काठमाडौं । अब भाइबरबाटै बस टिकट काट्न सकिने भएको छ । अनलाइन बस टिकटको सेवा दिँदै आएको बस सेवा डटकमको टिकट अब राकुटेन भाइबरबाट समेत काट्न सकिने भएको हो ।
बससेवा ट्राभल्स र राकुटेन भाइबरबीच हालै अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो । सम्झौतापत्रमा बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र राकुटेन भाइबरको तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स मार्फत नेपालका कुनै पनि गन्तव्यको बस टिकट काट्न सकिनेछ ।
सम्झौता कार्यक्रममा बस सेवाका प्रमुख कार्यकारी पीआर खनालले भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले यात्रुहरूलाई थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
बस सेवा अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बस सेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर बस सेवा डटकम नेपालभरका अधिकांश रुटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै बस सेवाले भारतीय सहर नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका स्थानमा समेत अनलाइन टिकट बुकिङ सेवा दिइरहेको छ ।