काठमाडौं । मोबाइल फोनबाट कल रेकर्ड गर्नेहरूलाई नराम्रो खबर छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यहाँको हाई कोर्टले कल रेकर्डिङलाई प्राइभेसी अर्थात् निजता एवम् गोपनीयताको उलङ्घन मानेको छ ।
छत्तिस गढ हाई कोर्टले पति-पत्नीबीचको एक मुद्दाको फैसला सुनाउँदै मोबाइल कल रेकर्डिङलाई नियम तथा कानूनको उलङ्घन ठहर गरेको हो । साथै आईटी ऐनको धारा ७२ अन्तर्गत कारबाहीका लागि निर्देशन समेत दिएको छ । अदालतले भनेको छ कि पति वा प्रेमीले आफ्नी पत्नी अथवा प्रेमिकाको कल रेकर्ड गर्न पाउँदैनन् । यो भारतको संविधानको धारा २१ को उलङ्घन हो ।
साथै कल रेकर्डिङलाई अदालतमा सबुत प्रमाण मान्न समेत अस्वीकार गरिएको छ । यसअघि त्यहाँको सर्वोच्च अदालतले समेत कल रेकर्डिङको मामिलामा गोपनीयता उलङ्घन हुने जिकिर गरिसकेको छ ।
आईटी ऐन २००० को धारा ७२ अनुसार कुनै व्यक्तिले अनुमति बिना विद्युतीय उपकरणमा कुनै व्यक्तिगत कुराकानी रेकर्ड गर्न पाइँदैन । साथै त्यसलाई सार्वजनिक समेत गर्न मिल्दैन । यसो गरेको खण्डमा गोपनीयता सम्बन्धी नियमको उलङ्घन मानिन्छ । विभिन्न देशका कानून तथा अदालतले कल रेकर्डिङ कार्य गैरकानूनी हुने ठहर गरिरहँदा स्मार्टफोनमा कल रेकर्डिङ फिचर हटाउने लहर समेत चलेको छ ।
एन्ड्रोइड स्मार्टफोनमा पहिले देखि नै इनबिल्ट रूपमा आउने कल रेकर्डिङ फिचर बन्द भइसकेको छ । यसका लागि थर्ड पार्टी एपको आवश्यकता पर्छ । आईफोनमा समेत कल रेकर्डिङ फिचर पाउन सकिंदैन । यद्यपि भ्वाइस मेमोको विकल्प भने दिइएको हुन्छ, जसको सहयोगमा तपाईं कसैसँग भएको कुराकानी रेकर्ड गर्न सक्नु हुन्छ ।