close

‘फिफिया’ नाममा नेपालमा मौलाउँदै नेटवर्किङ शैलीको अनलाइन सट्टेबाजी

हिक्मत आचार्य हिक्मत आचार्य

असोज ५, २०८० १३:२७

‘फिफिया’ नाममा नेपालमा मौलाउँदै नेटवर्किङ शैलीको अनलाइन सट्टेबाजी

काठमाडौं । “पैसा कमाउन पर्दो रहेछ भ्यालु पाउनका लागि,”, “कम्पेयर योरसेल्फ, आपने आपको कभी कमजोर मत समझना दोस्त, जो तुम कर सकते हो, ओ किसिका वाप कर नही सकता,” यी शब्द सहित प्रेरणादायी गीत राखिएका भिडिओ टिकटकमा थुप्रै भेटिन्छन् ।

पैसाको रवाफ देखाउने वा पैसाको महत्त्व देखाउने म्युजिकमा राखिएका अधिकांश भिडिओमा फिफिया (FiFiia) शब्द देखिन्छ । यस्ता हरेक भिडिओमा विभिन्न बैंक तथा वालेटमा डिपोजिट भएको रकमको स्क्रिनशट राखिएको हुन्छ भने कतिपयमा फिफिया नामक प्लेटफर्मको होमपेजको स्क्रिनशट राखिएको हुन्छ ।

यस्ता भिडिओको क्याप्सन वा भिडिओभित्र राखिएको टेक्स्टमा लाखौं कमाउन मलाई मेसेज पठाउनुहोला लेखिएको हुन्छ । यदि उनीहरूलाई कसरी पैसा कमाउन सकिन्छ भनेर सोधियो भने उनीहरू एउटा लिङ्क पठाउँछन् ।

सो लिङ्क क्लिक गरिसकेपछि ब्याकग्राउन्डमा फुटबल राखेको पेज खुल्छ । जसमा ईमेल राखेर भरिफाई गरी आफ्ना अन्य विवरण राख्नुपर्ने हुन्छ । अन्तिममा जसले लिङ्क पठाएको हो उसैको प्रोमो कोड राखिएको हुन्छ । अकाउन्ट बनिसकेपछि फिफियाको बेटिङ (सट्टेबाजी) गराउने पेज खुल्छ ।

फिफिया एक अनलाइन बेटिङ प्लेटफर्म हो, जो नेपालमा विभिन्न नाममा फरक-फरक तरिकाले दर्ता छ । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर ३१७१७७/२०८०/०८१ मा दर्ता भएको एउटा कम्पनीको नेपाली नाम ‘फिफिए अनलाईन मिडिया’ र अङ्ग्रेजी नाम  ‘Fifia Online Media’ रहेको छ ।

त्यस्तै स्थायी लेखा नम्बर ६१०४९२५४३ रहेको र कारोबारको नाम ‘फिफिअ इन्टरनेट मिडिया प्रा.लि’ नामबाट काठमाडौं महानगरपालिका वडा न. ७ चाबहिलमा सोही प्रकृतिकाे कम्पनी सञ्चालित छ ।

यसैगरी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर ३११६५/७९/८० रहेको अर्को कम्पनी नेपाली नाम ‘फिफिअ ईन्टरनेट मिडिया’ र अङ्ग्रेजी नाम ‘fifiia Internet media’ नामबाट सञ्चालित छ ।

यी विवरण टेलिग्राम च्यानल र ह्वाट्सएप ग्रुपमा प्रशस्त छन् । विशेषगरी अन्य व्यक्तिलाई कम्पनी वैधानिक हो भन्ने विश्वास दिलाउन यी कागजात प्रयोग भएको देखिन्छ । 

के हो फिफिया ?

विभिन्न फरक-फरक नामले नेपालमा दर्ता भएको फिफिया अनलाइन बेटिङ प्लेटफर्म हो । विश्व फुटबल महासंघ (फिफा) काे नाम झल्किने गरी यो प्लेटफर्मको नाम राखिएको छ । यसले गर्दा यो प्लेटफर्म आधिकारिक हो भन्ने भान प्रयोगकर्तालाई पर्छ ।

नेपालमा जे जस्ता नाममा दर्ता भए पनि सबैको प्रयोजन अनलाइन मिडिया र इन्टरनेट कम्पनी उल्लेख गरिएको छ । तर त्यस्ता नाम भएका सबै कम्पनीका सञ्चालक फरक-फरक ठाउँमा फरक-फरक ढङ्गले मानिसहरूलाई फिफिया प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको देखिन्छ । 

