटप-आधारित सफ्टवेयर बनाउनुको सट्टा ब्राउजरमा सहजै प्रयोग गर्न सकिने वेबसाइट बनाउने निर्णय गरे । यसलाई ‘ब्राउजर फर्स्ट एप्रोच’ पनि भनिन्छन् ।
अहिलेसम्मका सबै डिजाइन सफ्टवेयरका नेटिभ एप थिए जसलाई तपाईंले खरिद गरेर इन्स्टल गर्नुपर्थ्यो । तर, क्यान्भाले नेटिभ एप्लिकेसन बनाउनुको सट्टा एउटा वेब एप बनाएको थियो जसलाई प्रयोग गर्न तपाईंले आफ्नो ब्राउजरबाट क्यान्भाको वेबसाइटमा जानुपर्छ । यो ब्राउजरमा आधारित वेबसाइटका कारण क्यान्भालाई चार फाइदा मिले । पहिलो, उक्त वेबसाइट प्रयोग गर्न शक्तिशाली कम्प्युटरको आवश्यकता नपर्ने भयो । किनभने यी सबै प्रशोधनका काम क्लाउडमा भइरहेको थियो । दोस्रो एडोबीका जस्ता क्र्याक भर्सन सार्वजनिक हुने जोखिम क्यान्भामा थिएन । किनभने यो सिधै इन्टरनेटसँग जोडिएको थियो । तेस्रो यसले तत्काल अपडेट र बग समाधान गर्न सक्छ । जबकि अन्य कम्पनीले बारम्बार नयाँ अपडेट पठाउनुपर्छ र प्रयोगकर्ताले तिनलाई डाउनलोड गर्नुपर्छ । त्यसैगरी चौथो हो मोबाइल सपोर्ट ।
क्यान्भाको सबै प्रशोधनका काम क्लाउडमा भइरहेकाले उनीहरूका लागि क्यान्भाको मोबाइल एप सार्वजनिक गर्न निकै सजिलो थियो । जबकि अन्य कम्पनीका प्रडक्ट फोनको कम शक्तिशाली चिप्स र र्यामका कारण सीमित छन् । वास्तवमा फोटोशपको एप पनि २०२५ मा आईफोनका लागि लन्च भएको छ जसमा अझै पनि धेरै कम फिचर छन् । यो एप एन्ड्रोइडका लागि अझै आइसकेको छैन । जबकि क्यान्भाले आफ्नो मोबाइल एप १० वर्ष पहिले अर्थात् २०१६ मा लन्च गरिसकेको थियो ।
क्यान्भाको यो दृष्टिकोणकालाई धेरै कम्पनी र लगानीकर्ताले हाँसो उडाएका थिए । किनभने त्यसबेला एडोबी फ्ल्यासको जमाना थियो । त्यस समयका वेबसाइटमा प्रायः पेज, लिङ्क र धेरै कम फोटो हुन्थे । सामान्य एनिमेसन र फोटो क्रप गर्नुपर्दा पनि त्यसका लागि एडोबी फ्ल्यास प्लगइन चाहिन्थ्यो ।
ब्राउजरले डिफल्ट रूपमा यी काम गर्न सक्दैनथे । त्यसैले कसैले पनि डिजाइन एपलाई ब्राउजरमा बनाउने सोचेकै थिएनन् । यहाँ क्यान्भाको अवधारणा वास्तविकतमा आउने सम्भावना १ प्रतिशत मात्र थियो भन्दा पनि फरक नपर्ला । तर, क्यान्भाको अवधारणा जुन समयमा आयो त्यो एकदमै सही साबित भयो ।
