close

के हो गुगलको फास्ट पेयर सर्भिस, अनि कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

भदौ २४, २०८० १७:१९

के हो गुगलको फास्ट पेयर सर्भिस, अनि कसरी प्रयोग गर्ने ?

काठमाडौं । आधुनिक स्मार्टफोनमा कनेक्टिभिटीका थुप्रै विकल्प छन् । विशेषगरी ब्लुटुथ, वाई-फाई, फोरजी, फाइभजी जस्ता सेवामार्फत डिभाइसलाई विभिन्न तरिकाले कनेक्ट गर्न सकिन्छ । 

तर सबै अवस्थामा डिभाइसलाई यी फिचर मार्फत कनेक्ट गर्न सकिन्छ भन्ने हुँदैन । सामान्यतः कुनै नयाँ डिभाइसमा आफ्नो डिभाइस पेयर गर्न प्रक्रियामा अभ्यस्त नभएका प्रयोगकर्ताका लागि डिभाइस पेयर गर्ने काम जटिल हुन सक्छ । 

उदाहरणका लागि मान्नु होस् तपाईंले नयाँ एयरबड खरिद गर्नुभयो, तर त्यसलाई आफ्नो स्मार्टफोनमा कनेक्ट गर्न सक्नु भएन । यस्तो अवस्थामा ब्लुटुथ लो इनर्जी (बीएलई) प्रयोग गरी सहजै एक अर्को डिभाइसमा कनेक्ट गर्न सघाउने फिचर हो, गुगल फास्ट पयेर सर्भिस । 

आज हामी गुगल फास्ट पेयर के हो र यसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौं । 

के हो गुगल फास्ट पेयर ?

गुगल फास्ट पेयर सर्भिस सुन्दा नौलो लागे पनि यो तपाईंले प्रयोग गरिसकेको फिचर हुनसक्छ । सामान्य अर्थमा भन्दा ब्लुटुथमार्फत अर्को डिभाइसलाई एक अर्कोमा छिटो र सहजै कनेक्ट गर्न सघाउने फिचर नै गुगल फास्ट पेयर सर्भिस हो । 

यो फिचरले ब्लुटुथ लो इनर्जी र एन्ड्रोइड लोकेसन सर्भिस प्रयोग गर्छ । त्यसैले तपाईंको डिभाइसमा लोकेसन र ब्लुटुथ सेवा छ भने ब्लुटुथ फास्ट पेयर सर्भिस प्रयोग गर्न सक्नु हुन्छ ।

यसले नजिक भएका डिभाइस आफैं पहिचान गर्छ र पेयर हुन तयार भएपछि नोटिफिकेसन पठाउँछ । यो फिचरले सामान्यतः एन्ड्रोइड फोन तथा ट्याब्लेट, क्रोमबुक र एन्ड्रोइड ६.० भन्दा माथिका एन्ड्रोइड टीभीमा सपोर्ट गर्छ । 

गुगल फास्ट पेयरले एकअर्का डिबाइसबीच कनेक्ट गर्न सघाउने मात्र नभइ अन्य सुविधाहरू पनि दिन्छ । गुगल फास्ट पेयरमा फाइन्ड माई सपोर्ट भन्ने सुविधा समेत हुन्छ । यो यस्तो फिचर हो, जसले तपाईंको अर्को डिभाइस फेला पार्न सघाउँछ । त्यस बाहेक यो फिचरले पेयर भएका डिभाइसमा गुगल अकाउन्ट सिंक गराउँछ । गुगल अकाउन्ट सिंक हुँदा अन्य विभिन्न एन्ड्रोइड तथा क्रोमबुक एक अर्कासँग कनेक्ट गर्न सकिन्छ । 

कसरी प्रयोग गर्ने गुगल फास्ट पेयर ?

गुगल फास्ट पेयर एउटा नवीनतम फिचर हो । गुगलले सबै प्रयोगकर्ताले प्रयोग गर्न सकून् भनेर यो फिचर सहजै प्रयोग गर्न सकिने बनाएको छ । 

त्यसैले गुगल फास्ट पेयर प्रयोग गरी डिभाइस कनेक्ट गर्न सकिने तरिका सामान्य छ । तर, तपाईंले प्रयोग गर्ने डिभाइस भने गुगल फास्ट पेयर सपोर्ट गर्ने किसिमको हुनुपर्छ । 

आफ्नो डिभाइसमा गुगल फास्ट पेयर मार्फत अन्य डिभाइस कनेक्ट गराउन निम्न प्रक्रिया अपनाउनुहोस् । 

- सबैभन्दा पहिले आफ्नो स्मार्टफोन, ट्याब्लेट, क्रोमबुक वा एन्ड्रोइड टिभी जस्ता डिभाइस अन गर्नुहोस् ।