फिफिया नेपालमा सञ्चालन हुनुको प्रमुख उद्देश्य नै अनलाइन सट्टेबाजीमा लगाउने रहेको देखिन्छ । यसका लागि सबैभन्दा पहिले सामाजिक सञ्जालमा विज्ञापन गरिन्छ । त्यसबाट मानिसहरूलाई राम्रो आम्दानी हुने आश्वासन दिइन्छ । 

हामी (टेकपाना) ग्राहक बनेर कुरा गर्दा फिफियाका एक जना एजेन्टले सुरुवातमा भनेका थिए, “तपाईंले लगानी गरेर पैसा कमाउने हो । अनि मजस्तै अरू मानिसहरूलाई अकाउन्ट बनाउन लगाउनु भयो भने पनि आम्दानी गर्न सक्नुहुन्छ ।” उनीहरूले सुरुमा अनलाइनमा लगानी गर्ने भन्दै यो तरिका नेपालमा कानूनी भएको भान पार्छन् । 

ईमेलमा कुरा गर्दै जाँदा उनीहरूको प्रोमो कोड सहितको एउटा लिङ्क आउँछ । सो लिङ्कमा क्लिक गरेर अकाउन्ट बनाउँदा सबैभन्दा पहिले ३०० एनपीआर बोनस आएको देखिन्छ । यो रकम एउटा मात्र सट्टेबाजीमा प्रयोग गर्न सकिन्छ । यदि उक्त सट्टेबाजीमा जितियो भने प्रयोगकर्ताले एक रुपैयाँ एक्स्ट्रा पाउँछन् । यसरी रकम आउने रहेछ भन्ने भयो भने प्रयोगकर्ताहरू बढी रकम हाल्न हौसिन्छन् । 

फिफियामा जुवा खेलेर हारेका एक पीडित भन्छन्, “सबैभन्दा पहिले अकाउन्ट बनाउँदा ३०० रुपैयाँ आउँछ । त्यही पैसा निकाल्नु पर्‍यो भने ५०० बनाउनुपर्ने रहेछ ।”

यसरी ५०० रुपैयाँ बनाउन प्रयोगकर्ता कि बेटिङ गरिरहन्छन्, कि अरू रकम लगानी गरेर थप बेट गर्छन् । यो रकम बढ्दै बढ्दै जान्छ र मान्छे अनलाइन जुवाको लतमा फस्छ ।

“जति बढी रकम हाल्यो, त्यति नै बढी पाउने भनिएको हुन्छ । तर, अन्तिममा करको नाममा हाम्रै पैसा पनि उनीहरूले रोक्का गरेर राख्दिन्छन्,” ती पीडितले भने ।  

फिफिया प्रचार गर्न पार्टी प्यालेसमा कार्यक्रम !

फिफिया नेपालमा आधिकारिक छ भन्न यसका एजेन्टले नेपालका विभिन्न सहरमा पार्टी (कार्यक्रम) गरिरहेका हुन्छन् ।

पार्टी गरेका फोटो तथा भिडिओहरू टेलिग्राम च्यानलमा शेयर गरिएका छन् । त्यसपछि टेलिग्राममा जोडिएका व्यक्तिलाई पनि यो प्लेटफर्म आधिकारिक हो भन्ने लाग्छ, अनि त्यसैमा लगानी गर्न हौसिन्छन् । 

यसैगरी विभिन्न एजेन्टले सामाजिक सञ्जालबाट विज्ञापन गरी आफ्नो सम्पर्कमा ल्याएका व्यक्तिलाई पार्टीमा सहभागी गराउँछन् । ती कार्यक्रममा नयाँ आगन्तुकलाई स्वागत तथा पहिले योगदान दिनेहरूलाई विभिन्न उपहारको व्यवस्था गरिएको हुन्छ ।

त्यससँगै उक्त कार्यक्रममा फिफिया प्लेटफर्मबाट कसरी बेटिङ गर्ने, कसरी आफ्नो प्रोमो कोड दिएर अकाउन्ट बनाउन लगाउने, कसरी रकम जम्मा गर्ने, कसरी रकम भुक्तानी गर्न लगाउने जस्ता कुरा सिकाइन्छ ।

यसरी प्रत्यक्ष कार्यक्रममा सहभागी हुनेलाई थप आकर्षित गर्ने एजेन्टहरू विभिन्न व्यक्तिका सफलताका कथाहरू सुनाउँछन् ।

“मैले १० हजारबाट सुरु गरेको थिएँ,” सो कार्यक्रमको भिडिओ (युट्युब) मा एक व्यक्तिले भनेका छन्, “सुरुमा मलाई डर लाग्थ्यो । अहिले फाइदा भएको पैसाले मासिक १२/१३ हजार आम्दानी गर्दै आइरहेको छु ।”