यसपछि तीन यस्ता काम भए जसले गर्दा पूरै खेल फेरि बदलियो । सन् २०१२ को हाराहारीमा क्यान्भा कम्पनीको रूपमा दर्ता हुँदा एचटीएमएलको स्टेबल भर्सन आएको थियो । र, त्यसलाई क्रोम, फायरफक्स, सफारी र इन्टरनेट एक्सप्लोरर लगायत सबै ब्राउजरले डिफल्ट बनाए । एचटीएमएलमा ‘क्यान्भास’ (Canvas) को विकल्प हुन्छ जसमा तपाईं ब्राउजरमा मूलतः चित्र कोर्न सक्नुहुन्छ । यही कारणले ब्राउजरमा फोटो, भिडियो, एनिमेसन यी सबैको रेन्डरिङ सम्भव भएको थियो । यता क्यान्भाले कोडको पहिलो लाइन पनि एचटीएमएलमै लेखिएको थियो । पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टको भेट त्यही समयमा अस्ट्रिलेयाली उद्यमी क्यारेमोन एडम्ससँग भयो । उनले सन् २००७ मा गुगलमा काम गर्न थालेका थिए । सन् २०११ मा ईमेल स्टार्टअप फ्युइन्ट स्थापना गरेका उनको भेट ती जोडीसँग जुलाई २०१२ मा भएको थियो । पहिले उनी सल्लाहकारका रूपमा क्यान्भामा जोडिन खोजेका थिए । तर, त्यसको अवधारणा चित्त बुझेपछि उनी सह-संस्थापककै रूपमा कम्पनीमा जोडिए ।
यसपछि फेसबुक र इन्स्टाग्रामको जमाना आयो । र सामाजिक सञ्जाल मार्केटिङ निकै लोकप्रिय बन्यो । सबै व्यवसायलाई पोस्टर, डिजाइन, निमन्त्रणा कार्ड यी सबैको आवश्यकता पर्न थाल्यो । र यही कारणले कम्पनीमा सरल डिजाइन सफ्टवेयरको माग बढ्यो । क्यान्भाको सरल युजर इन्टरफेस र ब्राउजर केन्द्रित भएकाले क्यान्भा प्रयोगकर्ताको पहिलो रोजाइ बन्यो ।
अब क्यान्भालाई सबै देशमा विस्तार गर्न गाह्रो थियो किनभने उनीहरूले पहिले सबै देशका प्रयोगकर्ताको माग बुझ्नुपर्थ्यो । खासगरी डिजाइनमा देश अनुसार रोजाइ पनि फरक हुन्छ । त्यसैअनुसार त्यहाँ आफ्ना सर्भरहरू सेटअप गर्नुपर्थ्यो । तर त्यही बीचमा अमेजन वेब सर्भिस, एज्युअर जस्ता क्लाउड सेवाहरू मूलधारमा आए । यसले गर्दा कम्पनीलाई सर्भर व्यवस्थापन गर्न आवश्यक परेन ।
त्यो काम यी क्लाउड सेवा प्रदायकले गरिदिन्थे । र, यही कारणले क्यान्भा धेरै कम समयमा १९० देशमा विस्तार हुन सक्यो । र फेरि अन्ततः क्यान्भाले आफ्नो मोबाइल एप लन्च गर्यो । यो पनि धेरै प्रयोगकर्तालाई निकै चित्त बुझ्यो । वास्तवमा आज पनि क्यान्भाका ५० प्रतिशत प्रयोगकर्ता मोबाइल प्रयोग गर्छन् । यसरी क्यान्भाको ब्राउजर-पहिलो दृष्टिकोण र सामाजिक सञ्जाल मार्केटिङका कारण क्यान्भाले निकै ठुलो बढावा पायो । र, मेलानी पर्किन्स विश्वकै सबैभन्दा कान्छी महिला अर्बपतिहरूमध्ये एक बनिन् ।
