close

फोनमा नयाँ ओएस अपडेट आउने बित्तिकै इन्स्टल गर्ने बानी छ ? सावधान !

टेकपाना टेकपाना

भदौ ४, २०८० १५:४०

फोनमा नयाँ ओएस अपडेट आउने बित्तिकै इन्स्टल गर्ने बानी छ ? सावधान !

काठमाडौं । फोनमा कुनै पनि अपडेट आउने बित्तिकै हामी प्रायः इन्स्टल गर्न हतार गरिहाल्छौं । नयाँ अपडेट इन्स्टल गर्नु राम्रो हो, तर आत्तिएर अपडेटबारे कही नबुझी डिभाइसमा ओएस (अपरेटिङ सिस्टम) अपडेट गर्दा त्यसले फोनमा थुप्रै समस्या निम्त्याउँछ । आज हामी फोनमा कुनै पनि यूआई वा ओएस अपडेट इन्स्टल गर्दा के कस्ता कुराहरू ख्याल गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं । 

१) अपडेट धान्छ कि धान्दैन ख्याल गर्नुहोस्

फोनमा ओएस अपडेट उपलब्ध छ भने हामी कुनै कुराको प्रवाह नगरी त्यसलाई इन्स्टल गरिहाल्छौं । तर, कतिपय डिभाइस नयाँ अपडेटका लागि उपयुक्त नहुँदा पनि त्यसमा अपडेट आएको हुन्छ । यदि तपाईंले सो अपडेट इन्स्टल गर्नुभयो भने त्यसले डिभाइसमा विभिन्न समस्या निम्त्याउँछ ।

त्यसैले सफ्टवेयर अपडेट गर्नुअघि तपाईंको डिभाइसले उक्त अपडेट धान्छ वा धान्दैन जाँच गर्नुहोस् । स्मार्टफोन निर्माता कम्पनीले फोन बजारमा ल्याउँदा त्यसले कति वर्षसम्म ओएस तथा सेक्युरिटी अपडेट पाउँछ भन्ने खुलाएका हुन्छन् । यदि आफ्नो डिभाइसले सो ओएस अपडेट धान्छ भन्ने निश्चित गरेर मात्र अपडेट गर्नुहोस् । 

२) नयाँ अपडेटको रिभ्यु हेर्नुहोस्

कतिपय बेटा टेस्टरले कुनै पनि अपडेट आइसकेपछि सो अपडेट कस्तो छ भन्ने विषयमा रिभ्यु लेखेका हुन्छन् । त्यसबाहेक पनि केही प्रयोगकर्ताले पहिले नै अपडेट इन्स्टल गरेका छन् भने त्यसमा आएका समस्या गुनासो गरेका हुन्छन् । यस्तो गुनासो सामाजिक सञ्जालमा जति पनि देख्न पाइन्छ । त्यसैले सबैले राम्रो छ भनेको वा तपाईंको डिभाइसका लागि उपयुक्त हुन्छ भनिएको ओएस अपडेट मात्र इन्स्टल गर्नुहोस् । 

पछिल्लो समय पुराना डिभाइसमा एन्ड्रोइड १३ अपडेटका कारण क्यामेरा नचल्ने, सेन्सर नचल्ने जस्ता समस्या आइरहेका छन् । यस्तै समस्या अन्य प्रयोगकर्ताले अन्य ब्रान्डका फोनका लागि पनि गरेका हुनसक्छन् । तसर्थ अपडेट इन्स्टल गर्नुअघि रिभ्यु पढ्नुहोस् । 

३) आफ्ना महत्त्वपूर्ण डेटा ब्याकअपमा राख्नुहोस्

अन्य डिभाइसमा राम्रैसँग नयाँ ओएस अपडेट सपोर्ट हुने भए पनि तपाईंको डिभाइसमा त्यसले समस्या निम्त्याउन सक्छ । तसर्थ नयाँ अपडेड इन्स्टल गर्नुअघि आफ्ना महत्त्वपूर्ण डेटा ब्याकअपमा राख्नहोस् । नयाँ अपडेटले फोनको डेटा उडाउँछ भन्ने होइन तर कहिलेकाही प्राविधिक समस्या आइदिँदा डेटा नै उड्न सक्छन् ।

४) पर्याप्त चार्ज राख्नुहोस्

माथिका सबै कुरा सुनिश्चित गरिसकेपछि अप तपाईंको डिभाइस नयाँ ओएस, सफ‍्टवेयर वा सेक्युरिटी अपडेटका लागि उपयुक्त हुन्छ । अपडेट गर्नुअघि फोनमा ७० प्रतिशतभन्दा बढी चार्ज राख्नुहोस् ।

केही फोनमा ब्याट्री छिटो खपत हुने समस्या हुनसक्छ । त्यसका लागि फोन चार्जमै राखेर अपडेट गर्न सकिन्छ । तर, चार्जमा राखेर अपडेट गर्ने तरिका राम्रो भने होइन । 

५) डिभाइसमा पर्याप्त स्टोरेज भएको सुनिश्चित गर्नुहोस्

कुनै पनि एप, सफ्टवेयर वा सेक्युरिटी अपडेट इन्स्टल गर्दा त्यसले डिभाइसको स्टोरेज खपत् गर्छ । त्यसैले कुनै अपडेट इन्स्टल गर्नुअघि त्यसको फाइल साइज कति छ र आफ्नो डिभाइसमा कति स्टोरेज बाँकी छ भन्ने जाँच गर्नुहोस् ।

अन्यथा फाइल साइज धेरै छ र डिभाइसमा पर्याप्त स्टोरेज छैन भने त्यसले तपाईंको फोनमा समस्या निम्त्याउँछ । त्यसैले पर्याप्त स्टोरेज भएको खण्डमा मात्र ओएस अपडेट गर्नुहोस् ।

६) डेटा वा वाई-फाई राम्रो स्पीडको हुँदा मात्र अपडेट गर्नुहोस्

कतिपय अवस्थामा ओएस अपडेट गर्दा बीचमै इन्टरनेट बन्द भइदिन्छ । यस्तोमा डाउनलोड भइरहेको अपडेट बीचमै रोकिन्छ । यसले नै ठूलो समस्या निम्त्याउँछ ।

त्यस्तै वाई-फाई वा डेटा स्लो छ भने पनि अपडेट इन्स्टल गर्न घण्टौं समय लाग्न सक्छ । तसर्थ राम्रो इन्टरनेट स्पिड भएको सुनिश्चित गरेर मात्र अपडेट इन्स्टल गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १५:४२