close

ह्याकर बन्ने सपना पालेका दृष्टिविहीन अनमोल गैरे भन्छन्- कलेजहरूले भर्ना लिन मानेनन्

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ ५, २०८० १५:०

ह्याकर बन्ने सपना पालेका दृष्टिविहीन अनमोल गैरे भन्छन्- कलेजहरूले भर्ना लिन मानेनन्

काठमाडौं । अनमोल गैरे, आफ्नो शारीरिक सीमिततालाई छायाँमा राख्दै केही नौलो गर्न चाहन्छन् । जन्मजात दृष्टिविहीन भएपनि उनलाई आफू अरुभन्दा फरक छु भन्ने आभास कहिल्यै भएन । अरुले जे गर्न सक्छन्, आफूले त्योभन्दा राम्रो गर्न सक्छु भन्ने भावनाले ओतप्रोत छन् उनी ।

सानोमा ब्रेल लिपि पद्धतिबाट अक्षर सिकेका गैरेको हातमा कक्षा ६ मा पढ्दा सामसङ ग्यालेक्सी जेटु फोन पर्‍याे । “बाबा ममीलाई कसले एक्सेसिबिलिटी फिचर भएको मोबाइल हुन्छ भनेर सुनाइदिनु भएको रहेछ,” आफूले पहिलो पटक मोबाइल पाएको पल स्मरण गर्दै गैरे भन्छन्, “सुरुमा सबै नौलो लागे पनि विस्तारै फोन सामान्य तरिकाले प्रयोग गर्न थालेँ ।”

सानोमा अक्षर बुझ्न एक वर्ष विशेष क्षमता भएका विद्यार्थीसँगै रहेर अध्ययन गरेको भएपनि कक्षा १ बाट उनी अन्य सामान्य विद्यार्थी सरह पढ्न थाले । पढ्दा बोर्डमा लेखेका कुराहरू थाहा पाउन त्यसबेला साथीहरूको सहयोग लिन्थे । शिक्षक-शिक्षिकाले भनेका कुराहरू ध्यान दिएर सुन्थे । स्कुलमा पढाएका कुरा घरमा आएर दोहोर्‍याई तेहेर्‍याई पढ्थे ।

कक्षा ५ सम्म काठमाडौंमा पढेका उनी कक्षा ६ देखि श्री शान्ति नमूना विद्यालयमा पढे । पढ्दै जाँदा स्कुलमा कम्प्युटर पनि सिक्न थाले । मोबाइल प्रयोग गरिरहेका उनलाई कम्प्युटर त्यति नौलो लागेन । तर, पनि फोनको तुलनामा कम्प्युटर बढी प्रभावकारी हुन्छ भन्ने बुझे ।

“अरुले आँखाले देख्छन् म स्क्रिन रिडरको सहायताले देख्छु,” उनी भन्छन्, “स्क्रिन रिडरले जे कुरा भनेको छ ती कुराहरू कल्पनामा आउँछन् र त्यसैलाई भिज्युअलाइज गर्छु । यसरी मलाई कम्प्युटर र मोबाइल प्रयोग गर्न सहज भयो ।”

कम्प्युटर सिक्दै गएपछि उनले त्यसमा हरेक दिन नयाँ-नयाँ विषयबारे बुझ्न थाले । ७-८ कक्षामा पढ्दा उनको कुनै एउटा साथीले ह्याकिङको बारेमा जानकारी दिए ।

“मलाई एउटा साथीले काली लिनक्स चलाउन जान्यो भने वाई-फाई ह्याक गर्न सकिन्छ भनेर सिकाएको थियो,” उनी भन्छन्, “ त्यसपछि म त्यही विषयमा इन्टरनेटमा विभिन्न रिसोर्स खोजेर पढ्न थालेँ ।”

काली लिनक्सबारे अन्वेषण गर्दै जाँदा उनलाई प्रोग्रामिङका ल्याङ्ग्वेज सिक्नुपर्ने भयो । सुरुमा गाह्रो भए पनि ९ र १० कक्षामा पढ्दा उनले कोडिङ गर्न सिकिसकेका थिए । भन्छन्, “पछि ह्याकिङ भनेकाे वाई-फाई ह्याक गर्ने मात्र होइन, यो त धेरै सम्भावना भएको क्षेत्र हो भन्ने सिकेँ ।”

