close

आईफोन १६ का प्रो मोडेलहरूमा पनि आईफोन १५ प्रो म्याक्सकै क्यामेरा लेन्स प्रयोग हुने

टेकपाना टेकपाना

असोज ४, २०८० १७:२६

आईफोन १६ का प्रो मोडेलहरूमा पनि आईफोन १५ प्रो म्याक्सकै क्यामेरा लेन्स प्रयोग हुने

काठमाडौं । आईफोन १५ सिरिज सार्वजनिक गर्दै एप्पलले आईफोन १५ प्रो म्याक्समा पाँच गुणासम्म जुम गर्न मिल्ने फोल्डेड क्यामेरा अर्थात् टेट्राप्रिज्म जुम लेन्स उपलब्ध गराएको छ । हालै बाहिरिएको नयाँ जानकारी अनुसार यो क्यामेरा लेन्स आईफोन १६ का अन्य मोडलमा पनि एप्पलले प्रयोग गर्ने छ ।

एप्पल विश्लेषक मिङ्गची कुओले आईफोन १६ का सबै प्रो सिरिजहरूमा याे क्यामेरा प्रविधि उपलब्ध हुने दाबी गरेका छन् । फुल फ्रेम क्यामेरा (full frame camera)मा हुने १२० एमएम लेन्सलाई विस्थापित गर्न टेट्राप्रिज्म अप्टिकल सिस्टम बनाइएको हो । यही कारण यसमा फोकल लेन्थ लामो हुनुका साथै फोनको मोटाइ नबढाई अप्टिकल जुम बढी मात्रामा गर्न सकिन्छ ।

यसो हुँदा लामो दूरीमा रहेको वस्तुको फोटो खिच्न यो क्यामेरा लेन्स राम्रो मानिन्छ । यसअघि आईफोन १३ प्रो र आईफोन १४ प्रोमा एप्पलले एउटै क्यामेरा सिस्टम प्रयोग गरेको थियो । तर यो वर्ष आईफोन १५ प्रो म्याक्समा नयाँ क्यामेरा सिस्टम राख्दै आईफोन १६ प्रो माेडेलहरूमा पनि नयाँ क्यामेरा सिस्टम राख्ने छनक एप्पलले दिएको छ ।

तर क्यामेरा सिस्टम नयाँ भएकाले आईफोन १५ सिरिजका अन्य मोडलहरूभन्दा आईफोन १५ प्रो म्याक्सको मूल्य पनि बढी छ । अहिले आईफोन १५ प्रो सिरिजको मूल्य ९९९ डलरबाट सुरु हुन्छ भने आईफोन १५ प्रो म्याक्सको मूल्य ११९९ बाट सुरु हुन्छ ।

त्यस्तै आईफोन १६ का प्रो सिरिजमा वाई-फाई सेभेन सपोर्ट र अपग्रेड गरिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा लेन्स प्रयोग हुने एप्पल विश्लेषक कुओकाे दाबी छ ।

यद्यपि बाहिरिएका यी जानकारीबारे एप्पलले आधिकारिक रूपमा भने केही बताएको छैन ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १७:२६