close

यी ७ कारणले ईबुकभन्दा अडियोबुक राम्रो

टेकपाना टेकपाना

भदौ ३०, २०८० ८:८

यी ७ कारणले ईबुकभन्दा अडियोबुक राम्रो

काठमाडौं । विश्वव्यापी रूपमा ई-पुस्तक (इलेक्ट्रोनिक बुक अर्थात् ई-बुक) को प्रचलन बढ्दै छ । पुस्तकलाई डिजिटल स्वरूपमा आफ्नै डिभाइसबाट पढ्न सकिने भएकाले ईबुकको लोकप्रियता बढेको हाे । विशेषगरी विभिन्न अनलाइन प्लेटफर्मबाट पीडीएफ वा ईबुक डाउनलोड गरी हामी शुल्क तिरेर वा निःशुल्क आफ्नो डिभाइसमा ईबुक पढ्न सक्छौं ।

तर, अडियो बुकको सन्दर्भ केही फरक छ । कुनै पनि पुस्तकलाई कसले वाचन गरेको छ भन्नेमा त्यसको 'भ्यालु' निर्भर हुन्छ । तर, के तपाईंलाई थाहा छ, ईबुकको तुलनामा अडियो बुक धेरै राम्रो मानिन्छ ? 

सञ्चारकर्मी अच्युत घिमिरे उपन्यास वाचकका रूपमा परिचित छन् । उनले हालै सामाजिक सञ्जालमा एक पोस्ट राख्दै भनेका थिए, “पढ्ने पुस्तक र श्रव्य पुस्तक तयार गर्दा लाग्ने आर्थिक खर्चका आधारमा श्रव्य पुस्तक झण्डै दुई गुणा महङ्गो पर्न जान्छ ।”

नेपालमा अडियोबुक अर्थात् श्रव्य पुस्तक खरिद गरेर सुन्ने प्रचलन त्यति छैन । श्रव्य पुस्तक वाचन गर्ने वाचकले वेबसाइट, युट्युब च्यानल लगायत अन्य विभिन्न प्लेटफर्म श्रव्य पुस्तक अपलोड गरेका हुन्छन् । तीनै प्लेटफर्मबाट हामी श्रव्य पुस्तक डाउनलोड गरेर वा इन्टरनेटकै पहुँचमा रहेको सुन्न सक्छौं । 

आज हामी ईबुकभन्दा श्रव्य पुस्तक केकस्ता कुराले राम्रो मानिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं:

१) श्रव्य पुस्तकले मल्टिटास्किङ गर्न सघाउँछ । 

‍एकै पटक धेरै कार्य गर्ने सन्दर्भमा भौतिक पुस्तक वा ईबुकभन्दा अडियोबुक धेरै अगाडि आउँछ । अडियो बुक हेडफोन, इयरफोन वा इयरबड लगाएर सुन्दै अन्य काम गर्न सकिन्छ ।

विशेषगरी कतै यात्रा गर्दा, ड्राइभिङ गर्दा, खाना पकाउँदा, सरसफाइ गर्दा पनि तपाईं अडियोबुक सुन्न सक्नुहुन्छ । यसले पुस्तक पढ्ने समय जोगिनुका साथै त्यस समयमा अन्य उपयोगी काम गर्न सक्नुहुन्छ । 

२) अडियोबुक सुन्दा घटना र कथाका पात्रहरू आफ्नै अघि भएजस्तो हुन्छ । 

हुन त पुस्तक पढ्दा पनि घटना र कथाका पात्रहरू मस्तिष्कमा आउँछन् । तर कथा वाचन गर्ने व्यक्तिको स्वर र उसको शैलीले घटना र पात्रलाई जीवन्त बनाइदिन्छ । त्यसैले अडियोबुक सुन्दा घटना र पात्रहरू धेरै नजिक भएको अनुभव गर्न सकिन्छ ।

कतिपय अवस्थामा कथा वाचन गर्ने व्यक्तिको स्वर, उसले उत्पादन गर्ने अडियोको गुणस्तर, उसले वाचन गर्ने शैलीले पनि कथा सुनाइको अनुभव फरक बनाउँछ । त्यस्तै कथा वाचन गर्ने व्यक्तिले अडियोमा के-कस्ता इफेक्ट राखेको छ, कति फिल (गहिराइ)मा डुबेर पढेको छ भन्ने कुराले अनुभव फरक बनाउँछ ।

अच्युत घिमिरेले वाचन गर्ने अडियोबुक सुन्न हरेक मङ्गलवार र शुक्रवार राति ९ः१५ देखि उज्यालो रेडियो नेटवर्कमा (अनलाइमा अच्युत घिमिरेले वाचन गरेका कथा सुन्न यहाँ क्लिक गर्नुहोस्) वा अनलाइनबाट जतिबेला पनि सुन्न सकिन्छ ।

