close

यसै हप्ता सार्वजनिक हुने माइक्रोसफ्टका ल्यापटपको जानकारी लिक

टेकपाना टेकपाना

भदौ ३१, २०८० १०:२१

यसै हप्ता सार्वजनिक हुने माइक्रोसफ्टका ल्यापटपको जानकारी लिक

 

काठमाडौं । माइक्रोसफ्टको वार्षिक कार्यक्रम सर्फेस इभेन्ट हुनु अगावै त्यसमा सार्वजनिक गरिने उत्पादनहरूबारेको जानकारी बाहिरिएको छ ।  विन फ्युचरका अनुसार सेप्टेम्बर २१ मा हुने उक्त इभेन्टमा सर्फेस ल्यापटपका विभिन्न मोडलहरू सार्वजनिक हुने देखिएको हो । 

बाहिरिएको जानकारी अनुसार माइक्रोसफ्टले सर्फेस स्टुडियो टु, सर्फेस गो थ्री, सर्फेस गो फोर सार्वजनिक गर्नेछ । सर्फेस स्टुडियो टुमा ‍इन्टेलको १३ औं पुस्ताको प्रोसेसर, एनभिडियाको आरटीएक्स ४०६० जीपीयू, एउटा माइक्रो एसडी कार्ड स्लट र यूएसबी ए पोर्ट हुने बताइएको छ । १४.४ इन्चको डिस्प्ले हुने उक्त ल्यापटपमा १२० हर्जको रिफ्रेश रेट पनि हुने जनाइएको छ । 

जानकारी बाहिरिएको माइक्रोसफ्टको अर्को ल्याटप सर्फेस गो थ्रीमा इन्टेल कोर आईफाइभ १२४५ यू चिप र २५६ जीबी एसएसडी र ८ जीबी मेमोरी हुने जनाइएको छ । यसको बाहिरिएको फोटो हेर्दा पहिले नै बजारमा आइसकेको सर्फेस ल्यापटप गो टु जस्तै देखिन्छ ।

सर्फेस गो फोरमा भने इन्टेलको एन २०० प्रोसेस हुने बताइएको छ ।  तर यसबारे त्यति धेरै जानकारी भने बाहिरिएको  छैन ।  

औपचारिक रूपमा सन् २०१७ देखि माइक्रोसफ्टले सर्फेस ल्यापटपको उत्पादन सुरु गरेको थियो । माइक्रोसफ्टको यो ल्यापटप पातलो र हलुङ्गो हुने गर्छ । 

यसको बनावट, ब्याट्री लाइफ र पर्फमेन्स राम्रो भएको बताइन्छ । विशेषत गरेर विद्यार्थी, जागिरे आदिका लागि यो ल्यापटप सुहाउँदो मानिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० १०:२१