close

प्रिमियम एप निःशुल्क चलाउन एपीके इन्स्टल गर्दा हुन्छन् यस्ता जोखिम, जोगिने कसरी ?

टेकपाना टेकपाना

भदौ २४, २०८० २०:३६

प्रिमियम एप निःशुल्क चलाउन एपीके इन्स्टल गर्दा हुन्छन् यस्ता जोखिम, जोगिने कसरी ?

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्ताले आफूलाई उपयुक्त हुने वा आवश्यक परेका एप गुगलको प्ले स्टोरबाट इन्स्टल गर्छन् । कतिपय स्मार्टफोन ब्रान्डले गुगल प्ले स्टोरको विकल्पमा एप तथा अन्य सेवा डाउनलोड गर्न सकिने छुट्टै विकल्प समेत दिएका हुन्छन् । 

आफूले चाहेको वा भनौं खोजेजस्तो एप पाउन एन्ड्रोइड प्रयोगकर्ता गुगल प्लेस्टोरमै निर्भर हुन्छन् । कुनै पनि क्रियटरले एप प्लेस्टोरमा राखेको छ भने उसले कुनै न कुनै फाइदा हेरेकै हुन्छ । 

अपवादको रूपमा केही व्यक्ति तथा संस्थाले निःशुल्क वा भनौं निःस्वार्थ भावनाले एप उपलब्ध गराएका पनि हुन सक्छन् । डेभलपर आफूले तयार पारेका सेवा बिक्री गर्न, सूचना दिन वा अन्य विभिन्न प्रयोजनका लागि एप उपलब्ध गराउँछन् । 

चर्चित भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्स, अमेजन प्राइम, एप्पल टिभी, डिज्नी प्लस लगायतका प्लेटफर्मले आफ्नो सेवा सब्सक्रिप्सनको मोडेलमा बिक्री गरिरहेका हुन्छन् ।

त्यस्तै कतिपय भिडिओ एडिटिङ एपका लागि क्रियटरले निःशुल्क उपलब्ध गराउँदा वाटरमार्क राख्ने वा पैसा तिरेर वाटरमार्क हटाउने सुविधा दिइरहेका हुन्छन् । बाँकी प्लेटफर्मले विभिन्न किसिमका विज्ञापन राखेर आम्दानी गरिरहेका हुन्छन् । 

सब्सक्रिप्सन नलिएरै प्रिमियम प्लेटफर्मका भिडिओ हेर्न, वाटरमार्क बिना फोटो वा भिडिओ एडिट गर्न, विज्ञापनबिना एपहरू चलाउन कतिपय प्रयोगकर्ता प्रिमियम मोड एपीके अर्थात क्र्याक गरिएका एप प्रयोग गर्छन् । 

 

के हो प्रिमियम मोड एपीके ?

प्रिमियम मोड एपीके कुनै पनि एपको त्यस्तो भर्सन हो, जसलाई क्रयाक गरेर प्रिमियम फिचरहरू अनलक गर्ने तथा विज्ञापन हटाउने सुविधा दिइएको हुन्छ । यस्ता एप आधिकारिक स्थानमा नभइ थर्ड पार्टी प्लेटफर्ममा उपलब्ध हुन्छन् ।

त्यसो त कसले‍, किन एप क्रयाक गरेर इन्टरनेटमा राखिदिन्छ यत्तिकै भन्न सकिंदैन । शुल्क तिरेर एपको प्रिमियम सेवा लिन नसक्ने व्यक्तिलाई निःशुल्क सेवा दिन ह्याकरले एप क्रयाक गर्ने गर्छन् ।

कतिपयले भने प्रयोगकर्तालाई अरूले बनाएको एपको प्रिमियम फिचर निःशुल्क उपलब्ध गराउने तर, त्यसको बदलामा आफ्नो विज्ञापन राख्ने नियतले क्रयाक भर्सन उपलब्ध गराउँछन् । यसरी कुनै एप क्रयाक गरेर इन्टरनेटमा राखिएको छ भने त्यसमा खासै जोखिम हुँदैन ।

तर, प्रयोगकर्ताको डेटा चोरी गर्नका लागि, डिभाइस ह्याक गर्न, भाइरस वा मालवेयर फैलाउने नियतले पनि ह्याकरले प्रिमियम मोड एपीके तयार पारेका हुन सक्छन् । त्यस्ता एप प्रयोग गर्दा थुप्रै जोखिम निम्तिन सक्छन् । 