त्यस्तै ‘साइग्रेस’ नामको युट्युब च्यानलमा पनि स्तरीय अडियो क्वालिटीका साथ साइग्रेस पोखरेलले वाचन गरेका कथा सुन्न सकिन्छ । युट्युब लगायत अन्य विभिन्न प्लेटफर्ममा कथा वाचन गरेर राख्ने थुप्रै व्यक्तिहरू छन् ।

३) अडियोबुक दृष्टिविहीनहरूका लागि पनि उपयुक्त हुन्छ । 

दृष्टि क्षमता मन्द भएका वा दृष्टिविहीन भएकाहरूलाई पुस्तक पढेको अनुभव दिन अडियोबुकले सघाउँछ । अरूले पढिदिनुपर्ने वा भिज्युअल टेक्स्टमा निर्भर हुनुपर्ने बाध्यतालाई समेत अडियोबुकले कम गर्छ । 

त्यस्तै केही व्यक्तिलाई पुस्तक पढ्न समस्या हुन सक्छ । विशेषगरी डाइलेक्सिया (यो यस्तो डिसअर्डर हो, जसले व्यक्तिलाई सही ढङ्गले शब्द उच्चारण गर्न असहज बनाउँछ) भएका व्यक्तिहरू पनि अडियोबुकबाट लाभान्वित हुन सक्छन् । 

सर्वसाधारणदेखि विशेष क्षमता भएका व्यक्तिका लागि अडियोबुक उपयोगी हुने भए पनि सबै पुस्तक अडियोबुकका रूपमा उपलब्ध हुँदैनन् ।

४) अडियोबुकले अरूका कुरा सुन्न सक्ने क्षमता वृद्धि गराउन सहयोग गर्छ । 

मानिस स्वभावैले आफ्ना कुरा राख्न अग्रसर हुन्छ । तर, यही बानीले कहिलेकाहीँ नराम्रो स्थिति निम्त्याउँछ । विशेषगरी अरूका कुराहरू सुन्नुपर्ने अवस्था थुप्रै हुन्छन् । त्यस्तोमा मान्छे आफू मात्र बोल्न थाल्यो भने उसको प्रतिष्ठामाथि नै प्रश्न उठ्छ ।

यो कुरा मान्छेको व्यवहारमा निर्भर हुन्छ । ईबुक सुन्ने बानी छ भने मान्छे अरूले बोलेका कुरा ध्यान दिएर सुन्छ । त्यस्तै अडियो बुक सुन्ने बानीले मान्छेलाई शुद्धसँग शब्द उच्चारण गर्न सघाउँछ । 

५) आँखामा चाप पर्नबाट जोगाउँछ । 

अडियोबुक आँखामा भन्दा पनि कानमा निर्भर हुन्छन् । रातको समयमा आँखामा प्रकाश पारेर ईबुक पढ्नुभन्दा अडियोबुक सुन्दा आँखाललाई आराम मिल्छ । अहिले हाम्रा अधिकांश समय कम्प्युटर र मोबाइल स्क्रिनमै बितिरहेको ]हुन्छ ।

त्यस्तोमा ईबुक पढ्न थालियो भने आँखालाई बढी चाप पर्न सक्छ । तसर्थ यसरी आफ्नो अधिकांश समय कम्प्युटर स्क्रिनमा बिताउने व्यक्तिका लागि यो अडियोबुक उपयुक्त हुन्छ । 

६) अडियोबुक सुन्न समय छुट्याइरहन पर्दैन । 

गाउँमा घाँस दाउरा गर्दा, खेतीपाती गर्दा, वस्तुभाउ चराउन जानेदेखि शहरमा बिहान मर्निङ वाकमा निस्किने, खाना बनाउने, घर सफा गर्ने लगायता विभिन्न काममा अडियोबुक सुन्न सकिन्छ ।

एकाग्र भएर गर्नुपर्ने कामबाहेक अन्य काममा त्यसलाई प्रभाव नपर्नबे गरी अडियोबुक सुन्न सकिन्छ । ईबुक पढ्दै यी कामहरू गर्छु भन्न सम्भव हुँदैन । 

७) आफूले यति दिनमा पढिसक्छु भनेको कुरा तपाईंले अडियोबुक सुन्दा छिटो पुरा गर्न सक्नुहुन्छ ।

हामीले ईबुक वा पुस्तक पढ्ने योजना बनायौं भने यति समयभित्र पढिक्छु भन्ने लक्ष्य राखेका हुन्छौं । सबै अवस्थामा आफूले तोकेको लक्ष्य पूरा गर्न सकिँदैन ।

तर, अडियोबुकको सन्दर्भमा मान्छेले आफ्नो लक्ष्य चाँडो पुरा गर्न सक्छन् । तसर्थ ईबुकभन्दा अडियोबुक नै उपयुक्त मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०८० ८:४