close

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि सुरु भयो एनसेलको फोरजी सेवा

टेकपाना टेकपाना

भदौ २७, २०८० १२:२९

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि सुरु भयो एनसेलको फोरजी सेवा

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्न फोरजी सेवा सुरु गरेको हो ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुली भेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडीमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चार ओटा फोरजी बेस ट्रान्सिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भीस्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

“हाम्रा ग्राहकलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यो एउटा कोसेढुङ्गा हो, किनभने पछिल्लो विस्तार पश्चात् हामीले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्‍याउने छ ।”

एनसेलले मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहित काम गरिरहेको जनाएको छ । फोरजीले प्रयोगकर्तालाई हाई डेफिनिसन (एचडी) भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोड, ठूला फाइलहरू तत्काल आदान प्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ ।

देशभर एनसेलका ४१०० भन्दा बढि फोरजी बीटीएस सञ्चालनमा छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकाङ्क्षा पूरा गर्न योगदान पुर्‍याउने कम्पनीको विश्वास छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झन्डै १४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । 

 

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १२:२९