close

फेसबुकमा मेरो फोटो राखेर चरित्रहत्या गर्ने भीम उपाध्यायलाई माफी दिएकी छैनः पीडित महिला

टेकपाना टेकपाना

भदौ ९, २०८० १८:४८

फेसबुकमा मेरो फोटो राखेर चरित्रहत्या गर्ने भीम उपाध्यायलाई माफी दिएकी छैनः पीडित महिला

काठमाडौं । फेसबुकमा आफ्नो फोटो राखेर चरित्रहत्या गर्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई माफी नदिएको पीडित पूर्णिमा गुरुङले बताएकी छिन् । शनिबार फेसबुकमा लामो स्टाटस राख्दै चितवनकी गुरुङले आफ्नो फोटो अनुमतिबिना फरक सन्दर्भ जोडी भ्रामक पाेस्ट गर्ने उपाध्याय विरुद्ध प्रहरीमा उजुरी दिएको र उनले माफी मागेको भए पनि चरित्रहत्या गरेकाले माफी नदिएको बताएकी हुन् ।

करिब दुई वर्षअघि पारिवारिक जमघटमा गुरुङले रमाइलो गर्दै राँगाको मासु (खुट्टा) खादै गरेको भिडिओ टिकटकमा राखेकी थिइन् । उनका अनुसार सोही भिडिओको स्क्रिनशट लिएर एक साताअघि टिकापुर घर भएका 'सन्तोष रिजाल' नामका व्यक्तिले फेसबुकमा पोस्ट राखेका थिए ।

रिजालले फोटो राखेपछि उनलाई मेसेन्जरमा विभिन्न व्यक्तिबाट गाली आउन थाल्याे । “अति नै तनाव भएपछि मेरो छोरोले त्यो फोटो हटाउन सन्तोष रिजाल भन्नेलाई म्यासेज गरेको थियो,” उनले फेसबुकमा लेखेकी छिन्, “त्यही क्रममा छोरोसँग वादविवाद समेत भएछ । पछि फेरि त्यो सन्तोष रिजाल भन्ने व्यक्तिले पुनः मेरो छोरो, मेरो र मेरो परिवारको फोटो समेत जोडेर तथानाम अश्लील शब्दहरू समेत जोडर फेसबुकमा पोस्ट गरी हाम्रो जोक्स भन्ने ग्रुपमा सेयर गरेछ ।”

यसरी विभिन्न ग्रुपमा अनर्गल पोस्ट राख्न थालेपछि गुरुङलाई झनै तनाव हुन थाल्यो । त्यहीमाथि भीम उपाध्यायले आफ्नाे आधिकारिक फेसबुक पेजबाट उक्त स्क्रिनशट पोस्ट गरे ।

“यही क्रममा फेसबुकमा लाखौ फलोअर रहेको पूर्वसचिव समेत रहेका भीम उपाध्याय भन्ने व्यक्तिले मेरो त्यही हड्डी टोक्दै गरेको अवस्थाको स्किनशट फोटोलाई सत्यतथ्य नबुझी आफ्नो भीम उपाध्याय (मौनमौजी) भन्ने फेसबुक आईडीमा गोरु खाने धराने भनेर पोस्ट गरिदिए,” उनले अगाडि लेखेकी छिन्, “यसै त सन्तोष रिजाल भन्ने व्यक्तिका कारण तनावमा रहेकी म झन् भीम उपाध्यायले त्यसो गरिदिएपछि त्यो फोटो भाइरल हुनुका साथै ममाथि व्यापक गाली गलौज धम्कीको वर्षा हुन थाल्यो ।”

यो देखेपछि गुरुङका छोरा, उनी स्वयं र आफन्तले त्यो फोटोको सत्यता अर्कै हो, तपाईंले लेखेको कुरा गलत हो, पोस्ट हटाइदिनुस भनेर भीम उपाध्यायलाई म्यासेज गरे । त्यही पोस्टमा कमेन्ट पनि गरे । तर त्यसबेला उपाध्यायले आफ्नो कुरा सुन्दै नसुनेको र पोस्ट पनि नहटाएको गुरुङले उल्लेख गरेकी छिन् । उनी अगाडि लेख्छिन्, “यो कुराले झन म मर्माहत हुन् पुगेँ । यसै त प्रेसरको रोगी मान्छे, म नियमित औषधि खान्छु ।”