फोन प्रयोग गर्दा उनको नजिक आएका व्यक्तिले उनी के-के गर्छन् भनेर हेर्थे । विशेषगरी पासवर्ड राख्दा वा फोनको प्याटर्न खोल्दा छेउमा भएका अरु व्यक्तिले पासवर्ड सहजै थाहा पाउँथे ।

“मैले आफैंले पनि परीक्षण गरेको छु । कोही छैन जस्तो गरेर पासवर्ड हान्नुपर्छ वा मोबाइल प्रयोग गर्नुपर्छ मान्छेहरू कताबाट हेरिरहेका हुन्छन् थाहै हुँदैन,” आफूलाई साइबर सुरक्षामा रुचि लागेको पल स्मरण गर्दै उनी सुनाउँछन् । त्यसपछि सार्वजनिक स्थल वा अन्य कुनै पनि ठाउँमा फोन प्रयोग गर्दा सुरक्षित रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा खोजी गर्न थाले ।

अध्ययन गर्दै जाँदा उनलाई एक्सेसिबिलिटी फिचरले 'स्क्रिन हाइड' को सुविधा दिन्छ भन्ने थाहा भयो । यो यस्तो फिचर हो, जसले फोन प्रयोग गर्दागर्दै स्क्रिन बन्द गर्न सघाउँछ । तर, भित्र फोन भने चलिरहेको हुन्छ । यो फिचर उनलाई निकै उपयोगी लाग्यो ।

“मलाई एक्सेसिबिलिटीमा हुने स्क्रिन हाइड फिचरले धेरै सहयोग गरेको छ,” उनी भन्छन्, “हाम्रो आवश्यकता बुझेर कसैले यस्तो फिचर ल्याएको हो । मैले पनि आफूले साइबर सुरक्षामा थुप्रै समस्या भोगेको छु । त्यसैको समाधान गर्नका लागि साइबर सुरक्षातर्फ आकर्षित भएको हुँ ।”

प्लस टु अध्ययनका लागि उनी काठमाडौं आए । उनलाई विज्ञान तथा गणित विषय पढ्ने रहर थियो । तर गणितका जटिल हिसाबहरू बोलेको भरमा अरूले गर्न नसक्ने, विज्ञानका चित्रहरू देख्न नसकिने हुँदा कन्सेप्ट बुझ्न गाह्रो हुने भएपछि उनले व्यवस्थापन अध्ययन गर्ने सोच बनाए । 

“हामीले कम्प्युटरको प्रयोग गरेर परीक्षा दिन खोज्यौं भने पाउँदैनौं, त्यसमा पनि हिसाब र अन्य कुराहरू भनेको भरमा ट्रान्सक्राइबरलाई उतार्न गाह्रो हुन्छ । तुलनात्मक रूपमा व्यवस्थापन सहज भएकाले त्यही पढ्न थालेँ,” उनी सुनाउँछन् । 

काठमाडौंको बसाइँ पनि उनलाई सहज लाग्दै थियो । कम्प्युटर, स्मार्टफोन र इन्टरनेटमा रमाउने उनी आफूलाई त्यही क्षेत्रमा सक्रिय बनाउन चाहन्थे । भन्छन्, “रहर लाग्नुपर्छ, मान्छे आफ्ना इच्छा जसरी पनि पूरा गर्नतर्फ लाग्ने रहेछ ।”

उनले कक्षा १२ (२०७८ साल) मा ३.४४ जीपीए ल्याए । यसपछि उनी साइबर सुरक्षा पढ्ने आफ्नो आकाङ्क्षा पूरा गर्न स्वअध्ययन गर्न थाले । 

स्वअध्ययन र ब्याचलरमा साइबर सुरक्षा पढ्ने रहर

स्वअध्ययन गरेरै गैरेले आफू इन्टरनेटमा कसरी सुरक्षित हुने भन्ने कुराहरू बुझे । विशेषगरी एचटीटीपी र एचटीटीपीएस प्रोटोकलको भिन्नताबारे थाहा पाए । स्क्याम कल, स्क्याम लिङ्क, मालवेयर र भाइरसका बारेमा अध्ययन गर्न थाले ।

