close

आईफोनमा आयो आईओएस १७ अपडेट, के के छन् नयाँ फिचर ?

टेकपाना टेकपाना

असोज २, २०८० १३:३५

आईफोनमा आयो आईओएस १७ अपडेट, के के छन् नयाँ फिचर ?

काठमाडौं । एप्पलले आधिकारिक रूपमा सोमबार आईओएस १७ सार्वजनिक गरेको छ । गोपनीयता, सुरक्षा लगायतका विभिन्न आकर्षक फिचर सहित एप्पलले आईओएस १७ को पूर्ण भर्सन सार्वजनिक गरेको हो ।

यसअघि गत जेठमा भएको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२३ मा एप्पले परीक्षणका लागि यसको बेटा भर्सन उपलब्ध गराएको थियो । अब भने पाँच वर्ष पुराना आईफोनमा समेत आउने गरी आईओएस १७ एप्पलले जारी गरेको छ ।

कम्पनीले आफ्ना विभिन्न एप तथा सर्भिसमा विभिन्न नयाँ र पहिलेका फिचरलाई थप परिस्कृत बनाएर उपलब्ध गराएको छ । आईओएस १७ मा उपलब्ध भएका विभिन्न फिचरबारे तल चर्चा गरिएको छ ।

स्ट्यान्डबाई मोड

एप्पलले आईओएस १७ मा स्ट्यान्डबाई फिचर थप गरेको छ । यो फिचर एप्पल वाचको नाइटस्ट्यान्ड मोड जस्तै हो । यो फिचर इनेबल गर्दा फोन चार्जिङको अवस्थामा हुँदा पनि लकस्क्रिनमा एकै पटक क्यालेन्डर, समय, मौसमको विवरण र अन्य गतिविधिको नोटिफिकेसन हेर्न सकिन्छ । कम्पनीले आईफोन १४ प्रोमा 'अल्वेज अन डिस्प्ले' को रुपमा यो फिचर दिएको छ ।

यद्यपि आईओएस १७ को अपडेटसँगै आईफोन १४ प्रो भन्दा पुरानो फोनमा यो फिचर स्ट्यान्डबाईको रूपमा प्रयोग गर्न सकिन्छ । आईफोन ८ सँगै कम्पनीले वायरलेस चार्जिङ सिस्टम उपलब्ध गराएको थियो । त्यही वायरलेस चार्जिङका लागि स्टान्डबाई मोड उपयुक्त हुने बताइएको छ । 

लाइभ भ्वाइस मेल 

आईओएस १७ मा एप्पलले लाइभ भ्वाइस मेल सुविधा उपलब्ध गराएको छ । तर कम्पनीले यो फिचर केही सीमित क्षेत्रका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराउन लागेको छ । प्रयोगकर्ताले लाइभ भ्वाइस मेल गरेर पठाएको सन्देश कलस्क्रिनमा मेसेजको रूपमा पढ्न सकिन्छ ।

फोन उठाएको नपाएको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ । साथै भ्वाइस मेल आउँदा आउँदै प्रयोगकर्ताले फोन रिसिभ पनि गर्न सक्नेछन् ।

कन्ट्याक्ट पोस्टर

आईओएसको फोन एपमा नयाँ अपडेटसँगै प्रयोगकर्ताले कन्ट्याक्ट पोस्टर बनाउन सक्ने भएका छन् । यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो कन्ट्याक्टमा भएका अन्य व्यक्तिलाई आफ्नो प्रोफाइल फोटो सहितको पोस्टर पठाउन सक्नेछन् । पोस्टरमा प्रयोगकर्ताले आफ्नो फोटो, ईमोजी र कस्टुमाइज फन्ट राख्न सक्नेछन् । 

इन्टरयाक्टिभ विजेट

आईओएस १७ को अपडेटसँगै अब आईफोनको होम स्क्रिन तथा लकस्क्रिनमा नै विजेटमा भएका एपहरू त्यही नै प्रयोग गर्न सकिने भएको छ । यसको लागि एप खोलिरहनुपर्ने झन्झट हुँदैन ।

फोन एन्ड फेसटाइम एप

नयाँ अपडेटसँगै आईओएसको फोन तथा फेसटाइम एपमा नयाँ परिवर्तन आएको छ । यससँगै तपाईंले कुनै पनि व्यक्तिलाई फोन गर्दा उसको कन्ट्याक्ट पोस्टर देखिने बनाउन सक्नुहुन्छ ।

