close

आईफोन १५ किन्ने सोचमा हुनुहुन्छ ? त्यसअघि हेर्नुहोस् यी ६ विकल्प

टेकपाना टेकपाना

भदौ ३१, २०८० १५:५८

आईफोन १५ किन्ने सोचमा हुनुहुन्छ ? त्यसअघि हेर्नुहोस् यी ६ विकल्प

काठमाडौं । एप्पलले हालै आफ्नो फ्ल्यागशिप सिरिज आईफोन १५ सार्वजनिक गर्‍यो । एप्पलका पछिल्ला यी फोनमा केही नयाँ फिचर सहित यूएसबी सी पोर्ट पनि आएको छ ।

तर तपाईंसँग बजेट छैन वा आईफोन १५ नकिनेर अरु विकल्प हेर्छु भन्नुहुन्छ भने बजारमा अन्य राम्रा मोडेल पनि उपलब्ध छन् । आज हामी तपाईंलाई आईफोन १५ को विकल्प बन्न सक्ने फोनहरू बारेमा बताउँदै छौं । 

 

आईफोन १४ सिरिज

 

आईफोन १५ को उत्कृष्ट विकल्प खोजिरहनु भएको छ भने आईफोन १४ लाइनअप एउटा रोजाइ हुन सक्छन् । फरक भनेको आईफोन १४ खरिद गर्दा एक वर्ष पुरानो हार्डवेयरमा लगानी गर्नु हो ।

तर मूल्यमा भने आईफोन १५ को तुलनामा यो सस्तो पर्न जान्छ । आईओएस १७ को अपडेट आएपछि दुवैमा सफ्टवेयर पनि एउटै हुन्छ । आईफोन १४ को लाइनअपमा विभिन्न मोडेल भएकाले तपाईंले आफू अनुकूल चयन गर्नुपर्ने हुन्छ ।

आईफोन १४ र आईफोन १४ प्लसमा धेरै समान विशेषता छन् । जस्तै: दुवैमा एप्पलको आफ्नै ए १६ बायोनिक चिप छ । त्यस्तै १२८ जीबी र ५१२ जीबी गरी स्टोरेज भेरियन्टमा पनि समानता छ । त्यस्तै दुवैमा १२ एमपीको वाइड र अल्ट्रावाइड क्यामेरा पाउन सक्नु हुन्छ ।

ब्याट्री लाइफ भने आईफोन १४ प्लसमा केही राम्रो छ । तर आकार अलि ठूलो छ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा एप्पलको ए १६ प्रोसेसर राखिएको छ । स्टोरेज भने एक टेराबाइटसम्म बढाउन सकिन्छ ।

त्यस्तै ४८ एमपीको वाइड, १२ एमपीको अल्ट्रावाइड र १२ एमपीको टेलिफोटो लेन्स दुवै मोडेलमा उस्तै रहेको छ ।  एक वर्ष पुरानो भए पनि कतिपय कुरामा आईफोन १५ र अन्य फ्ल्यागशिप एन्ड्रोइड फोनसँग यसले प्रतिस्पर्धा गर्न सक्छ ।

फरक भनेको आईफोन प्रो सिरिजमा ए १७ चिप र आईफोन १४ तथा प्लसमा ए १६ चिप छ । त्यस्तै यूएसबी सी पोर्ट नभएर लाइट्निङ केवल मात्र छ ।

 

ग्यालेक्सी एस २३ सिरिज

सामसङको ग्यालेक्सी एस २३ धेरै एन्ड्रोइड प्रयोगकर्ताको रोजाइको फोन हो । राम्रो हार्डवेयर भएर होइन कि यो प्रख्यात ब्रान्ड पनि हो । तर यसका तीन मोडेलहरूको विशेषता करिब उस्तै छ ।

स्नापड्रागन ८ जेन २ एसओसी, वायर चार्जिङ प्रविधि, १२० हर्जको ओलेड प्यानेल र वाटर रेसिस्टेन्स समान छन् । त्यस्तै १२ एमपीको अल्ट्रावाइड क्यामेरा, तीन गुणा जुम गर्न सक्ने टेलिफोटो क्यामेरा, एटके (8K) भिडिओ रेकर्डिङ केही थप समानता हुन् । तर सबै कुरा समान छन् भन्ने होइन । 

ग्यालेक्सी एस २३ अन्य मोडेलको तुलनामा सानो छ । यसमा ३९०० एमएएचको ब्याट्री दिइए पनि डिस्प्ले भने फुलएचडी छ । साथै ५० एमपीको मुख्य क्यामेरा छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा २०० एमपीको मुख्य क्यामेरा र १० गुणासम्म जुम गर्न सक्ने हाइब्रिड जुम क्यामेरा दिइएको छ । त्यस्तै ६.८ इन्चको क्यूएचडी डिस्प्ले, ५००० एमएएच ब्याट्री र एस पेन पनि दिइएको हुन्छ । सामसङले यी फोनहरूमा चार ओटा ‍ओएस अपडेट र पाँच वर्षसम्म सेक्युरिटी अपडेट दिने घोषणा गरेको छ । 

 

पिक्सेल सेभेन सिरिज

गुगलको यो फोन आईफोन १५ को अर्को राम्रो विकल्प हो । सूचीमा भएका अन्य फोनहरूको तुलनामा यसमा त्यस्ता धेरै फिचर त छैनन् । तर यसको क्यामेरा भने उत्कृष्ट भएको बताइन्छ ।

