close

आईफोनको ब्याट्री हेल्थ खस्किएको गुनासो बढेपछि ‘मेक्सिमम चार्ज लिमिट’ फिचर ल्याउँदै एप्पल

टेकपाना टेकपाना

भदौ २७, २०८० १७:४५

आईफोनको ब्याट्री हेल्थ खस्किएको गुनासो बढेपछि ‘मेक्सिमम चार्ज लिमिट’ फिचर ल्याउँदै एप्पल

काठमाडौं । आईफोन १५ को ब्याट्री हेल्थ जोगाउन एप्पलले चार्ज लिमिट सेवा लागू गर्ने भएको छ । एप्पलको समाचार प्रकाशन गर्ने अनलाइन प्लेटफर्म नाइन टु फाइभ म्याकका अनुसार एप्पलले आईफोन १५ मा मेक्सिमम चार्ज लिमिटको विकल्प राख्ने भएको हो ।

यसअन्तर्गत आईओएस १७ आरसी कोडमा सो प्लेटफर्मले एप्पलले चार्ज लिमिट फिचर ल्याउन लागेको फेला पारेको दाबी गरेको छ । “आईफोनको ब्याट्री हेल्थ जोगाउन एप्पलले मेक्सिमम चार्ज लिमिट नामको नयाँ फिचर विकास गरेको छ,” नाइन टु फाइभ म्याकले लेखेको छ, “यो सुविधा उपलब्ध भएपछि ब्याट्री सेटिङमा गएर उक्त फिचर इनेबल गर्न सकिन्छ ।”

यदि सो फिचर अफ गरियो भने प्रयोगकर्ताले ‘ब्याट्री फुल क्यापासिटीमा चार्ज हुन्छ’ भनिएको नोटिफिकसेन देख्न सक्नेछन् । त्यस्तै यदि सो फिचर अन गरी फोन चार्ज गर्दा फोन यति प्रतिशतसम्म मात्र चार्ज हुन्छ भनेर लेखिएको देखिन्छ ।

त्यस्तै उक्त फिचर सुरु भइसकेपछि सेटिङमा गएर पछिल्लो पटक प्रयोगकर्ताले चार्ज लिमिट फिचर अन राखेर कहिले ब्याट्री चार्ज गरेको थियो भन्ने पनि हेर्न सकिन्छ । यो फिचरले अप्टिमाइज्ड ब्याट्री चार्जिङ फिचरले जस्तै काम गर्नेछ ।

अप्टिमाइज्ड ब्याट्री चार्जिङले प्रयोगकर्ताले कतिबेला चार्ज गर्छ, कति चार्ज भएपछि चार्जबाट निकाल्छ भन्ने कुरालाई आधार बनाएर ८० प्रतिशतसम्म चार्ज लिमिट सेट गरिदिन्छ ।

नयाँ अप्सनले भने कुनै एउटा तहमा ब्याट्री चार्ज भयो भने त्यस्तो बेला चार्ज लिमिट लागू गर्ने बताइएको छ । यो फिचर सामसङको ग्यालेक्सी डिभाइसमा पनि छ । लिथियम आयन ब्याट्रीको सन्दर्भमा फोन १०० प्रतिशत चार्ज गर्दा ब्याट्री चाँडै पुरानो हुने भएकाले फोन निर्माताले चार्जिङ लिमिटको फिचर लागू गरेका हुन्छन् ।

यो फिचर अन गरिसकेपछि प्रयोगकर्ताले ब्याट्री लामो समयसम्म टिकाउन सक्छन् । पछिल्लो समय आईफोन १४ का प्रयोगकर्ताले एक वर्ष नपुग्दै ब्याट्री हेल्थ घटेको भनी गुनासो गरेको समाचार बाहिरिएको थियो ।

त्यसैले पनि एप्पलले आईफोन १५ मा यस्तो सुविधा ल्याउन लागेको नाइन टु फाइभ म्याकले उल्लेख गरेको छ । आईओएस १७ आगामी सोमवार अर्थात १८ सेप्टेम्बरमा सार्वजनिक हुनेछ । विशेषगरी २२ सेप्टेम्बरमा आईफोन १५ बिक्रीका लागि खुलाउने भएकाले एप्पलले सो अपडेट केही दिन अगाडि सार्वजनिक गर्न लागेको चर्चा छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १७:५६