close

महावीर पुनको जीवन कथामा आधारित पुस्तक आइतवारदेखि उपलब्ध हुँदै

टेकपाना टेकपाना

असोज २५, २०८० १३:१८

महावीर पुनको जीवन कथामा आधारित पुस्तक आइतवारदेखि उपलब्ध हुँदै

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आउँदो आइतबार आफ्नो जीवन कथामा आधारित पुस्तक सार्वजनिक गर्ने भएका छन् । बिहीवार सामाजिक सञ्जालमा पुस्तकको कभर फोटो सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएका हुन् । 

पुनका अनुसार ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ नाममा सो पुस्तक उपलब्ध हुनेछ । यसअघि अनलाइनमार्फत प्रि-अर्डर गर्ने व्यक्तिहरूलाई आइतवार नै पुस्तक उपलब्ध गराउने पुनको भनाइ छ । सो पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र रहेको छ ।

इच्छुक पुस्तक पसललाई पुनले स्वयंसेवकका रूपमा पुस्तक बिक्री गरिदिन समेत अनुरोध गरेका छन् । “अहिलेसम्म मैले गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ नै हो,” उनले फेसबुक पोस्टमा लेखेका छन्, “यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।”

उनी अगाडि भन्छन्, “वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन ।”

पुनले यो पुस्तकको ई-बुक संस्करण पनि उपलब्ध गराउने बताएका छन् । टेकपानासँग कुरा गर्दै उनले ईबुक किन्डलमार्फत आइतवार नै सार्वजनिक गर्ने जानकारी दिए ।

यसअघि उक्त पुस्तक खरिद गर्ने इच्छुक व्यक्तिहरूका लागि पुनले अनलाइन फाराम लिंक उपलब्ध गराएका थिए । अनलाइन फारम बुझाएका व्यक्तिहरूले  आइतवार नै पुस्तक प्राप्त गर्नेछन् ।

त्यस्तै अनलाइन फारम भर्न छुटेका व्यक्तिहरूका लागि पुनले नयाँ नम्बर उपलब्ध गराउने भएका छन् । सोही नम्बरमा सम्पर्क गरेर पुस्तक अर्डर गर्न सकिनेछ ।

३०८ पेज रहेकाे उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १४:२१