उनलाई साइबर सुरक्षाको सम्पूर्ण कुराहरूको जानकारी पाउन स्वअध्ययन उपयुक्त हुँदैन भन्ने लाग्यो । त्यसपछि उनी ब्याचलरमा साइबर सुरक्षा अध्ययन गर्न कलेज खोज्न थाले । भित्रभित्रै उनी प्रोग्रामिङका विभिन्न ल्याङ्ग्वेजमा पोख्त भइसकेका थिए । 

कलेज थिए, तर उनलाई पढाइदिने कलेज भेटिएनन्

नेपालमा कुन कुन कलेजमा साइबर सुरक्षा पढाइन्छ भन्ने गैरेले बुझिसकेका थिए । साइबर सुरक्षा पढ्ने र आफ्ना सपना पूरा गर्ने महत्वाकांक्षा बाेकेर विभिन्न कलजेहरू धाए ।

कति शुल्क लाग्छ र त्यसलाई व्यवस्थापन गर्न के-के गर्नुपर्छ सबै योजना गैरेसँग थियो । बडो आशावादी भएर गएका उनी कलेज पुगे, तर छाँगाबाट खसेजस्तै भए । किनभने उनी दृष्टिविहीन भएको देखेर कुनै पनि कलेजले भर्ना गरिदिने छाँट देखाएनन् । थुप्रै कलेजहरूमा जाँदा पनि कसैले भर्ना नलिने भएपछि उनी निराश हुन थाले । 

निराशाले गर्दा उनले आफ्नो गन्तव्य बिर्सिसकेका थिए । आफ्नो प्रमुख लक्ष्य लत्याएर उनलाई अरू विषय पढ्ने रहर जागेन ।

दृष्टिविहीन भएकाले कलेजहरू उनलाई पढाउन सक्ने कुरामा विश्वस्त भएनन् । ​विशेषगरी उनलाई आवश्यक हुने सामग्री वा अन्य कुराहरू पुर्‍याउन सकिन्छ वा सकिँदैन भन्ने द्विविधाले कलेजहरू पछि हटे । जसको परिणाम गैरेले निराशा भोग्नुपर्‍यो ।

पढ्ने त्यति रहर र चाहना हुँदा पनि दृष्टिविहीन भएकै कारण उनलाई बन्देज लगाइदिएपछि उनी दिनानुदिन निराश हुँदै गए । “ मलाई कलेजमा एड्मिसन गर्छौं पनि भन्नु भएन, गर्दैनौं पनि भन्नु भएन,” उनी भन्छन्, “यस्तो किसिमको प्रतिक्रियालाई मैले अस्वीकार गरेका हुन् भन्ने बुझेँ ।”

एक वर्षसम्म उनले आफूलाई रहर लागेका कुराहरू पनि गर्न छाडे । साइबर सुरक्षा नै पढ्ने इच्छालाई दबाउन खोजे । आफूले सिकेका कोडिङ प्राक्टिस गर्न छोडे ।

रहर न हो, जतिसुकै बेवास्ता गरे पनि छोडेर जान कहाँ मान्थ्यो र ! एक वर्षसम्म केही नगरेर बसे पनि उनलाई अब त केही गर्नै पर्छ भन्ने लाग्न थाल्यो । फेरि उनी काठमाडौं मैतिदेवीमा रहेको एउटा होस्टेलमा बसे, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न पहलहरूका बारेमा बुझ्न थाले ।

कोर्षबारे बुझ्नकै लागि गत वर्ष उनी यूएई समेत गएका थिए । “अरू देशमा बालबालिकाले रहर गरेपछि जसरी पनि पढाउनुपर्छ भन्ने मान्यता रहेछ । हाम्रोमा मैले यति धेरै रुचि देखाउँदा पनि खै बेवास्ता मात्र भोग्दैछु,” निराश हुँदै उनी सुनाउँछन् । 

'भर्ना गरेर क्लासमा राखिदिए मात्र हुन्छ, म आफैं पढ्न सक्छु'

