काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले ‘हाइपरओएस’ (HyperOS) नाम दिइएको नयाँ अपरेटिङ सिस्टम ल्याउने भएको छ । कम्पनीले आउँदै गरेको साओमी १४ सिरिजसँगै नयाँ ओएस ल्याउने र विश्वव्यापी रूपमा उपलब्ध हुने घोषणा गरेको हो ।
यसका साथै साओमीले करिब १३ वर्षदेखि प्रयोगमा रहेको विरासतपूर्ण मियूआई क्रमशः हाइपरओएसले प्रतिस्थापन गर्ने समेत जनाएको छ ।
स्मार्टफोनका अलावा साओमीका विभिन्न उत्पादनलाई समेट्ने गरी हाइपरओएस डिजाइन गरिएको छ । स्मार्ट होम डिभाइस, कार लगायतका २०० समूहमा रहेका उत्पादनको समग्र पारिस्थितिक प्रणालीलाई यो नयाँ सफ्टवेयरले समेट्ने साओमीले जनाएको छ ।
"सन् २०१४ मा जब आईओटी व्यवसायले आकार लिँदै थियो, त्यतिखेर हामीले खोजमूलक विकास र प्रमाणीकरणको थालनी गर्यौं । सन् २०१७ मा समग्र पारिस्थितिक उपकरणहरू तथा एप्लिकेसनलाई सपोर्ट गर्नेगरी एउटा एकीकृत सिस्टम फ्रेमवर्कको रूपमा नयाँ सिस्टमको अनुसन्धान र विकास औपचारिक रूपमा थालनी भयो," साओमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लि जुनले विबोमा गरिएको पोस्टमा लेखेका छन् ।
हाइपरओएस "गहन रूपमा उदाएको एन्ड्रोइड र आफैंले विकास गरेको भेला सिस्टमको एकीकरणमा आधारित छ । यसका लागि आवश्यक आर्किटेक्चरलाई पूर्णरूपमा पुनर्लेखन गरिएको छ । जुन हरेक कुराको इन्टरनेटका लागि दशौं अर्ब उपकरण र भविष्यका दशौं अर्ब कनेक्सनका लागि यो एउटा सार्वजनिक आधार पनि हो," जुनले स्पष्ट पार्दै भनेका छन् ।
यसका साथै कम्पनीले हाइपरओएस सुरुमा साओमी १४ सिरिजमा पहिले नै लोड भएर आउने बताएको छ । यद्यपि नयाँ सफ्टवेयर कस्तो देखिनेछ भन्ने कुराको कुनै झलक र त्यसमा रहेका नयाँ फिचरबारे थप विवरण भने प्राप्त भइसकेको छैन । अर्को महिना कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप सार्वजनिक गर्ने क्रममा यस बारे थप जानकारी बाहिर ल्याउने अनुमान गर्न सकिन्छ ।