- त्यसपछि आफूसँग भएका डिभाइसमा ब्लुटुथ अन गर्नुहोस् ।

- यति भएपछि आफूले कनेक्ट गर्न चाहेको अर्को डिभाइस (स्मार्टफोन, एयरबड, ब्लुटुथ स्पिकर, स्मार्टवाच) पेयरिङ मोडमा राख्नुहोस् । कनेक्ट गर्न लागेको डिभाइसलाई कसरी पेयरिङ मोडमा राख्ने भन्ने प्रक्रिया डिभाइस अनुसार फरकफरक हुन सक्छ ।

- तपाईंको अर्को डिभाइस पेयरिङ मोडमा भइसकेपछि एन्ड्रोइड डिभाइस, क्रोमबुक वा एन्ड्रोइड डिभाइसमा पेयरिङ मोड अन गरेको डिभाइस नजिक ल्याउनुहोस् ।

- यति भएपछि तपाईंको डिभाइसमा पप-अप नोटिफिकेसन आउँछ, त्यहाँ डिभाइस कनेक्ट गर्नुहोस् भनिएको सूचना देख्न सकिन्छ । 

 

- त्यसपछि डिभाइसलाई पेयर गर्नुहोस् । 

- एक पटक पेयर भइसकेपछि डिभाइस कनेक्ट गर्नुहोस् । डिभाइस कनेक्ट भइसकेपछि तपाईंलाई सो एक्सेसरिजका लागि आवश्यक पर्ने एप इन्स्टल गर्न भनिएको हुन्छ । कतिपय एक्सेसरिजका लागि एप डाउनलोड गर्नै नपर्ने पनि हुन्छ । यसमा विशेषगरी सेटिङबाटै अर्को डिभाइस कनेक्ट गर्न सकिन्छ ।

 

गुगल फास्ट पेयर सर्भिसले काम नगरे के गर्ने ?

गुगल फास्ट पेयरले तपाईंको डिभाइसमा काम नगर्नुका पछाडि विभिन्न कारण हुन सक्छन् । त्यसबाहेक हामीले सामान्य कुरामा ध्यान नदिंदा पनि गुगल फास्ट पेयरले काम नगर्न सक्छ । 

विशेषगरी पेयर गर्नुपर्ने अर्को डिभाइसमा ब्लुटुथ अन छैन भने गुगल फास्ट पेयर सर्भिसले काम नगर्न सक्छ । यदि पेयर गर्नुपर्ने डिभाइसमा ब्लुटुथ अन छ, तर पनि कनेक्ट भएन भने तलको प्रक्रिया अपनाउनु होस् । 

- सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङमा जानुहोस् । 

- अनि फास्ट पेयर (Fast Pair) सर्च गर्नुहोस् र, तल देखिएको डिभाइसको अप्सनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि स्क्यान फर नियरबाई डिभाइस (Scan for nearby device) अन गर्नुहोस् ।

- यति गरेपछि भने पेयर गर्नुपर्ने डिभाइस देखिन सक्छ । 

यदि यस्तो गर्दा पनि कनेक्ट भएन भने गुगल प्ले सर्भिस (Google Play Services) को नोटिफिकेसन अफ नभएको निश्चित गर्नुहोस् । यदि अफ छ भने तलको प्रक्रिया अपनाएर अन गर्नुहोस् । 

- सबैभन्दा पहिले डिभाइसको सेटिङ अन गर्नुहोस् ।

- एप एन्ड नोटिफिकेसनको अप्सनमा जानुहोस् ।

- त्यसपछि गुगल प्ले सर्भिसेस (Google Play Services) मा जानुहोस् ।

- यति गरेपछि नोटिफिकेसनको अप्सनमा गएर नोटिफिकेसन अन गर्नुहोस् ।

 

गुगल फास्ट पेयरबाट डिभाइस कसरी व्यवस्थापन गर्ने ? 

तपाईंले गुगल फास्ट पेयर सर्भिस प्रयोग गरेर विभिन्न डिभाइसलाई एक अर्कासँग कनेक्ट गर्नु भएको हुन सक्छ । तपाईंले अब सहजै आफ्नो डिभाइसबाट एक्सेसरिज व्यवस्थापन गर्न सक्नुहुन्छ । विशेषगरी डिभाइस हटाउन, नाम परिवर्तन गर्न र डिभाइस फेला पार्न तलका प्रक्रिया अपनाउनु होस् । 

- सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङमा जानुहोस् । 

- अनि फास्ट पेयर (Fast pair) सर्च गर्नुहोस् ।

- त्यसपछि डिभाइस (Device) को अप्सनमा जानुहोस् । 

- अब सेभ्ड डिभाइस (Saved Device) को अप्सनमा जानुहोस् ।

- त्यहींबाट कनेक्ट भएको डिभाइसलाई अनपेयर वा फर्गेट डिभाइस गर्न, डिभाइस रिनेम गर्न र हराएको डिभाइस फेला पार्न प्रयोग गर्न सक्नुहुन्छ । 


 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १७:१९