क्यान्भाको यो ‘ब्राउजर-पहिलो मोडेल’ यति सफल हुँदा एडोबीले यो मोडेललाई नक्कल गरेर क्यान्भालाई किन समाप्त गरिदिएन ? त्यसको पनि उपयुक्त जवाफ छ । यदि तपाईंले क्यान्भालाई नजिकबाट नियाल्नु भयो भने थाहा पाउनु हुन्छ; क्यान्भाको लक्ष्य कहिल्यै एडोबीसँग प्रतिस्पर्धा गर्नु थिएन । बरु डिजाइनलाई सरल बनाउनु थियो । यदि हामीले क्यान्भा र फोटोशपलाई जटिलता विरुद्ध अधिक शक्तिशाली ग्राफमा राख्यौं भने क्यान्भा प्रयोग गर्न सजिलो छ, तर त्यो कम शक्तिशाली छ ।
जबकि एडोबी फोटोशप निकै शक्तिशाली छ तर त्यो धेरै जटिल छ । एडोबीलाई के थाहा छ भने यदि उसले फोटोशपलाई सरल बनायो भने उसका मुख्य ग्राहक गुम्नेछन् किनभने उनीहरूलाई प्रो फिचर चाहिन्छ । तर एडोबी यो बजार छोड्न पनि चाहँदैनथ्यो किनभने यो निकै ठूलो बजार हो । त्यसैले एडोबीले क्यान्भासँग प्रतिस्पर्धा गर्न एउटा नयाँ एप लन्च गर्यो जसको नाम थियो एडोबी स्पार्क । एडोबी स्पार्कको दृष्टिकोण, अवधारणा र युजर इन्टरफेस ठ्याक्कै क्यान्भा जस्तै थियो । र ऊसँग एडोबीको वितरण सञ्जाल र आर्थिक शक्ति पनि थियो । तर पनि स्पार्क असफल भयो । यसपछि एडोबीले कयौं पटक यसमा परिवर्तन ल्यायो । एडोबी एक्सप्रेसको नाममा पुनःब्रान्ड गर्यो ।
क्यान्भाभन्दा कम मूल्यमा यसलाई बेच्यो पनि । तर पनि उसले क्यान्भालाई हराउन सकेन । तर, किन ? क्यान्भामा यस्तो के थियो जसले गर्दा उसलाई कसैले हराउन सकेन ?
खैर कसैले पनि क्यान्भालाई समाप्त गर्न नसक्नुको पछाडि उसका चार प्रतिभाशाली रणनीतिहरू थिए । पहिलो मानिसहरूलाई भुक्तानी दिने । क्यान्भाका टेम्प्लेट र एसेट लाइब्रेसी धेरै ठूलो छ । र, त्यो किनभने त्यहाँ क्यान्भाको टिमले मात्र नभई जो कोहीले पनि क्यान्भाका लागि टेम्प्लेट र एसेट बनाउन सक्छ । र त्यसको बदलामा क्यान्भाले यी योगदानकर्तालाई भुक्तानी गर्छ । जबकि एडोबी एक्सप्रेसमा केवल एडोबीको टिमले मात्र टेम्प्लेट बनाउन सक्थ्यो ।
दोस्रो सर्च इन्जिन अप्टिमाइजेसन अर्थात ‘एसईओ’को खेल । क्यान्भाका टेम्प्लेटको यति ठूलो लाइब्रेरीले प्रयोगकर्तालाई धेरै विकल्प त दिन्छ तर यसको अर्को ठूलो फाइदा छ । त्यो हो एसईओको । क्यान्भा पूर्ण रूपमा वेबसाइटमा होस्ट गरिएको छ र यी सबै टेम्प्लेटका किवर्डहरू गुगल सर्चमा र्याङ्क गर्छन् ।
उदाहरणका लागि यदि कसैले ‘नयाँ वर्षको पोस्टर’ भनेर अङ्ग्रेजीमा खोज्यो भने क्यान्भाका यति धेरै टेम्प्लेट हुनाले गुगलले क्यान्भाका सर्च रिजल्टलाई सधैं माथिल्लो स्थानमा राख्छ । यसरी क्यान्भाको ग्राहक प्राप्ति लागत कम हुन्छ ।