आफूले दैनिक रूपमा भोग्दै आएका तृष्णा उनले मनमा राखेका छन् । यी तमाम् चुनौतीका बाबजुद पनि उनी आफूलाई प्रमाणित गर्न अघि बढिरहेका छन् । भन्छन्, “नेपाल कस्तो अवस्थामा छ, म बुझ्छु । मेरा लागि छुट्टै क्लास वा कोर्ष तयार पार्न पर्दैन । मलाई एड्मिसन गरेर क्लासमा राखिदियो भने पनि म पढ्न सक्छु ।” 

विकसित देशहरूमा दृष्टिविहीन बालबालिका वा व्यक्तिलाई पढाउनका लागि एड्भान्स टेक्नोलोजी प्रयोग भएका डिस्प्ले राखिएको हुन्छ । नेपालमा आफ्ना लागि तत्कालै यी कुराहरू सम्भव नहुने उनले बुझेका छन् । “म अहिलेसम्म सामान्य विद्यार्थी सरह अध्ययन गर्दै आएको छु । अहिलेसम्म सबै कुराहरू मिलेकै छ । अब पनि आउने चुनौतीसँग लड्ने आत्मविश्वास ममा छ,” उनी सुनाउँछन् । 

आफू दृष्टिविहीन भएकै कारण पढ्न नदिने, अन्याय गर्न नहुने भन्दै उनी भन्छन्, “मैले कलेजले लिने जुनसुकै शुल्क तिर्न तयार छु भनिसकेको छु । बरु मलाई एक वर्ष जाँच गरियोस् । म पास हुन सकिनँ भने तँ पढ्न सक्दैनस् भनिदिए चित्त बुझ्छ । तर, यति रहर गरिसकेपछि कुनै पनि बहानामा मलाई छुट्याउन मिल्दैन जस्तो लाग्छ,” मुहारमा आत्मविश्वासको छनक देखाउँदै गैरे भन्छन् ।

आफू जस्तै दृष्टिविहीनलाई साइबर सुरक्षासम्बन्धी शिक्षा दिने सपना

कुनै पनि व्यक्ति दृष्टिविहीन छ भने उसले सामना गर्ने साइबर अपराधका घटनाबारे उनी सजग छन् । भन्छन्, “मलाई रुचि लागेर पो मैले यी कुराहरू बुझेँ । क्लासमा कहिल्यै साइबर सुरक्षाको विषयमा सिकाइँदैन । त्यसैले सबैलाई साइबर सुरक्षाको सन्दर्भमा शिक्षित बनाउने संकल्प बोकेको छु ।”

जसले समस्या भोगेको छ, उसले ती समस्या कसरी समाधान हुन सक्छन् भन्ने पनि जानेको हुन्छ । एक्सेसिबिलिटी फिचरमा हुने सुरक्षा कमजोरीहरूलाई सुधार गर्ने उनको सपना छ । त्यसबाहेक पनि भविष्यमा साइबर सुरक्षाको क्षेत्रमा राष्ट्रिय स्तरबाट देशको डिजिटल सम्पत्ति सुरक्षित राख्ने लक्ष्य बोकेका छन् उनले । “मैले एक वर्ष केही बुझिनँ, त्यो समय खेर गयो,” उनी भन्छन्, “जस्तोसुकै अवस्था आए पनि म आफैं केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।” 

उनी कलेजहरूले आफूलाई भर्ना गरिदिउन् भन्ने चाहन्छन् । भर्ना गरेर सम्पूर्ण सामग्रीमा पहुँच दिइयो भने आफू त्यस क्षेत्रमा अब्बल हुने उनको विश्वास छ । उनका रुममेट नवीन ओली पनि आफ्नो साथीको स्मरण शक्तिको तारिफ गरेर थाक्दैनन् । उनले अनमाेलमा असङ्ख्य सम्भावना देखेका छन् । भन्छन्, “म पनि आईटी विद्यार्थी हुँ । अरूलाई घण्टौं लगाएर सिकाउनुपर्ने कुरा अनमोललाई १० मिनेटमै सिकाउन सकिन्छ ।” 

के भन्छन् कलेजहरू ?