यही कारणले आफू त्यसबेला झनै विचलित हुन पुगेको उनको भनाइ छ । “के गरौं, कसो गरौं, कसलाई भनौ, कहाँ जाऔं ? केही सोच्नै सकिनँ,” उनी भन्छिन्, “मानसिक रूपमा पूरै विक्षिप्त भएँ । त्यो रात सुत्न नि सकिनँ ।”

अति भएपछि गुरुङले भदौ ७ गते बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा गएर आफ्नो चरित्रहत्या गर्ने दुवैजना विरुद्ध साइबर अपराध मुद्दामा कारबाहीको माग गर्दै ठाडो उजुरी दिइन् । त्यसपछि मिडियामा गएर सत्य कुरा यो हो भन्दै आफ्नो कुरा राख्न थालिन् ।

मिडियामा उनले भनेका कुराहरू आउन थालेपछि सोही दिन बेलुका भीम उपाध्यायले आफूलाई फोन गरी त्यो पोस्ट पनि हटाउँछु, मलाई माफ दिनु, मिडियामा भिडियो हटाउन लगाउनु, उजुरी फिर्ता लिनु भनेको गुरुङको भनाइ छ । 

“तर मैले भीम उपाध्याय भन्ने मान्छेलाई स्पष्ट के भनिदिएँ भने तपाईंको कारणले मेरो चरित्रहत्या भो, मैले यत्रो दिन तपाईंलाई त्यो पोष्ट हटाइदिनु भनेर कति रिक्वेस्ट गरेँ, दुनियाँको कमेन्टमा रिप्लाई दिँदै गर्दा मेरो कमेन्टको न रिप्लाई दिए, न मलाई सत्य के हो भनेर सोध्ने कष्ट गरे । अहिले आएर मैले प्रहरीमा जाहेरी दिएपछि, मिडियामा गएर सत्य कुरा बोलेपछि माफी मागेर हुन्छ ?,” उनले लेखेकी छिन्, “तपाईंलाई माफी दिन सक्दिनँ म । प्रहरीमा उजुरी गरेकी छु कानून अनुसार सजाय गराएरै छाड्छु ।”

यति भनेर उनले फोन काटिन् । त्यसपछि उनलाई उपाध्यायले पटक पटक फोन गरिरहे । अन्त्यमा उनले भीम उपाध्यायको मोबाइल नम्बरलाई नै ब्लक गरिन् । उनी अगाडि लेख्छिन्, “तर त्यसपछि तिनले फेसबुकबाट पोस्ट हटाएछन् र फेसबुकमा मसँग कुरा गरेको र मैले माफी दिएको कुरा लेखेछन् ।”

उपाध्यायले आफूसँग माफी मागेको भन्दै ३-४ ओटा स्टाटस समेत लेखेको उनको भनाइ छ । उनी लेखिन्छ, “साथै स्टाटसमा म हिन्दुवादी महिला भएको र मलाई कसैले उचालेको समेत भनेको रहेछ । धेरैले मसँग यो विषयमा सोधी खोजी गर्न थाले ।”

त्यसैले आफूले सबै घटना स्पष्ट पार्न स्टाटस लेखेको बताएकी छिन् । “तपाईंहरूलाई म के स्पष्ट पार्न चाहन्छु भने मैले भीम उपाध्यायलाई माफी दिएकी छैन र कानूनी कठघरामा नउभ्याई माफी दिने पनि छैन । जसरी मेरो चरित्रहत्या गरेको छ त्यो वापत सन्तोष रिजाल र भीम उपाध्यायले कानूनी सजाय पाउनै पर्छ र नपाउन्जेल म लडिरहन्छु,” उनले अगाडि लेखेकी छिन्, “साथै म के पनि चाहन्छु भने मलाई यो घटनामा मेलमिलाप गर्नको लागि भन्दै कृपया फोन म्यासेज गर्ने कष्ट नगर्नुहुन पनि म विनम्र अनुरोध गर्दछु ।”

पछिल्लो अध्यावधिक: भदौ ९, २०८० १८:४८