close

प्रयोगकर्ताले रुचाएनन् सानो र सस्तो आईफोन, अब उत्पादन नै नहुने

टेकपाना टेकपाना

भदौ २५, २०८० १४:३५

प्रयोगकर्ताले रुचाएनन् सानो र सस्तो आईफोन, अब उत्पादन नै नहुने

काठमाडौं । एप्पलले आईफोन मिनी सिरिज बन्द गर्न सक्ने देखिएको छ । अमेरिकी बजारमा आईफोन १३ मिनी कमी हुन थालेपछि यस्तो अनुमान गर्न थालिएको हो ।

ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानले एक्समा एक ट्वीट गर्दै अमेरिकामा आईफोन मिनी कमी भइरहेको लेख्दै यो बन्द हुने सङ्केत गरेका हुन् । त्यस्तै एप्पलबारे लेख्ने अनलाइन मिडिया म्याकर्‍युमरले पनि आईफोन मिनी १३ खरिद गरेको ६ देखि ८ हप्तापछि मात्र हातमा आइरहेको लेख्दै यो वर्षपछि एप्पलले यसको उत्पादन रोक्न सक्ने बताएको छ ।

एप्पलले गत वर्ष आईफोन १४ मिनी रिलिज गरेको थिएन । यद्यपि बजेट फोन खरिद गर्ने ग्राहकहरूलाई लक्षित गर्दै आईफोन १३ नै उपलब्ध गराइएको थियो ।

अमेरिकामा आईफोन १३ मिनीको मूल्य ५९९ डलर (करिब ८० हजार) रहेको छ, जुन आईफोन लाइनअपमा सस्तो फोन हो । एप्पलले २०२० मा आईफोन १२ मिनी र एक वर्षपछि आईफोन १३ मिनी सार्वजनिक गरेको थियो । त्यसबेला सानो आकारको आईफोनको माग सुरुमा बढी हुने अपेक्षा गरिएको थियो ।

तर बजारमा गएपछि आईफोनका अन्य मोडलमध्ये सबैभन्दा कम बिक्री हुनेमा मिनी माेडेल पर्‍याे । सोही कारण तीन वर्षमै एप्पलले मिनी सिरिज बन्द गर्न लागेको बताइएको छ ।

हाल एप्पलको नयाँ लाइनअपमा ६.१ इन्चको आईफोन १५, ६.७ इन्चको आईफोन १५ प्लस, ६.१ इन्चको आईफोन १५ प्रो, ६.७ इन्चको आईफोन १५ प्रो म्याक्स, ४.७ इन्चको आईफोन एसई, ६.१ इन्चको आईफोन १३ रहेको बताइन्छ ।

त्यस्तै एप्पलको इन्ट्री लेभलको फोनमा आईफोन एसई हुनसक्ने चर्चा छ । यो मोडेललाई आगामी दुई वर्षमा ६.१ इन्च डिस्प्ले भएको फोन बनाउने हल्ला चलेपनि कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १४:५५