यति मात्र नभई सामाजिक कार्य गरेजस्तो देखाउन फिफियाको टिम विभिन्न किसिमका राहत वितरणका कामको फोटो तथा भिडिओ पनि टेलिग्राम तथा ह्वाट्सएप च्यानलमा राख्छन् । यसरी भिडिओ देखेपछि नयाँ व्यक्तिहरू उक्त टिमलाई विश्वास गरेर रकम लगानी गर्न हौसिन्छन् । 

ह्वाट्सएप र टेलिग्राम च्यानलबाट कारोबार 

सबै प्रयोगकर्ता फिफिया एपमा रकम भुक्तानी गर्न जान्दैनन् । त्यसैका लागि टेलिग्राम च्यानलको बढी प्रयोग हुन्छ । टेलिग्राम च्यानलमा विभिन्न एजेन्टहरूको नम्बर उपलब्ध गराइएको हुन्छ । त्यसैमा सम्पर्क गरेर नयाँ व्यक्ति वा रकम जम्मा गर्न नजान्ने व्यति उनीहरूको बैंक अकाउन्टमा रकम जम्मा गरिदिन्छन् ।

त्यसपछि उनीहरू आफ्नो फिफिया अकाउन्टको आईडी नम्बर पठाउँछन् । जो व्यक्तिको बैंक अकाउन्टमा रकम जम्मा गरिएको छ, उसैले उनीहरूको फिफिया अकाउन्टमा त्यसका लागि उपयुक्त हुने रकम जम्मा गरिदिन्छ । 

नेटवर्किङ र ग्याम्ब्लिङ

फिफिया नेटवर्किङ र ग्याम्ब्लिङ दुवै रूपमा उच्च प्रयोग भएको देखिन्छ । विशेषगरी कसैले पनि आफ्नाे प्रोमो कोड उपलब्ध गराएर अर्को व्यक्तिलाई अकाउन्ट बनाउन लगायो र सो व्यक्तिले रकम जम्मा गरेर बेटिङ खेल्यो भने त्यसबापत अकाउन्ट बनाउँदा प्रोमो कोड दिने व्यक्तिले केही प्रतिशत कमिसन पाउँछ ।

यसमा सबैभन्दा पहिले एउटा एजेन्टले ग्राहकलाई आफ्नो प्रोमोकोड उपलब्ध गराउँछ । प्रोमोकोड लिएर अकाउन्ट बनाउने व्यक्तिका लागि पनि अकाउन्ट बनाइसकेपछि छुट्टै प्रोमोकोड तयार हुन्छ । उसले सो प्रोमोकोड दिएर कसैलाई अकाउन्ट बनाउन लगायो भने यसबीचमा प्रोमोकोड दिने सबैले केही प्रतिशत कमिसन पाउँछन् ।

 

यसरी यो प्लेटफर्म गैरकानूनी रूपमा नेटवर्किङ बिजनेसका रूपमा पनि संलग्न छ ।

सिमिलर वेब (similarweb) का अनुसार फिफिया नेपालबाट सबैभन्दा बढी भिजिटर जानेमा २०औं स्थानमा पर्छ । जहाँ मासिक १५ लाख अकाउन्टबाट वेबसाइट भिजिट गरिएको देखिन्छ । टेलिग्राम च्यानलमा पनि रकम जम्मा गर्ने र पठाउनेको सङ्ख्या हजारौंमा रहेको छ । 

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा फिफिया (Fifiia) सर्च गर्ने हो भने यसबारे बनेका अथाह भिडिओ भेटिन्छन् । भिडिओ बनाउने अधिकांशले यो प्लेटफर्ममार्फत रकम आम्दानी गर्न सकिने आश्वासन दिइरहेको देखिन्छ । फुटबल आयोजना गर्ने नामको प्लेटफर्म निकै चर्चित छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हुँदा यो प्लेटफर्ममा प्रयोगकर्ता बढी सक्रिय हुन्छन् । यसो त यो प्लेटफर्म नेपालमा दर्ता समेत छ । मिडियाका रूपमा दर्ता भएको यो प्लेटफर्म भित्रभित्रै बेटिङ (सट्टेबाजी) गराउनमा सक्रिय छ । 


 

अनुसन्धान गरिरहेका छौंः प्रहरी

हामीले यही विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई ह्वाट्सएप ग्रुप, टेलिग्राम च्यानलका लिङ्कहरू उपलब्ध गराएका थियौं । कार्यालयका साइबर पिल्लर प्रमुख लिलाराज डाँगीले यस विषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता दिएका छन् ।

प्रहरीले बिहीबारमात्रै फिफिया खेलाउन सक्रिय एक युवतीलाई पक्राउ गरी ठगी तथा सट्टेबाजी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेकाे छ । यसबाहेक प्रमाणका आधारमा यो अवैध कार्यमा संलग्नहरूलाई  कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १८:२८