 

प्रिमियम मोड एपीके प्रयोग गर्दाका जोखिम

१. मालवेयर

 प्रिमियम मोड एपीकेमा मालवेयर हुन सक्छ । तपाईंको डिभाइसमा मालवेयर पस्नु तपाईंका लागि हानिकारक कुरा हो । सो मालवेयरले तपाईंको व्यक्तिगत डेटा चोर्न, अन्य मालिसियस (खराब वा हानिकारक नियतका) सफ्टवेयर इन्स्टल गर्न वा डिभाइस नै आफ्नो कब्जामा लिन सक्छ । 

२. डेटा ब्रिच 

तपाईंको व्यक्तिगत डेटा जस्तै युजरनेम, पासवर्ड, क्रेडिट कार्डको नम्बर वा अन्य डेटाहरू चोरी गर्नका लागि पनि प्रिमियम मोड एपीके प्रयोग भएको हुन सक्छ । यस्ता डेटा पहिचान चोरी (आइडेन्टिटी थेफ्ट) मा वा साइबर अपराधका घटनामा प्रयोग हुन्छन् । 

३. प्रतिबन्ध लाग्ने सम्भावना

तपाईंले कुनै पनि आधिकारिक प्लेटफर्मको प्रिमियम मोड एपीके प्रयोग गर्नु भएको छ भने तपाईंलाई उक्त प्लेटफर्मले सधैंका लागि प्रतिबन्ध लगाइदिन सक्छ ।

विशेषगरी त्यस्ता प्लेटफर्मले आफ्नो आधिकारिक सर्भरबाट प्रतिबन्ध लगाइदिए भने हामी आफ्नो आधिकारिक अकाउन्टबाट ती प्लेटफर्म भविष्यमा कहिल्यै पनि प्रयोग गर्न पाउँदैनौं । त्यसैले प्रिमियम मोड एपीकेमा त्यस्ता जोखिम हुन्छन्, जसको कारंण हामीलाई सधैंका लागि सो प्लेटफर्मबाट प्रतिबन्धमा पर्न सक्छौं । 

४. कानूनी झमेला 

कतिपय अवस्थामा प्रिमियम मोड एपीके प्रयोग गर्दा कानूनी झमेलामा पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । विशेषगरी क्रियटरले सशुल्क रूपमा उपलब्ध गराएको, तर तपाईंले निःशुल्क प्रयोग गरिरहनु भएको छ भने कानूनी झमेलामा पर्न सक्ने जोखिम बढी हुन्छ ।

नेपालको हकमा प्रायः क्रयाक गरेका विदेशी एप प्रयोग गर्ने हुनाले कानूनी झमेला त्यति धेरै नहुन सक्छ । तर, त्यसबाट हुने अन्य जोखिम भने यथावत् रहन्छन् । 

यदि तपाईं कुनै पनि प्रिमियम मोड एपीके प्रयोग गर्दै हुनुहुन्छ भने त्यसका जोखिम र फाइदाहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । यदि तपाईंले एप जोखिमयुक्त छ वा छैन भन्ने पहिचान गर्न सक्नु हुन्न भने एप इन्स्टल नगर्नु नै बुद्धिमानी हुन्छ । 

 

प्रिमियम मोड एपीके प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी

प्रिमियम मोड एपीके प्रयोग गर्दा तपाईंले निम्न सतर्कता अपनाउन सक्नु हुन्छ । तर यी तरिका अपनाउँदा शतप्रतिशत सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी भने छैन । 

  • भरपर्दो स्रोतबाट मात्र एपीके डाउनलोड गर्नुहोस् । डाउनलोड गर्नुअघि सो प्लेटफर्मबारे कोही बोलेको छ वा छैन अध्ययन गर्नुहोस् ।

  • इन्स्टल गर्नुअघि एपीकेमा मालवेयर छ कि छैन, थाहा पाउन स्क्यान गर्नुहोस् । 

  • एपीके इन्स्टल गरिसकेपछि सो एपलाई अनावश्यक पर्मिसन (अनुमति) नदिनु होस् अथवा दिंदा कस्ता पर्मिसन दिंदैछु भन्ने ख्याल गर्नुहोस् । 

  • आफ्नो डिभाइसको सेक्युरिटी सफ्टवेयर अपडेट गर्नुहोस् । 

  • मोड एपीके प्रयोग गर्दा आउने जोखिमबारे सचेत रहनुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० २०:३६