तेस्रोमा शुल्कको रणनीति (Paywall on Exports) । क्यान्भा र एडोबी एक्सप्रेस दुवैका निःशुल्क र सशुल्क योजना छन् । तर यहाँ एउटा ठूलो भिन्नता छ । यदि तपाईंले स्पार्कमा कुनै सशुल्क इलिमेन्ट रोज्नुभयो भने त्यसले तपाईंलाई सीधै भुक्तानी गर्न भन्छ । तर, क्यान्भामा यदि तपाईंले सशुल्क इलिमेन्ट रोज्नुभयो भने त्यसले तपाईंलाई त्यो प्रयोग गर्न दिन्छ जसले गर्दा तपाईं डिजाइन बनाउन सक्नुहुन्छ । तर, जब तपाईं त्यसलाई सेभ गर्नुहुन्छ त्यतिबेला त्यसले तपाईंसँग पैसा माग्छ । वा तपाईंले बनाएको डिजाइनमा वाटरमार्क राखिदिन्छ । त्यसैले पहिलो अवस्थामा कयौं पटक डिजाइनरलाई यो सशुल्क इलिमेन्ट उसको अन्तिम डिजाइनमा काम लाग्छ कि लाग्दैन भन्ने थाहा हुँदैन । र त्यसैले ऊ भुक्तानी गर्न चाहँदैन । तर क्यान्भाको अवस्थामा प्रयोगकर्ताले अन्तिम डिजाइन बनाइसकेको हुन्छ र उसलाई त्यो डिजाइन मन परेको हुन्छ । त्यसपछि उसलाई त्यो डिजाइन आवश्यक छ भन्ने भयो भने उसले भुक्तानी गर्छ र डिजाइन सेभ गर्छ ।
चौथो हो थर्ड पार्टी एप इन्टिग्रेसन । क्यान्भाले धेरै थर्ड पार्टी एपहरूलाई इन्टिग्रेट गरेको छ जस्तै मकअप्स, इमेज अपस्केलर, क्यूआर कोड, फिल्टर्स आदि । वास्तवमा क्यान्भाले ब्याकग्राउन्ड रिमुभल (फोटोको ब्याकग्राउन्ड हटाउने)को फिचर पनि सुरुमा ‘remove.bg’ वेबसाइटको इन्टिग्रेट गरेको थियो । पछि उसले त्यो कम्पनीलाई अधिग्रहण गर्यो । जबकि एडोबीले आफ्ना सबै फिचर आफैं बनाउँछ जसमा उसको समय, ऊर्जा, स्रोत धेरै लाग्छन् ।
वास्तवमा हालसालै एडोबीले आफ्नो एआईका लागि एडोबी फायरफ्लाई लन्च गरेको छ जुन उसले आफै बनाएको हो । जबकि क्यान्भाले धेरै पहिलेदेखि नै अवस्थित मोडेललाई इन्टिग्रेट गरेको छ । यहाँसम्म कि धेरै थर्ड पार्टी एप पनि यसमा इन्टिग्रेट छन् । के तपाईंलाई थाहा छ, जेनेरेटिभ एआई विशेषताका कारण यी दुवै कम्पनीहरूको प्रतिस्पर्धा अझ बढेको छ ।
हामीले पहिले फोटोशप र क्यान्भालाई जटिलता र शक्तिशालीताको ग्राफमा राखेका थियौं जसमा क्यान्भा प्रयोग गर्न सरल थियो तर कम शक्तिशाली थियो । जबकि फोटोशप जटिल थियो तर धेरै शक्तिशाली थियो । अब जेन एआई फिचर आएका कारण यी दुवै एकअर्काको सुपर पावर लिने प्रयास गरिरहेका छन् । क्यान्भा एआई विशेषताको इन्टिग्रेसनका कारण बढी शक्तिशाली बन्ने प्रयास गरिरहेको छ । यता फोटोशप जेन एआई फिचरका कारण केवल टेक्स्ट प्रम्प्टबाटै डिजाइनलाई सरल बनाइरहेको छ । के यी दुवैले एकअर्काको बजारमा बाधा पुर्याउन सक्लान् ?