त्यस्तै यसको मूल्य पनि अन्यको तुलनामा कम छ । जुन फाइदाको कुरा नै हो । पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रोमा टेन्सर जी टु चिपसेट राखिएको छ । पिक्सेल सेभेनमा ६.२ इन्चको ओलेड स्क्रिन दिइएको छ ।

यसमा ९० हर्ज रिफ्रेश रेट छ । पिक्सेल सेभेन प्रोमा ६.७ इन्चको १२० हर्ज रिफ्रेश रेट भएको पीओलेड स्क्रिन दिइएको छ । त्यस्तै प्रो मोडेलमा ५००० एमएएच र पिक्सेल सेभेनमा ४३५५ एमएएचको ब्याट्री छ ।

यी फोनमा र्‍याम र स्टोरेजको पनि भिन्नता छ । यी दुवैमा ५० एमपीको मुख्य क्यामेरा र १२ एमपीको अल्ट्रावाइड क्यामेरा दिइएको छ । प्रो मोडेलमा भने ४८ एमपी टेलिफोटो लेन्स पनि छ ।       

गुगल आफ्नो मिनिमलिस्ट डिजाइनका कारण प्रख्यात छ । त्यसैले यी फोनमा पनि त्यस्ता धेरै फिचर राखिएका छैनन् । तर पनि प्रयोग गर्न सजिला फोनहरू हुन् । 

 

ग्यालेक्सी जेड फ्लिप फाइभ

यो फोन अनफोल्ड गरेको समयमा सामान्य अन्य फोनहरू जस्तै देखिन्छ । तर जब फोल्ड गरिन्छ, तब यो सानो खल्तीमा पनि अट्न सक्छ । यसको सामान्य आकार ६.७ इन्च र फोल्ड गर्दाको आकार ३.४ इन्च रहेको छ  ।

फोल्ड गर्दा बन्ने स्क्रिनमा सामान्य फोनहरूमा जस्तै मेसेज हेर्ने, म्युजिक कन्ट्रोल गर्ने, एप चलाउने लगायतका काम गर्न सकिन्छ ।  

यसमा क्वालकमको स्नापड्रागन ८ प्लस जेन २ प्रोसेसर प्रयोग गरिएको छ । ब्याट्री लाइफ सामान्य नै छ  । यसमा डस्ट प्रोटेक्सन छैन । जसले गर्दा आईफोन १५ वा अन्य फ्ल्यागशिप फोनको तुलनामा यो केही कमजोर फोन हो ।

यसको क्यामेरा पनि सामान्य नै छ । यसमा १२ एमपीको वाइड, १२ एमपीको अल्ट्रा वाइड र १० एमपीको फ्रन्ट क्यामेरा दिइएको छ । कुनै टेलिफोटो वा त्यस्तै अन्य क्यामेरा लेन्स दिइएको छैन । तर फोटोको गुणस्तर भने राम्रै पाउन सकिन्छ । भिडभन्दा अलि भिन्न फोनको खोजीमा रहेका ग्राहकलाई यो फोन उपयुक्त हुन्छ ।

 

ग्यालेक्सी जेड फोल्ड फाइभ

एप्पलले दिने स्क्रिन अनुभव भन्दा भिन्न अनुभव गर्न चाहनु भएको छ भने यो पनि एक विकल्प हुन सक्छ । झट्ट हेर्दा सामान्य आकार ६.२ इन्चको फोन जस्तै देखिन्छ । तर अनफोल्ड गर्दा ७.६ इन्चको ट्याब्लेट आकारको डिस्प्ले बन्छ ।

जेड फ्लिप फाइभमा जस्तै यसमा क्वालकम स्नापड्रागन ८ जेन २ प्रोसेसर दिइएको छ । यसमा १२ जीबी र्‍याम छ । साथै ५० एमपीको मुख्य क्यामेरा, १० एमपीको तीन गुणा जुम गर्न मिल्ने टेलिफोटो लेन्स र १२ एमपीको अल्ट्रावाइड सेन्सर पाउन सकिन्छ  । यो मोटो, गह्रौं तथा ब्याट्री लाइफ अलि राम्रो भएको फोन हो । 

 

एक्सपेरिया वन भी र फाइभ भी 

 

यो सूचीमा भएका अन्य ब्रान्ड जस्तो प्रख्यात कम्पनी सोनी होइन ।  तर सोनीको एक्सपेरिया वन भी र फाइभ भी 

फोन आईफोन १५ को विकल्प हुन सक्ने फोनहरू हुन् । सोनीका यी दुई मोडेलबीच मुख्य भिन्नता भनेको स्क्रिनको आकार हो ।

एक्सपेरिया फाइभ भीमा ६.१ इन्चको फुलएचडी डिस्प्ले र एक्पेरिया वन भीमा ६.५ इन्चको फोर के ओलेड प्यानल डिस्प्ले छ । एक्सपेरियाका फ्ल्यागशिप फोनमा स्नाप ड्रागन ८ जेन २ प्रोसेसर छ ।

दुवैमा ५००० एमएचएच ब्याट्री दिइएको छ । यसमा क्यामेरा प्याकेज पनि राम्रै छ । कम्पनीले ५२ एमपीको मुख्य  क्यामेरा, १२ एमपीको अल्ट्रावाइड र १२ एमपीको टेलिफोटो लेन्स दिएको छ । 
 

माथिका यी फोनहरू केही उदाहरण हुन् । तर तपाईंले आफ्नो आवश्यकता, बजेट, इच्छाअनुसार कुनै पनि फोन किन्न सक्नुहुन्छ । नेपालमा उपलब्ध फोनहरूको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० १५:५८