त्यस्तै कसैलाई कल गर्दा उक्त कल धेरै महत्त्वपूर्ण छ भन्नका लागि भ्वाइस मेल पनि पठाउन सक्नुहुन्छ । त्यस्तै फेसटाइमले अडियो तथा भिडिओ मेसेज सपोर्ट गर्ने बताइएको छ । त्यसबाहेक पनि भ्वाइस मेलजस्तै फेसटाइमले फेसटाइम भ्वाइस मेल सपोर्ट गर्नेछ । 

यदि तपाईँ आईफोनको फेसटाइम (एप्पलको भिडिओ कल फिचर) प्रयोग गर्नुहुन्छ र ठूलो स्क्रिनमा फेसटाइम गर्न चाहनुहुन्छ भने यसको लागि आईओएसमा नयाँ व्यवस्था उपलब्ध छ ।

यसबाट प्रयोगकर्ताले आफ्नो आईफोनलाई आफ्नो एप्पल टिभीमा कनेक्ट गरेर आईफोनको फेसटाइम टिभीमा गर्न सक्नेछन् । साथै कम्पनीले एप्पल टिभी फेसटाइमको लागि मात्र फरक फिचर पनि ल्याएको  छ ।

किबोर्ड अपडेट

आईओएसमा १७ मा किबोर्ड पनि अपडेट गरिएको छ । जस अन्तर्गत अटोकरेक्सन फिचरको लागि यसमा मसिन लर्निङ मोडेल प्रयोग भएको छ ।

यससँगै प्रयोगकर्ताले आफ्ना वाक्यहरू पहिलेभन्दा छिटो पूरा गर्न सक्छन् भने कुनै वाक्यहरू त्यहाँ दिइएको सुझाव अनुरूप ट्याप गरेकै भरमा लेख्न सक्ने कम्पनीले जनाएको छ ।

नोट्स र रिमाइन्डर

आईओएसको नोट्स र रिमाइन्डर एपमा पनि थुप्रै नयाँ फिचरहरू समावेश गरिएको छ । यससँगै अब प्रयोगकर्ताले पहिलो पटक एउटा नोटमा अर्को नोट लिङ्क गर्न सक्ने भएका छन् । त्यस्तै रिमाइन्डरमा कम्पनीले ग्रोसरी शर्टिङ, कस्टुम सेक्सन, र नयाँ कोलुम भ्यु अप्सन समावेश गरेको छ । 

म्युजिक एप 

प्रयोगकर्तालाई नन-स्टप म्यजिक एक्सपिरियन्स दिन एप्पलले आईओएस १७ मा कोलाबोरेटिभ प्लटस्टोर फिचर ल्याएको छ । त्यस्तै नयाँ अपडेटमा कारप्ले शेयरिङ, सङ्ग क्रेडिट जस्ता नयाँ टुलहरू समावेश गरिएको छ . 

फोटोज एन्ड क्यामेरा 

आईओस १७ को फोटोज एपले अब डिभाइसले खिचेका कुकुर तथा विरालोको फोटो पहिचान गर्नेछ । एप्पलले नयाँ अपडेटसँगै क्यूआर कोडको इन्टरफेसमा पनि सुधार ल्याएको छ । 

म्याप्स

म्याक र्‍युमर्सका अनुसार एप्पलले पहिलो पटक म्याप एपमा अफलाइन म्याप्स सुविधा समावेश गरेको छ । प्रयोगकर्तालेे अब इन्टनेट पहुँचमा हुँदा डाउनलोड गरेको म्याप अफलाइन हुँदा समेत प्रयोग गर्न सक्नेछन् ।

एयरड्रप 

छिट्टै कन्ट्याक्टको सूचना शेयर गर्नका लागि एयरड्रपमा एप्पलले नेम ड्रपको सुविधा समावेश गरेको छ । 

सफारी 

एप्पलले आईओएस १७ सँगै फेस वा टच आईडीले खुल्ने प्राइभेट ब्राउजिङ ट्याब फिचर उपलब्ध गराएको छ । यससँगै प्रयोगकर्ताले सफारीमा चलाइरहेको प्राइभेट ट्याब अर्को व्यक्तिले प्रयोग गर्न फेस आईडी वा टच आईडी भेरिफाई गर्नुपर्ने हुन्छ ।

त्यस्तै सफारीमा मल्टिपल प्रोफाइल सपोर्ट गर्ने फिचर पनि समावेश गरिएको छ । यसको सहायताले प्रयोगकर्ताले विभिन्न प्रोफाइलका लागि छुट्टाछुट्टै कुकिज, बुकमार्क, ब्राउजिङ हिस्ट्री मेनेज गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: असोज २, २०८० १३:५०