close

वर्डप्रेसले १०० वर्षसम्मका लागि डोमेन नेम दर्ता गरिदिने !

टेकपाना टेकपाना

भदौ १२, २०८० १७:११

वर्डप्रेसले १०० वर्षसम्मका लागि डोमेन नेम दर्ता गरिदिने !

काठमाडौं । वेब बिल्डिङ प्लेटफर्म वर्डप्रेसले १०० वर्षसम्मका लागि डोमेन नेम दर्ता गरिदिने भएको छ । शुक्रबार एक ब्लग र भिडिओ सार्वजनिक गर्दै कम्पनीले ‘द १०० इयर प्लान’ घोषणा गरेको हो ।

विशेषगरी कुनै पनि व्यक्तिले गरेका काम, उनीहरूको इतिहास सयौं वर्षसम्म इन्टरनेटमार्फत देखाइरहन यो प्लान ल्याएको कम्पनीले जनाएको छ । डोमेन उपलब्ध गराउने प्रायः कम्पनीले बढीमा १० वर्षसम्मका लागि डोमेन दर्ता गरिदिएका हुन्छन् । वर्डप्रेसले भने १०० वर्षसम्मका लागि डोमेन दर्ता गरिदिने प्रतिबद्धता दिएको छ ।

यसका लागि प्रयोगकर्ताले एक पटक ३८ हजार डलर (करिब ५० लाख १२ हजार रुपैयाँ) तिर्नुपर्ने कम्पनीले जनाएको छ । यति रकम बुझाइसकेपछि वर्डप्रेसले १०० वर्षसम्मको रजिस्ट्रेसन उपलब्ध गराउनेछ । त्यसबाहेक पनि विभिन्न सर्भरमा अटोमेटिक ब्याकअप, इन्टरनेट आर्काइभ, अनरशिप र होस्टिङ टुल र 'राउन्ड द क्लक' सपोर्ट उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

कम्पनीले कसरी १०० वर्षसम्म डोमेन र ब्याकअप कसरी सकुशल राख्छ भन्ने खुलाएको छैन । त्यसबाहेक पनि केही गरी वर्डप्रेस बन्द हुने अवस्था आयो वा यो कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था आयो भने कसरी व्यवस्थापन गर्छ भन्नेबारे केही खुलाएको छैन ।

यसो त सयौं वर्षसम्म अस्तित्वमै रहेका कम्पनीहरू थुप्रै छन् । प्रविधिको क्षेत्रमा सय वर्षभन्दा बढी अस्तित्वमा भएका कम्पनीमध्ये आईबीएम, एटी एन्ड टी र साइमेन्स प्रमुख हुन् । तर, यी कम्पनीले प्रवाह गर्ने सेवा समयसँगै परिवर्तन हुँदै आएको थियो ।

यस्तोमा वर्डप्रेसले एक सय वर्षसम्म कसरी आफूले गरेका प्रतिवद्धता कायम राख्छ भन्ने प्रश्न उठेको छ । यदि तपाईं यो डोमेन लिन इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरी फर्म भर्न सक्नुहुन्छ । आगामी प्रक्रियाका लागि वर्डप्रेसले तपाईंलाई सम्पर्क गर्नेछ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १७:११