नेपालमा साइबर सुरक्षा पढाउने तीन मुख्य कलेज छन्, सफ्टवेरिका, इस्लिङटन र द ब्रिटिश कलेज । यी सबै कलेजमा गैरेले पढाइको बारेमा बुझिसकेका छन् । तर उनी कहीँबाट आशावादी छैनन् ।

हाल उनी सफ्टवेरिका कलेजमा फाउन्डेसन क्लासमा अध्ययनरत छन् । फाउन्डेसन क्लास कुनै पनि विद्यार्थीको आधारभूत ज्ञान बढाउने उद्देश्यले सञ्चालन गरिन्छ । 

सफ्टवेरिका कलेजका कोओर्डिनेटर अमृत थापा भन्छन्, “उहाँको विषयमा एकेडेमिक टिमसँग पनि कुरा भइसकेको हो । हामी पनि के गर्ने दोधारमा छौं ।”

यसअघि बोल्न नसक्ने विद्यार्थीलाई पासआउट गराएर पठाएको भए पनि अनमोलको सन्दर्भमा भने उनलाई आवश्यक पर्ने सपोर्ट दिन आफूहरू विश्वस्त नभएको थापा बताउँछन् । उनस् अगाडि भन्छन्, “तर उसलाई चाहिने किसिमको सपोर्ट दिन सक्छौं भन्ने कुरामा हामी स्योर नै छैनौं । एकेडेमिक टिमले सक्छौं भन्नुपर्‍यो, हामी एड्मिसन गर्न तयार छौं ।”

दृष्टिविहीनलाई पढाउन आवश्यक प्रविधि र सुविधा आफूसँग नभएकाले आफ्नो कलेज पछि हटेको उनले सुनाए । “मैलै अनमोललाई भेटेको पनि छु, कसरी हुन्छ म फेरि सल्लाह गर्नेछु,” थापा भन्छन् ।

यता ब्रिटिश कलेजका मार्केटिङ हेड अमरदीप मण्डल आफूहरू गैरेलाई पढाउने कुरामा सकारात्मक रहेको बताउँछन् । तर, शिक्षकले उनलाई पढाउँदा आउने समस्या र उनले पाउनपर्ने शिक्षा पाउन सक्दैनन् कि भन्ने चिन्ताले ब्रिटिश कलेज पछि हटेको उनको भनाइ छ ।

“अनमोल एकदमै ब्रिलियन्ट स्टुडेन्ड हुन्,” मण्डल भन्छन्, “उनी ब्रिटिश कलेजमा पनि आएका थिए । मैले यो कुरा युनिभर्सिटीमा लगिदिएको हो । यसमा म धेरै सकारात्मक थिएँ । तर टिचिङ र डेलिभरीमा समस्या भयो । उसलाई जुन सपोर्टको कुरा आयो, त्यसमा पनि यो क्षेत्रमा बढी असाइनमेन्ट हुन्छ । असाइनमेन्टमा जाँदा विद्यार्थीले स्ट्रगल गर्छ । टिचरहरू उसकै लेभलमा जाँदाखेरि गाह्रो हुने भएकाले हामी पछि हटेका हौं । ”

यता साइबर सुरक्षा विषयमा स्नातक उत्तीर्ण गरी व्यावसायिक रूपमा यही क्षेत्रमा काम गरिरहेका सुशील फुँयाल पनि अनमोललाई कलेजहरूले अवसर दिनुपर्ने धारणा राख्छन् ।

“यति धेरै चाहना, सपना र योजना भएको विद्यार्थीलाई कलेजहरूले अवसर नदिएर अन्याय गर्न हुँदैन्,” फुँयाल भन्छन्, “अब्बल इच्छाशक्ति भएकाले उनलाई मौका दिन पर्छ ।”

उनी अगाडि भन्छन्, “अनमोल लिनक्स, पाइथन प्रोग्रामिङ आदि चलाउँदा रहेछन् । अझ मसँग चेस खेले ।” 

“प्रवेश परीक्षा लिँदा म पास भइनँ भने भर्ना नगरुन्, तर दृष्टिविहीन भएकै कारण मलाई प्रवेश परीक्षा लेख्न पनि नदिने चैँ नगरुन् भनेका छन् उनले,” उनी भन्छन्, “यस्तो राम्रो सम्भावना भएका अनमोललाई अवसर दिइनुपर्छ ।”

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १५:३५